कोशीमा मन्त्रिपरिषद् विस्तार : कांग्रेसबाट एक र माओवादीबाट दुई थपिँदा समाजवादी असन्तुष्ट – Nepal Press

कोशीमा मन्त्रिपरिषद् विस्तार : कांग्रेसबाट एक र माओवादीबाट दुई थपिँदा समाजवादी असन्तुष्ट

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले थप तीन जनालाई मन्त्री नियुक्त गरेका छन् ।

विवादकाबीच मुख्यमन्त्री बनेका थापाले माओवादीका दुई र कांग्रेसका एक जनालाई मन्त्री नियुक्त गरेका हुन् । कोशी प्रदेशमा मन्त्री हुनेहरूमा माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की रहेका छन् ।

यस्तै थापाले उदयपुरका रामकुमार खत्रीलाई पनि मन्त्री नियुक्त गरेका छन् । उनी कांग्रेसबाट मन्त्री भएका हुन् । उनी शेखर गुटका हुन् ।

शुक्रवार माओवादीको आन्तरिक विवादका कारण जीवन मन्त्री नियुक्त हुन सकेका थिएनन् । शुक्रवार थापाले जीवन आचार्यलाई मात्रै मन्त्री बनाउने तयारी गरेका थिए । गुटका कारण विवाद भएपछि उनको मन्त्री नियुक्ति रोकिएको थियो ।

मुख्यमन्त्री थापाले आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिएका छन् ।

खत्री र कार्कीलाई भने मन्त्रालयको जिम्मेवारी दिइएको छैन । यसअघि शुक्रवार नियुक्त भएका मन्त्रीहरू कमल प्रसाद जवेगु र प्रदीप सुनुवारले पनि मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।

नेकपा एकीकृत समाजवादी पार्टीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरूबिच भएको पूर्व सहमति तोडेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको भन्दै आपत्ति जनाएको छ ।

गठबन्धन दलहरूबिच एकाएक जना मात्रै मन्त्री बनाउने सहमति भए पनि त्यसलाई तोडेर मुख्यमन्त्रीले थप मन्त्री नियुक्त गरेका नेकपा एस संसदीय दलका नेता राजेन्द्रकुमार राईले बताए ।

उनले भने, ‘हामीले सबै दलबाट एक एक जना मात्रै मन्त्री बनाउने सहमति गरेका थियौँ । तर, त्यसलाई तोडेर मुख्यमन्त्रीले थप मन्त्री नियुक्त गर्नुभयो । यसमा हाम्रो आपत्ति छ ।’

उनले यस्तै कार्य जारी रहे सहकार्य अघि बढ्न नसक्ने चेतावनीसमेत दिएका छन् । ‘यस्तै गरिरहने हो भने हाम्रो सहकार्य अघि बढ्न सक्दैन, विश्वासको मत पनि दिँदैनौ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर