कांग्रेस संसदीय दलको बैठक निष्कर्षविहीन, मुख्यमन्त्रीले अन्य दलसँग पनि छलफल गर्ने – Nepal Press

कांग्रेस संसदीय दलको बैठक निष्कर्षविहीन, मुख्यमन्त्रीले अन्य दलसँग पनि छलफल गर्ने

कैलाली । बजेटमाथि साझा धारणा बनाउन बसेको सुदूरपश्चिम कांग्रेस संसदीय दलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । असार १ गते आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरेका थिए ।

बजेट आएको २५ दिन सम्म पनि सुदूरपश्चिम प्रदेशमा बजेट माथि छलफल सुरु हुन सकेको छैन । यहाँ सत्ता गठबन्धनकै नेताहरू बजेटको विरोधमा उत्रिएका छन् । आज बजेट माथिको साझा धारण बनाउन बसेको कांग्रेस संसदीय दलको बैठक अनिर्णीत भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकमा कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सांसदहरूले बजेट माथि गुनासो पोखेका थिए । उनीहरुले बसै जिल्लामा बजेट समावेशी नगएको बताएका थिए । बैठकका भौतिक पूर्वाधार विकास मन्त्रालयबाट तयार पारिएको योजनाबारे सांसदहरूलाई उपलब्ध गराइएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकमा उपस्थित हुनु भन्दा पहिले कांग्रेस सांसदहरू काङ्ग्रेसकै एक सांसदको घरमा भेला भएका थिए । १९ जना मध्ये १२ जना उपस्थित भएर बजेटमा तिब्र विरोध जनाउने साझा धारण बनाएका थिए । त्यसपछि उनीहरु मुख्यमन्त्री कार्यालयको बैठकमा उपस्थित भएका थिए ।

‘सबै सांसदहरूको गुनासो सुनेपछि मुख्यमन्त्री शाहले बजेटका बिषयमा अन्य सत्ता गठबन्धनका नेताहरूसँग पनि छलफल गर्ने भएका छन् । हाम्रो गुनासो सुनेर उहाँ गम्भीर बन्नु भयो हामी सबैले एक रुपमा बजेटको विरोध गरेका थियौँ’ एक सांसदले भने ‘मुख्यमन्त्रीले यस बिषयमा अन्य दलका नेताहरूसँग पनि छलफल गर्ने भन्नु भएको छ ।’

सांसदहरूले योजना कम भएको गुनासो गरेका थिए । मुख्यमन्त्रीले योजना कम हुनुको बाध्यताबारे सुनाएका थिए ।
भोली सुदूरपश्चिम प्रदेश सभामा बैठक बोलाउने तयारी गरिएको छ । सभामुख भीम भण्डारीले बिहान कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ । प्रदेश सभा बैठक बोलाउने तयारी हुँदा सम्म पनि सत्ता गठबन्धनका नेताहरू बजेट पारित गर्ने पक्षमा उभिन सकेका छैनन् ।

आजको बैठकमा असार ५ गते दुर्घटनामा ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोक प्रस्ताव मात्रै पारित गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर