एमालेद्वारा आज पनि राष्ट्रियसभा अवरुद्ध, शीर्ष नेता जुटेर निकास खोज्न अध्यक्ष तिमिल्सिनाको आग्रह (भिडिओ) – Nepal Press

एमालेद्वारा आज पनि राष्ट्रियसभा अवरुद्ध, शीर्ष नेता जुटेर निकास खोज्न अध्यक्ष तिमिल्सिनाको आग्रह (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आजको राष्ट्रियसभा बैठक पनि अवरुद्ध पारेको छ । बैठक सुरू हुनेबित्तिकै एमालेका सांसदहरूले उभिएर प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान लिए ।

एमालेकी सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको बहिर्गमन नभएसम्म आफूहरूले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिने बताइन् । उनले प्रधानमन्त्री दाहाल संसदमा आएर सो विषयको स्पष्टीकरण दिन लायक नरहेको जिकिरसमेत गरिन् ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेता जुटेर आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न आव्हान गरेका छन् ।

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा उनले सदनको अवरोध हटाउन शीर्ष नेताबीच संवाद हुनुपर्ने औंल्याए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर सदनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राजीनामा माग गर्दै संसद अवरुद्ध गरेपछि अध्यक्ष तिमिल्सिनाले यस्तो आग्रह गरे ।

आज छलफलका लागि निर्धारण गरिएका विनियोजन विधेयक शीर्षकमाथि छलफल गर्न सोमबार ११ बजेट १ मिनेटका लागि अर्को बैठक बोलाइएको छ । सम्बन्धित मन्त्रीहरूबाट जवाफ दिनका लागि पूर्वनिर्धारित कार्यतालिकामा पुनः परिमार्जन गरी यही असार २६ गतेको दिन निर्धारण गरेको
पनि तिम्सिनाले बताए ।

‘माननीय सदस्यहरु ४ दिनदेखि संसद अवरुद्ध हुँदै आएको छ । संसद सुचारु गर्न सम्माननीय प्रधानमन्त्रीले सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरूको बैठक राखी आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न म आह्वान गर्दछु’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर