संसदलाई सिन्डिकेट बनाउन खोजिएको भन्दै रविले भने- सदन तीनजना नेताको होइन (भिडिओ) – Nepal Press

संसदलाई सिन्डिकेट बनाउन खोजिएको भन्दै रविले भने- सदन तीनजना नेताको होइन (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन राजनीतिक दलहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताएका छन् ।

आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संसदलाई काँग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) का सांसदहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताएका हुन् ।

उनले तीन राजनीतिक दलहरुका बीचमा सल्लाह मिल्दा संसद चल्ने र सल्लाह नमिल्दा संसद नचल्ने भएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले दलहरुले पटक-पटक यस्तो गरेको भन्दै अब आफूहरुले नसहने बताए । उनले आपसमा सल्लाह नगरी जुनकुनै मुद्दा संसदमा लिएर आउन आग्रह गरे ।

सभापति लामिछानेले यसअघिको बैठकमा एमालेका सांसदहरुले बोलेपछि सभामुखले आफूहरुलाई बोल्न नदिएर सबै प्रतिपक्षको आवाज नै त्यही हो भन्ने भाष्य निर्माण गरिएको बताए । उनले रास्वपाको आफ्नै अडान र मुद्दाहरु रहेको उल्लेख गर्दै त्यसमा आफूहरु अडिग रहेको बताए ।

यस्तो छ उनको भनाइः

सदन तीन नेताको होइन । सदन प्रतिपक्षको हो अझ बढी । सार्वभौम जनताले चुनेर पठाएका जनप्रतिनिधिले जनताका कयौँ सवालमा कुराकानी गर्नुपर्नेछ । उहाँहरुको सल्लाह मिल्यो भने संसद चल्ने भयो । नमिल्दाखेरी संसद नचल्ने भयो । संसदमा स्वतन्त्र रुपमा जितेर आउनुभएको मानीय ज्यूको पनि उत्तिकै भुमिका रहन्छ ।

संसदलाई संसदजस्तो बनाउनुपर्छ । सरकार अथवा ठूला दलहरु बीचको भागबन्डाको विषय नै होइन संसद । प्रमुख तीन दलले संसदलाई आफ्नो सिन्डिकेट बनाउन खोजेको देखियो । पहिलो पटक भएको छैन यस अगाडी पनि भएको थियो । त्यतिखेर पनि हामी चुपचाप बस्यौँ । 

ठीकै छ भनिरह्यौँ । तर यो गर्न पाइँदैन । यो गलत हो । संसदको मर्यादालाई, संसदको गरिमालाई जोगाउनुपर्ने हुन्छ । जनप्रतिनिधिहरु त्यहाँ आम नागरिकको मुद्दा बोकेर आएका हुन्छन् । सरकारले एक त बिजनेश नै दिन सकिरहेको छैन । सरसल्लाहमा बसेर अनुमति लिएर मात्रै गर्ने भन्ने ? जे मुद्दा छ संसदमा लिएर आउने । संसदमा कुरा गरौँ ।

हामीले यत्ति कुरा भनेका हौँ कि यो महत्वपूर्ण अध्यादेशमार्फत आएको मिटरब्याजसम्बन्धी विषय थियो । यसको पक्षमा हामी थियौँ । सरकारले यस्तो महत्वपूर्ण कुरालाई अन्तिम दिनमा ल्याएर के गर्न खोजेको हो ? हामी सिरियस छौँ चाहीँ भन्ने त्यो अन्तिम दिनमा ल्याउनु के जरुरी थियो ? संसद त विभिन्न कारणले अवरुद्ध हुन पनि सक्ला । अन्तिम दिनमा ल्याइसकेपछि त्यो जिरोमा जान्छ । त्यसलाई पनि प्रतिस्थापन विधेयक ल्याएर १५ दिनमा अगाडी लिएर जान सकिन्छ ।

देखाउनका लागि जनप्रिय बन्नका लागि हामीले ल्यायौँ नि मिटर ब्याजको लागि भन्ने अनि प्रतिपक्षले गर्न दिएन भन्ने ? सबै प्रतिपक्ष एउटै होइनन् । धेरै प्रतिपक्ष छन् । हामी आफ्नो मुद्दामा छौँ । कहिलेकाही प्रतिपक्षका बीच कमन मुद्दाहरु हुन्छन् ति अलग कुरा हुन् । हामीले अहिले के भनेका हौँ भने संसद सुचारु रुपमा चलोस् । प्रधानमन्त्रीले जवाफ दिनुपर्यो । प्रधानमन्त्रीले अत्यन्त गम्भिर विषय उठाउनु भयो । यो अत्यन्त अशोभनीय विषय भयो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर