गणतन्त्रको एजेन्डाबाट डेढ वर्षमै अघाए कमल थापा, फेरि बन्दै ‘राजावादी’ ! – Nepal Press

गणतन्त्रको एजेन्डाबाट डेढ वर्षमै अघाए कमल थापा, फेरि बन्दै ‘राजावादी’ !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फेरि राजसंस्थाकै एजेन्डामा फर्किने सुरसार थालेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहसँगको झोकले गर्दा उनले डेढ वर्षअघि मात्रै राजसंस्थाको एजेन्डा बिसाएर ‘गणतन्त्रवादी’ बनेका थिए ।

राप्रपा नेपालको गत जेठमा बसेको केन्द्रीय समिति र जिल्ला अध्यक्षहरुको संयुक्त बैठकमा राजसंस्थासम्बन्धी पार्टीको नीतिबारे पुनर्विचार गर्नुपर्ने माग उठेको थियो । धेरै नेताहरुले गणतन्त्रको एजेन्डाले पार्टी उँभो नलाग्ने भन्दै पुरानै बाटोमा फर्किनुपर्ने सुझाव राखेका थिए । केन्द्रीय समिति बैठकमा आएका सुझावलाई कार्यान्वयनमा लैजान पार्टीले एउटा कार्यदल बनाएको महामन्त्री राजाराम बर्तौलाले बताए ।

उनले भने, ‘राजसंस्थाबारे पार्टी कुनै निष्कर्षमा पुगिसकेको छैन । कार्यदलले दिने सुझावबमोजिम निर्णय लिइनेछ ।’

कार्यदललाई सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न एक महिनाको समय दिइएको छ । तर, अध्यक्ष कमल थापाले गणतन्त्रबाट राजतन्त्रकै एजेन्डामा फर्किने मन बनाइसकेको निकट स्रोत बताउँछ । केही समयदेखि उनले विभिन्न भाषणहरुमा आफ्नो बदलिँदो मनस्थिति प्रकट गर्दै आएका छन् । केही दिनअघि उनले काठमाडौंमा नै भाषण गर्दै राजादेखि विप्लवसम्म अटाउने प्रणाली देशमा चाहिएको बताएका थिए ।

महामन्त्री बर्तौला गणतन्त्रको एजेन्डा बोकेर पार्टी माथि उठ्न सक्दैन भन्ने धेरै नेताहरुको राय रहेको स्वीकार्छन् । अध्यक्षलाई पनि देशभरबाट यस्तो सुझाव आएको हुँदा कार्यदल गठन गरिएको उनले बताए ।

‘पछिल्ला विभिन्न घटनाक्रमले गर्दा जनतामा असन्तुष्टि चुलिँदो छ । यस्तोमा उहाँलाई आफ्नो राजसंस्थाको लिगेसी नछाड्ने धेरैतिरबाट सुझावहरु आइरहेका थिए । त्यसलाई अध्यक्षज्यूले गम्भीर रुपमा लिनुभएको छ’, उनले भने ।

राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजयपछि थापा पूर्वराजा ज्ञानेन्द्रमाथि खनिएका थिए । आफूलाई हराउन निर्मल निवासले भूमिका खेलेको भन्दै उनले महाधिवेशनपछि पार्टी परित्याग गरे भने राजतन्त्रको एजेन्डासमेत छोडिदिए । त्यसपछि राप्रपा नेपाल गठन गरेका थापाले हिन्दू राष्ट्रको पुनःस्थापनालाई मुख्य एजेन्डा बनाए । तर, त्यसबाट जनतालाई कति पनि आकर्षण गर्न नसकेपछि उनमा निराशा बढिरहेको छ ।

‘आफूले सुरुवातदेखि बोकेर हिँडेको एजेन्डा क्षणिक आवेशमा त्याग्दा उहाँको राजनीतिमा धेरै क्षति पुग्यो’, थापा निकट स्रोत भन्छ, ‘खासमा उहाँ भित्रबाट ‘गणतन्त्रवादी’ बन्न सक्ने मान्छे नै होइन । त्यसैले अब विगतको गल्तीलाई सच्याएर फेरि राजसंस्थाको एजेन्डामार्फत अर्को चुनावसम्ममा शक्ति आर्जन गर्ने उहाँको लक्ष्य छ ।’

स्रोतका अनुसार थापा निर्मल निवासको संकेत पनि पर्खिरहेका छन् । आफू फेरि राजसंस्थाको एजेन्डामा फर्किँदा निर्मल निवासले कसरी लिन्छ भन्ने उनको चासो छ भने आफूलाई नै राजसंस्थाको एजेन्डाको मुख्य संवाहकका रुपमा पूर्वराजाले स्वीकारुन् भन्ने अभिलाषा पनि ।

‘विगतदेखि वर्तमानसम्म राजसंस्थाको पक्षमा गरेको संघर्षलाई मूल्यांकन गरेर पूर्वराजाबाट पनि सदासयता देखाइयो भने उहाँ राजसंस्था पुनःस्थापनाका लागि सडकमा ओर्लिन पनि तयार हुनुहुन्छ’, स्रोतले भन्यो ।

गत मंसिरको चुनावी नतिजाले पनि कमल थापालाई राजसंस्थासम्बन्धी नीतिमा पुनर्विचार गर्न बाध्य पारेको हो । सो आमनिर्वाचनमा थापाको पार्टी राप्रपा नेपालले देशभर कतै पनि आफ्नो उपस्थिति देखाउन सकेको थिएन । थापा स्वयं एमालेको चुनाव चिह्न सूर्य लिएर लडेका थिए । तर पनि पराजित भए । अध्यक्ष नै अर्को पार्टीको चिह्नमा लड्दा राप्रपा नेपालको चुनावी अभियान मृत बनेको नेताहरुले महसुस गरेका छन् । कमल थापाले पनि यसको ‘रियलाइजेसन’ गरेको निकट स्रोत बताउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर