आम्दानीभन्दा ४ खर्ब ३९ अर्बबढी खर्च, हिजोमात्रै साढे ४१ अर्बभन्दा बढी भुक्तानी – Nepal Press

आम्दानीभन्दा ४ खर्ब ३९ अर्बबढी खर्च, हिजोमात्रै साढे ४१ अर्बभन्दा बढी भुक्तानी

अझै पूरा रकम नपाएको निर्माण व्यवसायीको भनाइ

काठमाडौ । सरकारले चालू आर्थिक वर्षको सरकारी भुक्तानी रोकिने अन्तिम दिन हिजो (आइतबार) अत्यधिक भुक्तानी गरेको छ । हिजोमात्र ४१ अर्ब ६८ करोड ३९ लाख रूपैयाँ भुक्तानी गरिएको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले आर्थिक वर्ष अन्त्य हुनुभन्दा कम्तीमा एक साताअघिसम्म मात्र खर्च गर्ने व्यवस्था गरेको छ । सोही अनुसार आइतबार राति १२ बजेबाटै चालू आर्थिक वर्षको सबै खाले सरकारी भुक्तानी रोकिएको छ । असार मसान्त सकिन अब ७ दिनमात्र बाँकी छ ।

आइतबार सरकारले पूँजीगत भुक्तानीमात्रै करिब २० अर्ब रूपैयाँ गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आइतबार १९ अर्ब ९९ करोड ९८ लाख रूपैयाँ पूँजीगत भुक्तानी भएको हो । यो सँगै पूँजीगत खर्च २ खर्ब १० अर्ब रूपैयाँ नाघेको छ । आइतबार पूँजीगत शीर्षकको भुक्तानीमा अधिकांश निर्माण व्यवसायीको भुक्तानी छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले केही भुक्तानी गरेपनि अझै ५० अर्बभन्दा बढी बाँकी रहेको बताए ।

निर्माण व्यवसायीहरू सरकारले अझै भुक्तानी नदिएको गुनासो गरिरहँदा सरकारको भुक्तानी प्रणाली आइतबारबाटै बन्द भइसकेको छ । महालेखाका अधिकारी भुक्तानीका विषयमा सम्बन्धित मन्त्रालयमा बुझ्नुपर्ने बताउँछन् । बजेट निकासा गर्ने अर्थमन्त्रालय भने सम्बन्धित मन्त्रालयबाट प्रक्रिया पुर्‍याएर माग भएको सबै भुक्तानी गरिसकेको दाबी गर्छ ।

अर्थका प्रवक्ता धनीराम शर्मा सम्बन्धित मन्त्रालयलाई प्रक्रिया पुगेको आधारमा सबै भुक्तानी दिइसकेको बताउँछन् । प्रक्रिया नपुगेको मात्र रोकिएको हुनसक्ने उनले बताए ।

चालू आर्थिक वर्ष (२०७९/८०) करिब १४ खर्ब बजेट खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनाल संघले विशेष परिस्थितिको खर्च असार ३० गतेसम्म गर्नसक्ने भएकाले बजेट खर्च केही बढ्ने बताउँछन् । उनका अनुसार यो आवको मोटामोटी बजेट खर्च भने करिब १४ खर्ब रहनेछ ।

चालू आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बजेट खर्च हुने सुरुको अनुमानलाई संशोधन गर्दै तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १५ खर्ब ४९ अर्ब ९९ करोड ७७ लाख रुपैयाँ हुने बताएका थिए । तर, संधोधित अनुमान बराबर पनि बजेट खर्च हुन सकेन ।

आम्दानीभन्दा ४ खर्ब बढी खर्च

असार २४ गतेसम्म सरकारको सम्पूर्ण आम्दानी ९ खर्ब ३५ अर्ब ६२ करोड रूपैयाँ रहेको छ । यसमा राजस्वको हिस्सामात्रै ८ खर्ब ९२ अर्ब ६७ करोड छ । राजस्व, वैदेशिक सहायता तथा अनुदान र अन्य प्राप्तिसमेत जोड्दा ९ खर्ब ३५ अर्ब हुन जान्छ ।

तर, यो अवधिमा खर्च भने १३ खर्ब ७४ अर्ब ७५ करोड रूपैयाँ भएको सरकारी तथ्यांक छ । यस आधारमा हेर्दा पनि अहिले सरकारको आम्दानीभन्दा खर्च ४ खर्ब ३९ अर्ब १७ करोड ७१ लाख रूपैयाँ बढी देखिएको छ । आम्दानी नै नगरेको सरकारले खर्च व्यवस्थापन ऋणबाटै गरिरहेको तथ्यांकले पुष्टि गर्छ ।

खर्च बन्द भएपनि राजस्व भने आर्थिक वर्षको अन्त्य सम्मनै संकलन हुने भएकले आम्दानी केही बढ्ने देखिन्छ । सरकारले अन्तिम समम्नै राजस्व् संकलनका लागि बैंक तथा वित्तीय संस्थालाई बिदाको दिन पनि खुला राख्न निर्देशन दिइसकेको छ ।

चालू आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रूपैयाँ बजेट खर्च हुने सुरुको अनुमानलाई संशोधन गर्दै तत्कालीन अर्थमन्त्री पौडेलले १५ खर्ब ४९ अर्ब ९९ करोड ७७ लाख रूपैयाँ हुने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *