ज्ञानेन्द्र मल्ल र करण केसी राष्ट्रिय टीमबाट ड्रप भएका कि रेस्ट पाएका ? – Nepal Press

ज्ञानेन्द्र मल्ल र करण केसी राष्ट्रिय टीमबाट ड्रप भएका कि रेस्ट पाएका ?

दीपेन्द्र चौधरी भन्छन्- नेपालको बेञ्च स्ट्रेन्थ चेक गर्न खोजेका हौं

काठमाडौं । इमर्जिङ एशिया कपका लागि नेपालले शुक्रबार आफ्नो टोली घोषणा गर्यो, जसमा युवा खेलाडीहरुको बाहुल्यता छ । राष्ट्रिय टीमबाट नियमित खेल्दै आएका केही खेलाडीहरु बाहिर भएका छन् ।

प्रतियोगितामा सहभागी अन्य राष्ट्रहरुले आफ्नो ‘ए’ टीम पठाउँदा नेपालबाट भने राष्ट्रिय टीम भिड्ने छ । तर, हालै विश्वकप छनोट खेलेर आएको टीममा केही फेरबदल गर्दै युवा खेलाडीलाई प्राथमिकतामा राखिएको हो ।

देव खनाल, सन्दीप जोरा, श्याम ढकाल र सूर्य तामाङले टीममा स्थान बनाएका छन् । ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, करण केसी र सन्दीप लामिछानेलाई बाहिर राख्दै चार युवा खेलाडीले प्रतिस्थापन गरिएको हो ।

टीमबाट बाहिरिएका चारमध्ये सन्दीप र दिपेन्द्रले इमर्जिङ कप नखेल्ने पहिल्यै तय थियो । उनीहरु दुवै क्यानडामा हुने ग्लोबल टि-२० लिग खेल्न जानुपर्ने भएकाले इमर्जिङ कप नखेल्ने भएका हुन् ।

यो प्रतियोगिताका खेलहरु एक दिवसीय मान्यता प्राप्त नभएकाले उनीहरुले टि–२० लिगलाई प्राथमिकतामा राखेका हुन् । दिपेन्द्र पहिलोपटक विदेशी लिगमा छनोट भएकाले उनका लागि यो महत्वपूर्ण छ ।

इमर्जिङ कपमा छुटेका अन्य दुई सिनियर खेलाडी हुन् टप अर्डर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल र तीव्र गतिका बलर करण केसी । ज्ञानेन्द्र केही समयदेखि खराब फर्मबाट गुज्रिँदै आएका छन् ।

राम्रो प्रदर्शन गर्न नसक्दा टीममा उनको स्थान असुरक्षित बन्दै आएको छ । तर, करण भने उत्कृष्ट लयमा छन् । उनले जिम्बाबेमा विश्वकप छनोटमा पनि राम्रो प्रदर्शन गर्दै १२ विकेट लिएका थिए ।

क्यानले ज्ञानेन्द्र र करणलाई बाहिर राख्नुको कारणबारे औपचारिक रुपमा केही बताएको छैन । यस विषयमा क्यानको छनोट समितिका संयोजक दीपेन्द्र चौधरीसँग जिज्ञासा राख्दा उनले यो प्रतियोगितामा नेपालको ‘बेञ्च स्ट्रेन्थ’ हेर्न खोजिएको बताए ।

‘ज्ञानेन्द्रको प्रदर्शन राम्रो भइरहेको छैन । तर करणले उत्कृष्ट खेलिरहेका छन् । अहिले चाहिँ हामीले उनीहरुको प्रदर्शनका आधारमा टीमबाट बाहिर राखेका होइनौ । हामीले आगामी दिनमा महत्वपूर्ण प्रतियोगिताहरु खेल्नुपर्ने भएकाले नेपालको बेञ्च स्ट्रेन्थ पनि मजबुत बनाउनु पर्छ । त्यसकै लागि युवा खेलाडीहरुलाई अवसर दिन खोजिएको हो,’ उनले भने ।

ज्ञानेन्द्रको खराब फर्म

ज्ञानेन्द्रले विगतमा तेस्रो नम्बरमा ब्याटिङ गर्दै आएका थिए । उनी पारस खड्कापछिका नेपालका भरपर्दा ब्याट्सम्यानको रुपमा चिनिन्थे । पारसले कप्तानी त्यागेपछि क्यानले उनलाई राष्ट्रिय टीमको कप्तानसमेत बनाएको थियो । तर, अनुशासन उल्लंघन गरेको भन्दै उनलाई कप्तानबाट छिट्टै बर्खास्त गरियो भने केही समयपछि टीमबाट समेत निकालियो ।

करिअरमाथि प्रश्नचिन्ह उठिरहेका बेला ज्ञानेन्द्रले गतवर्षको साउनमा केन्याविरुद्धको सिरिजमा कमब्याक गरेका थिए । त्यसयता उनी निरन्तर टिममा छन्, तर पछिल्लो समय प्रदर्शन खस्किएपछि प्लेइङ ११ मा विरलै मौका पाएका छन् । विश्वकप क्वालिफायरमा नेपालले खेलेका ६ खेलमध्ये अन्तिम दुई खेलमा मात्रै ज्ञानेन्द्रले ब्याट समाउन पाए । तर रन बटुल्न सकेनन् । उनी यूएइविरुद्धको खेलमा १३ रनमा र आयरल्यान्डविरुद्ध ७ रनमा आउट भएका थिए ।

पाएको मौका सदुपयोग गर्न चुक्दा ज्ञानेन्द्रको करिअरमा फेरि कालो बादल मडारिएको छ । उनी टीमका सबैभन्दा अनुभवी ब्याट्सम्यान हुन्, तर प्रतिभाशाली युवा ब्याट्सम्यानहरुले बाहिर पालो पर्खिरहेका छन् ।

यदि देव खनाल वा सन्दीप जोराले इमर्जिङ कपमा राम्रो प्रदर्शन गरे भने ज्ञानेन्द्र दिर्घकालीनरुपमा नै टीमबाट विस्थापित हुन सक्छन् । त्यसपछि उनले फेरि घरेलु प्रतियोगिताबाट आफ्नो गुमेको फर्म फर्काउनुपर्ने छ ।

करण केसीको हकमा कुरा गर्दा चाहिँ उनले नेपालको स्ट्राइक बलरका रुपमा भूमिका निभाउँदै आएका छन् । फास्ट बलिङलाई सहयोग गर्ने पिचमा उनले राम्रो प्रदर्शन गर्छन् ।

तर, ब्याट्सम्यानमैत्री पिचमा उनले अझै पनि आफूलाई निखार्न बाँकी छ । खासगरी डेथ ओभरमा उनी निकै रन खान्छन् । त्यसैले पनि क्यानले उनको विकल्पमा को अगाडि आउन सक्छ भनेर हेर्न चाहेको हो । तर, तल्लो क्रममा विष्फोटक ब्याटिङ गर्न सक्ने क्षमता पनि भएकाले करणलाई टीमबाट प्रतिस्थापन गर्न कसैका लागि सहज छैन ।


प्रतिक्रिया

One thought on “ज्ञानेन्द्र मल्ल र करण केसी राष्ट्रिय टीमबाट ड्रप भएका कि रेस्ट पाएका ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर