लेखनमा अनवरत उषा भन्छिन्- म त्यस्तो उत्कट लेख्ने साहित्यकार होइन तर, लेखिरहन्छु – Nepal Press

लेखनमा अनवरत उषा भन्छिन्- म त्यस्तो उत्कट लेख्ने साहित्यकार होइन तर, लेखिरहन्छु

काठमाडौं । कुरा हो विसं. २०३४ सालको अर्थात् आजभन्दा ४६ वर्षअघिको ।

पृथ्वीनारायण क्याम्पस पोखरामा बीए पढ्दै थिइन् उषा शेरचन । त्यसवेला रेडियो अत्यधिक सुन्थिन् उनी । रेडियोबाहेक विकल्प पनि थिएन । नेपाल टेलिभिजन त २०४१ सालमा स्थापना भएको हो ।

एक दिन उषाले रेडियो नेपालमा समाचार सुनिन् । रेडियोले मुकुन्दशरण उपाध्याय र भक्तराज श्रेष्ठ ‘सरुभक्त’ पुरस्कृत भएको खबर फुकेको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने कविता महोत्सवमा सरुभक्तलगायत कविहरु पुरस्कृत भएका थिए । खबर सुनेपछि उनलाई लाग्यो, ‘ओहो, यस्तो पनि हुँदोरहेछ !’

उषाकी मामाको छोरा पर्थे विनोद गौचन । अरुण थापाले गाएको ‘जति माया लाए पनि’ गीत उनै विनोदले लेखेका थिए । अनि उषाले विनोदलाई भने, ‘भक्तराजले कस्तो राम्रो कविता लेख्दोरहेछ, मलाई चिनाइदेऊ न ।’

उषा पनि कविता लेख्थिन् । तर, बाहिर कसैलाई देखाएकी थिइनन् ।

पोखरामा सरोजगोपाल, सरुभक्तलगायतले पोखरेली युवा सांस्कृतिक परिवार गठन गरिसकेका थिए । उषाको भने कसैसित पनि प्रत्यक्ष चिनजान थिएन । सरुभक्तलगायतका सिनियर सर्कलसँग एक खालको ग्याप थियो ।

पृथ्वीनारायण क्याम्पसअघि गुरुङसेनी फुपूको चमेना गृह थियो । बाहिर पेटीमा गुन्द्री ओछ्याएर बस्नुपर्थ्यो । उषा त्यही थिइन् । सरुभक्तलगायत पनि त्यही थिए । विनोदले भने, ‘सरुभक्त भनेको ऊ नै त हो ।’

२०३४ सालमा उषाको ‘जिन्दगी’ शीर्षकको कविता गोरखापत्रमा छापियो । उषा सुनाउँछिन्, ‘त्यो कविता छापिएपछि म पहिलोपटक सार्वजनिक भएँ ।’

त्यही चिनजान भयो । त्यही वेला उषाले इगल कापीमा लेखेका कवितामध्ये एउटा कविता सारे विनोदले । विनोदले त्यो कविता त गोरखापत्रमा पठाइदिएछन् । त्यसवेला पत्रिका भनेकै गोरखापत्र, गोरखापत्र भनेकै पत्रिका भने जस्तो थियो ।

अन्ततः २०३४ सालमा उषाको ‘जिन्दगी’ शीर्षकको कविता गोरखापत्रमा छापियो । उषा सुनाउँछिन्, ‘त्यो कविता छापिएपछि म पहिलोपटक सार्वजनिक भएँ ।’

कविता छापिएपछि उषा पोखराको साहित्यिक माहोलमा छिरिन् । समूहहरु बन्दै गए, माहोल बन्यो । गजलकार प्रकट पंगेनी शिव, तीर्थ श्रेष्ठ, विजय वजिमयसहितको समूह बन्यो उषाको । उनकी ठूली आमाको घरमा कार्टुनिस्ट वात्सायनको आर्ट स्टुडियो थियो । ठीक त्यसैको पारि विजयको घर थियो ।

‘अनासयै माहोल यस्तो बन्यो कि कहिले एउटै शीर्षकमा कविता लेख्थ्यौं । कहिले फरक शीर्षकमा कविता लेख्थ्यौं । हप्तामा एउटा कार्यक्रम हुन्थ्यो’, उषा सुनाउँछिन् ।

०००

उषाका जिजु बाजेहरु मुस्ताङबाट आएका थिए । तर, पोखरामा भने उनी नेवार टोलमा पढिन्, हुर्किइन् । पोखरामा आएपछि आमाबाबुको मानसिकता यस्तो बनिसकेको थियो कि आफ्नो भाषा बोल्दा ‘भोटे’ भन्छन् भनेर भाषा बोल्दैन थिए । घरभित्र बाहेक मातृभाषाको प्रयोग हुन्न थियो ।

२०२७ सालमा एसएलसी पास गरेर काठमाडौंको आरआर कलेजमा आईए पढेकी थिइन् उषाले । कवयित्री प्रतिशरा सायमी, विन्दू सुवेदी उनका क्लासमेट थिए । तर, कवि चाहिँ बनिसकेकी थिइनन् । अलिअलि लेखे पनि लुकाउँथिन् । पोखरा गएपछि भने यतिकै माहोल बनिदियो ।

पोखरामा साहित्यिक माहोल त बन्यो । तर, वाचनका लागि औपचारिक चाँजोपाँजो कसरी मिलाउने, कसैलाई थाहा थिएन ।

२०३८ सालमा मुक्तक वाचन गर्दे उषा शेरचन

उषा सुनाउँछिन्, ‘हामीले कार्यक्रम कसरी गर्छ भनेर देखेका थिएनौं । कसरी सञ्चालन गर्ने भनेर थाहा पनि थिएन । मुक्तकको त नामै सुनेको थिएन । कविता कसरी वाचन गर्ने भनेर पनि थाहा थिएन । सरुभक्त मेन्टर जस्तो थियो । सृजनशील पनि थियो । उसैले धेरै कुराको चाँजोपाँजो मिलायो ।’

उषाका अनुसार सरुभक्त त्यसवेला भक्तराज श्रेष्ठमात्रै थिए । सरुभक्त बनिसकेका थिएनन् । अलि पछि मात्रै सरुभक्त बने ।

उषाले आफ्नै शैलीले कविता लेखिन् । वाचन गरिन् ।

एक दिन विजय बजिमयले भने, ‘डा. वानिरा गिरी दिदीहरु रसियामा जानुभएको थियो रे ! त्यहाँ त टिकटमा कविता वाचन हुने रहेछ रे ! हामी पनि टिकटमै कार्यक्रम गरौं न त एउटा ।’

२०२७ सालमा एसएलसी पास गरेर काठमाडौंको आरआर कलेजमा आईए पढेकी थिइन् उषाले । कवयित्री प्रतिशरा सायमी, विन्दू सुवेदी उनका क्लासमेट थिए । तर, कवि चाहिँ बनिसकेकी थिइनन् । अलिअलि लेखे पनि लुकाउँथिन् । पोखरा गएपछि भने यतिकै माहोल बनिदियो ।

त्यसवेला मुक्तक लेख्नेहरुमा भीमदर्शन रोका, चेतन कार्की, कृष्णप्रसाद पराजुली, यादव खरेल, भूपि शेरचन अग्रपंक्तिमा थिए । पञ्चायतकालको उत्कर्षको समयमा साहित्यकारहरुले सम्प्रेषणीय हुने भएकाले प्रायः मुक्तकबाट आफ्ना कुराहरु राख्ने गर्थे ।

पोखरामा टिकटमा मुक्तक कार्यक्रम हुने भयो । कवि हरिभक्त कटुवाल मुक्तक वाचन गर्न पोखरा पुगे । अहिलेको उद्योग वाणिज्य संघ भएको ठाउँमा खुला चौर थियो । त्यही भव्य कार्यक्रम भयो ।

टिकटको मूल्य थियो दुई रुपैयाँ ।

उषा सुनाउँछिन्, ‘मान्छे त चौरभरि थिए । सबैभन्दा बढी टिकट त मैले नै बेचें होला ।’

२०३५ सालको टिकटमा मुक्तक कार्यक्रममा कवि हरिभक्त कटुवालसँग उषा शेरचन

हरिभक्तलाई भेट्दाको क्षण सम्झिन्छिन् उषा, ‘सबैले रक्सी खान्छ भन्थे । तर, मसँग भेट्दा उहाँले रक्सी खाएको मैले देखिनँ । म साँझमा बस्थेन पनि । साँझमा केटाहरुसँग बस्दा चाहिँ के गर्नुभयो, थाहा भएन । तर, मसँग भेट्दा त दाइ मायालु, स्नेही हुनुहुन्थ्यो । आसामी–दार्जिलिङे टोन निकाल्नुहुन्थ्यो ।’

भूपि शेरचनसँग चाहिँ उषाको उस्तो भेटघाट भएन । थकालीहरुको साइनो माकुराको जालो जस्तो हुने भएकाले भूपि साइनो लाग्थे । तर, त्यस्तो भेट भएन । गायक नारायणगोपालले विवाह गरेर पोखरा जाँदा भूपि पनि गएका थिए । पछि पोखराकै केटीलाई कान्छी श्रीमतीको रुपमा विवाह गरे भूपिले । जाे उषाकै टोलकी थिइन् ।

उषा सम्झिन्छिन्, ‘उहाँ टोलमा हिँडिरहनुहुन्थ्यो । ह्याण्डसम हुनुहुन्थ्यो हिरो जस्तो ।’

०००

पोखरा सम्झनासाथ उषालाई पोखराको साहित्यिक कार्यक्रमको सम्झना खुब आउँछ । त्यसवेला विश्व शाक्यले ‘प्रांगण’ नामक पत्रिका निकाल्थे । वात्सायनले त्यही पत्रिकामा कार्टुन बनाउँथे । उषाले विज्ञापन उठाउन पत्रिकालाई सकेको सहयोग पनि गर्थिन् । उषालाई लाग्छ, सम्भवतः भक्तराज श्रेष्ठले सरुभक्त नाममा त्यही पत्रिकाबाट लेख्न सुरु गरेका हुन् ।

पोखरामै छँदा उषाले नाटक पनि खेलिन् । सरुभक्त लेखनका साथसाथै नाटक निर्देशन पनि गर्थे । सरुभक्तकै निर्देशन तथा लेखनमा उषाले ‘एउटा घरको कथा’ नाटक खेलिन् । त्यो पनि आमाको भूमिकामा ।

त्यसवेला महिला पात्रको भूमिका पनि पुरुषले नै गर्थे प्रायः नाटकमा । पोखरामा चेतन कार्कीद्धारा लिखित  ‘आत्मा बेचेको छैन’ नाटकमा भाग्य गुरुङ, निलिमा गुरुङ, हिन्दू गुरुङलगायतले महिलाकै भूमिकामा खेलिसकेका थिए । त्यसमा उषा पनि थपिएकी थिइन् । सँगै अभिनेता अर्जुनजंग शाहीकी श्रीमती दुर्गा शेरचन, नन्दा गुरुङसित खेलेको नाटक लिएर राष्ट्रिय नाटक महोत्सवमा भाग लिन उषा काठमाडौं पनि आएकी थिइन् ।

पोखरा सम्झनासाथ उषालाई पोखराको साहित्यिक कार्यक्रमको सम्झना खुब आउँछ । त्यसवेला विश्व शाक्यले ‘प्रांगण’ नामक पत्रिका निकाल्थे । वात्सायनले त्यही पत्रिकामा कार्टुन बनाउँथे ।

काठमाडौंमा नाटक प्रस्तुत गरेपछि यज्ञनिधि दाहालले सोधेका थिए रे, ‘त्यो बूढी आमाको रोल गर्ने को हो ?’

उषा सुनाउँछिन्, ‘पछि मलाई योङ देख्दा उहाँ छक्क पर्नुभएको थियो ।’

तर, विवाह गरेपछि भने उषाले नाटकलाई निरन्तरता दिइनन् ।

०००

२०३८ सालमा उनी विवाह गरेर फेरि काठमाडौं फिरिन् ।

पोखराको माहोल पोखरामै छुट्यो । तर, लेखनलाई भने निरन्तरता दिइरहिन् । २०४८ सालमा ‘नजन्मेका आस्थाहरु’ कविता संग्रह प्रकाशन गरिन् ।

उषा भन्छिन्, ‘रामशरण दर्नाल दाइले सन् १९९० तिर पहिलोपटक म अमेरिका जाँदा पाण्डुलिपि दिइरहनुस् भनेर माग्नुभएको थियो । पछि तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले छाप्यो ।’

२०५६ सालमा मुक्तक संग्रह ‘अक्षरहरुका शिविरबाट’ ल्याइन् । ‘सर्वकालीन पीडा र जागृतिका शंखघोष’ कविता संग्रह (२०६३), ‘तेस्रो रङ’ कथासंग्रह (२०७०), ‘आधि’ उपन्यास (२०७६) ल्याइसकेकी छन् । उषा लगातार लेखिरहँदिनन् । कुनै कुरा जहिले लेखिनुपर्ने हो, त्यतिवेला लेखिन्छ भन्ने लाग्छ उनलाई । भन्छिन्, ‘म नियतिमा विश्वास गर्छु । जुन कुरा जहिले जन्मनु छ, त्यहीवेला जन्मन्छ । हर कुरा निर्धारित छ ।’

‘म त्यस्तो उत्कट लेख्ने साहित्यकार होइन । तर, लेखिरहन्छु । पढेरभन्दा पनि मेरा लागि जीवन र जगत नै ठूलो पाठशाला हो । लेखनका लागि म प्रायः दिमाग खेलाइरहन्छु ।’

तर, उषा मन्दिर भने जाँदिनन् । आफूलाई आस्तिक भएको दाबी गर्छिन् । आफूले समय र संयोगलाई चाहिँ विश्वास गर्ने उनको दाबी छ ।

अहिले ६८ वर्षकी उषासित कथा संग्रह तयार छ । संस्मरणहरुको पनि किताब तयार छ । गीत र मुक्तक संग्रह पनि तयार छ । मान्छेले विवाह वा अनेक परिस्थितिले लेख्न छाड्छन् । तर, उषाको भने गति निरन्तर छ । त्यसैले त भन्छिन्, ‘म त्यस्तो उत्कट लेख्ने साहित्यकार होइन । तर, लेखिरहन्छु । पढेरभन्दा पनि मेरा लागि जीवन र जगत नै ठूलो पाठशाला हो । लेखनका लागि म प्रायः दिमाग खेलाइरहन्छु ।’

उनलाई लाग्छ, लेखन भनेको थेरापी जस्तै हो । लेखनको समयमा ध्यानमग्न हुनु, एकाग्र हुनु नै सबैभन्दा ठूलो थेरापी जस्तो लाग्छ उनलाई । भन्छिन्, ‘हामी भीडमा भए पनि एक्लै भइरहेको हुन्छ । कहिले एक्लै हुँदा भीडमा भइरहेको हुन्छ । लेखेर आत्मसन्तुष्टि पाइन्छ । के के न लेखें भनेर दम्भ पनि छैन मेरो त ।’

अहिले पनि उषासँग पोखरामा हुँदा खिचेका साहित्यकारहरुसँगका टन्नै फोटाहरु छन् । ती फोटाहरु वेलावेला हेर्दा त्यही समयमा पुग्छिन् । अनि आफूले हिँडेर आएको बाटो सम्झन्छिन् ।

उनी भन्छिन्, ‘फर्केर हेर्दा एकदमै प्राउड फिल हुन्छ । मैले यस्तो ढुंगेनी बाटोहरु हिँडें, जहाँ काँडैकाँडा थियो । ती काँडाहरु म आफैंले पन्छाएँ । मैले नै ग्राबेल बिछ्याएँ । मैले नै बाटो पिच गरें र मैले नै राजमार्ग बनाएँ । मैले अहिलेसम्म जे गरें, समयको एकदमै सदुपयोग गरें । जिन्दगीप्रति केही गुनासो नै छैन ।’


प्रतिक्रिया

One thought on “लेखनमा अनवरत उषा भन्छिन्- म त्यस्तो उत्कट लेख्ने साहित्यकार होइन तर, लेखिरहन्छु

  1. पृथ्वि नारायण क्याम्पसको त्यो पुस्ता र तेस्का नायकहरु र साहित्य अनुरागीहरु अनुजपुस्ताका पोख्रेलीहरु र अन्य नेपालीहरुका लागि उत्प्रेरणाको स्रोत हुनुहुन्छ। बहुआयामिक स्रष्टा उषा शेरचन लगायत संपुर्ण टोलीलाई मेरो नमन छ, सम्मान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *