ठमेलमा फर्किँदै गुण्डाराज, गुण्डा नाइकेबाट यसरी कुटिन्छन् व्यवसायी र कामदार (भिडिओ) – Nepal Press

ठमेलमा फर्किँदै गुण्डाराज, गुण्डा नाइकेबाट यसरी कुटिन्छन् व्यवसायी र कामदार (भिडिओ)

काठमाडौं । पछिल्ला केही वर्षयता ठमेलमा सुस्ताएको गुण्डाराज फेरि ब्युँतिन थालेको भन्दै व्यवसायीले सुरक्षा माग गरेका छन् । तत्कालीन प्रहरी प्रमुखहरूले ठमेल क्लिन गर्ने क्रममा गुण्डाहरुमाथि धरपकड र इन्काउन्टर गरेपछि केही समय ठमेल शान्त थियो ।

तर केही महिनायता ठमेलमा विशेष गरी रात्रिकालीन व्यवसायीमाथि गुण्डाको आक्रमण बढेको छ । रेष्टुरेन्ट तथा लाउन्जहरुमा गएर लाखौँ रुपैयाँको खानपिन गर्ने र बिल तिर्ने बेला कर्मचारी तथा क्लब सञ्चालकहरूमाथि कुटपिट तथा तोडफोड गर्ने समूहलाई प्रहरीले कारबाही नगरेको आरोप छ ।

पछिल्लो घटना हो ओम्निया क्लबको र पीडित व्यवसायी हुन्, राजेन्द्र गुरुङ । गुण्डाको पक्षमा राजनीतिक नेता र मन्त्रीका स्वकीय सचिव नै उभिएपछि आफूहरू निरीह बनेको उनको गुनासो छ ।

नुवाकोट सूर्यगढी गाउँपालिका वडा नम्बर १ घर भएका राजेन्द्र गुरुङ काठमाडौंको ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक हुन् । उनले उक्त व्यवसाय सञ्चालन गरेको चार महिना मात्रै भयो । लामो समय वैदेशिक रोजगारमा बसेर नेपालमै केही गर्ने सोचका साथ फर्किएका उनले होटल व्यवसाय सुरु गरेका हुन् ।

क्लब ओम्नियाका सञ्चालक गुरुङ व्यवसाय सञ्चालन गरेको छोटो अवधिमै नेपालमा व्यवसाय गर्न नसकिने निष्कर्षमा पुगेका छन्— गुण्डाराज र त्यसलाई राजनीतिक संरक्षणका कारण ।

व्यवसायीले व्यवसाय गर्दा घाटा मात्रै नभएर कहिलेकाहीँ टोले गुण्डाहरुको मुक्का पनि खानुपर्ने उनी बताउँछन् ।

घटना गत असार १५ गते शुक्रवारको हो । सदाझैँ उनी आफ्नो क्लबमा नै थिए । रातको करिब २ बजेको समयमा नुवाकोट ककनी गाउँपालिका वडा नं ५ स्थायी घर भएका सानुभाई भनिने युवराज गुरुङ क्लबमा छिरे ।

उनी यसअघि पनि पटक–पटक क्लबमा ग्याङसहित आउने गरेको सञ्चालक बताउँछन् । सञ्चालक राजेन्द्र यसअघि पनि पटक–पटक सानुभाई भनिने युवराजले क्लबमा खाँदा उठेको बिल तिर्न इन्कार गर्ने गरेको बताउँछन् ।

सानुभाई भनिने युवराजले आफूहरूसँग विभिन्न बहानामा पटक– पटक करिब ५९ लाखभन्दा बढी रकम नगदै लिएको सञ्चालक राजेन्द्रको दाबी छ । विभिन्न बहानामा पैसा माग्दै आएका सानुभाई भनिने युवराज र क्लब सञ्चालक राजेन्द्रबीच केही समयदेखि राम्रो सम्बन्ध थिएन ।

पैसा फिर्ता नआउने थाहा भएपनि पैसा दिन बाध्य भएको सञ्चालक राजेन्द्र बताउँछन् । यसै क्रममा असार १५ गते सानुभाई भनिने युवराज रातको करिब २ बजे ग्याङसहित क्लबमा प्रवेश गरे । उनीहरूको समूहले क्लबका कर्मचारीसहित सञ्चालक राजेन्द्रसमेतलाई हातपात गरेको प्राप्त सिसिटिभी फुटेजबाट प्रष्ट हुन्छ ।

सानुभाईले क्लबका कर्मचारीहरू शुरेस खड्का, आशिस नगरकोटी र आफूलाई विभिन्न अपशब्द बोली हातपात गरेको सञ्चालक राजेन्द्र बताउँछन् । सानुभाईले व्यवसाय नै बन्द गराइदिने धम्की दिएकोसमेत उनको आरोप छ ।

उक्त दिन सानुभाईको साथमा आएका १५ जनाभन्दा बढीको समूहले डेढ लाखभन्दा बढी मूल्यको भौतिक संरचना तोडफोड गरेको सञ्चालक राजेन्द्र बताउँछन् । सानुभाईको समूहले आक्रमण गर्दा राजेन्द्रको घाँटीको दाहिनेतर्फ चोटसमेत लागेको छ ।

सानुभाई भनिने युवराज गुरुङ यसअघि पनि थुप्रै आपराधिक घटनामा जोडिएका पात्र हुन् । उनी प्रहरीको इन्काउन्टरमा मारिएका गुन्डा नाइके कुमार घैँटेका प्रमुख सहयोगीका रूपमा चिनिएका व्यक्ति हुन् । सानुभाई भनिने गुण्डा नाइके युवराजले २०६७ सालमा नुवाकोट आप्रहका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई हप्ता असुली नदिएको भन्दै गोली प्रहार गरेका थिए । उक्त घटनामा गोली लागेर अनिल घाइते भएका थिए ।

उनलाई प्रहरीले बुलेटप्रुफ ज्याकेट लगाएर हिँडिरहेको अवस्थामा २०७२ पुसमा पक्राउसमेत गरेको थियो । त्यसबेला प्रहरीले उनको साथबाट एक राउन्ड गोली लोड गरिएको रिभल्वर (पेस्तोल) बरामद गरेको थियो ।

प्रहरी स्रोतका अनुसार घैँटेको इन्काउन्टरपछि सानुभाईको समूहले इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीसँग बदला लिने योजना बनाएका थिए ।
त्यसैगरी, नुवाकोटकै होटल व्यवसायी सुरेश डंगोललाई पनि उनले गत वर्ष मार्ने योजनासहित आक्रमण गरेका थिए । त्यसबेला सुरेश र गुण्डा नाइके सानुभाईबीचको विवाद प्रहरीमा पुगेपनि राजनीतिक दबाबका कारण प्रहरीले उनलाई कारबाही नगरी छाडेको थियो ।

उनको समूह २०७८ सालमा नुवाकोट निवासी निर्माण व्यवसायी जीतबहादुर कार्कीलाई अंगभंग हुनेगरी आक्रमणमा पनि संलग्न थियो । त्यसैगरी सानुभाईकै समूहले २०७१ सालमा डोलबहादुर घलेको आँखा नै गुम्ने गरी आक्रमण गरेको थियो ।

२०७९ को माघमा गोर्खास्थित एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन गएका उनले एक महिलामाथि बलात्कारको प्रयाससमेत गरेका थिए । उनलाई त्यहाँका स्थानीयहरूले समाते पनि उनी पेपर स्प्रे छर्किएर भाग्न सफल भएका थिए ।

प्रहरी स्रोतका अनुसार सानुभाई भनिने गुण्डा नाइके युवराजविरुद्ध प्रहरीमा अहिले पनि नौ वटाभन्दा बढी केस दर्ता छ । तरुण दलमा आबद्ध उनी नेपाली कांग्रेसको संस्थापन नेतृत्व निकट मानिन्छन् ।

लामो समयदेखि विभिन्न अपराधमा संलग्न सानभाई भनिने गुण्डा नाइके युवराजविरुद्ध क्लब ओम्नियाका सञ्चालक राजेन्द्रले प्रहरी वृत्त सोह्रखुट्टेमा र काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखामा उजुरी दिएका छन् ।

सो घटनामा संलग्नमध्ये दुई जनालाई पक्राउ गरी मुद्दा चलाइएको र बाँकी फरार रहेको सोह्रखुट्टेका प्रहरी प्रमुख डिएसपी गणेश बमले नेपाल प्रेसलाई बताए । सिसिटिभीमा देखिने सबैभन्दा पहिले हातपात गर्ने निरज गुरुङ र त्यसपछि पटकटपक कुट्ने युवराज भने फरार छन् ।

सिसिटिभी फुटेजसहित प्रहरीमा उजुरी पर्दा पनि उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।

राजनीतिक नेतृत्वको दबाबका कारण प्रहरीले गुण्डा नाइकेलाई सख्त खोजी नगरेको आरोप समेत ठमेलका व्यवसायीको छ ।

क्लब ओम्नियाको घटनामा उजुरी परेपछि पनि सानुभाईलाई सोह्रखुट्टे वृत्तमा रहेका केही प्रहरीसँगै देखेको व्यवसायीहरू बताउँछन् ।

उनले अर्थमन्त्री डा. प्रकाशशरण महतका स्वकीय सचिव उत्तम पाठकको नाम लिएर थर्काउने गरेको आरोप छ ।

मान सम्मान नदिएको भन्दै मध्यरातमा आएर गुन्डा समूहले हातपात गर्‍यो : क्लब सञ्चालक

क्लब सञ्चालक राजेन्द्रले आफूहरूलाई मान सम्मान नदिएको भन्दै गुन्डाहरूको समूहले कुटपिट गरेको बताए ।

‘युवराज र निरजसहितको समूह राती २ बजे क्लबको इन्ट्रान्समा आएर लफडा गर्न खोजिरहेका थिए। हामीलाई मान सम्मान भएन, हेप्ने ? कुरा काट्ने भन्दै निहु खोजे। निरजले बाउन्सरलाई थप्पड हाने। फेरी पछि आएर पनि थप्पड हाने। हाम्रो भाइहरूले जवाफ फर्काएपछि उनीहरू भागेका थिए’, उनले भने ।

उनले भाग्दै गरेका विनोद लामा र रघु लामालाई तत्कालै पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको बताए।

‘घटनाको भोलिपल्टै हामीले सोह्रखुट्टे प्रहरी वृत्त र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी गरेका थियौँ। तर अन्य पक्राउ पर्न सकेका छैनन्’, राजेन्द्रले भने।

राजेन्द्रका अनुसार युवराज उनका नातेदार पनि हुन्। साढे ११ वर्ष दुबई बसेर ३ वर्षअघि स्वदेश फर्किएपछि उनले ठमेलमा क्लब सुरु गरेका थिए।


प्रतिक्रिया

One thought on “ठमेलमा फर्किँदै गुण्डाराज, गुण्डा नाइकेबाट यसरी कुटिन्छन् व्यवसायी र कामदार (भिडिओ)

  1. कांग्रेस गुण्डा पाल्ने रामसरण प्रकास सरण दुईटै अपराधी हुन्। प्रहरीले नसक्ने भए बालेन लाई जिम्मा देउ या सहायता माग्नु पर्यो र साथै सबै जनता मिलेर यी गुण्डाहुलाइ आगाेले लखेट्नु पर्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर