बगानको प्रचार गर्न सरोज खनाल र करिश्मा मानन्धर देश दौडाहामा – Nepal Press

बगानको प्रचार गर्न सरोज खनाल र करिश्मा मानन्धर देश दौडाहामा

रुपन्देही । अभिनेता तथा निर्देशक सरोज खनाल बगान फिल्मको प्रचारका लागि देश दौडाहा निस्केका छन् । नेपाली फिल्म बगानको टिम लिएर शनिवार बुटवलमा आएको टोलीले दर्शक तथा पत्रकार भेटघाट गरेको छ ।

३० वर्षअघि सारंगी फिल्मसका लागि आएको विगत सम्झिँदै अभिनेता खनालले फिल्मले समाजको यथार्थ चित्रण गरेको बताए। समस्यासँग जुध्न र समाधानका लागि समाजलाई एउटा बाटो देखाउन फिल्मले एकल महिलाहरूको कथा बोल्ने बताए।

चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै खनालले फिल्म हलमा एकल महिला तथा विधवाहरूलाई निःशुल्क हेर्ने व्यवस्था गरेको बताउँदै हरेक महिलाको हक अधिकार चाहनाको पक्षमा समाज हिँड्न नसक्दा यस्तो कथा जन्मिएको बताए।

अभिनेत्री करिश्मा मानन्धरले फिल्म बगानले एकल नारीको अधिकार, समस्या चुनौतीका बीच समाधान खोजेकोले सबै दर्शकले एक पटक हेर्ने पर्ने चलचित्र बनेको बताइन्।

कथा मन परेको कारण फिल्ममा आबद्ध भएको जानकारी गराउँदै अभिनेत्री मानन्धरले हरेक समाजका कुरीति र कु संस्कृति विरुद्धको आवाज बगान भएको बताएकी छन्।

आफ्नो पहिलो फिल्म भए पनि यस क्षेत्रमा पहिल्यैदेखि रुचि रहेको र बगानले आफ्नो करिअर अगाडि बढाउने नवनायिका प्रमीला पोखरेलले बताइन्।

बगानको कथामा हरेक नारी आमा, छोरी, बुहारीको कथा पाइने बताउँदै उनले हरेक समाजमा भएको व्याप्त नारीको वेदनालाई टपक्क टिपेर कथा बुनिएको बताएकी छन्।

‘बगान’ मा निर्देशक खनाल र करिश्मासँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, प्रमीला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

गीतकार सुरेश वाग्लेको निर्माण तथा स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, सन्देश शाहले सम्पादन, समिर मियाँले भीएफएक्स तथा रेनिश फागोले रंग संयोजन गरेका छन्।

प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ । आफ्नो मोफसल यात्रालाई अघि बढाएको बगान टिम शनिवार बिहान चितवनको कार्यक्रम सकेर बुटवल हुँदै आइतबार भैरहवा र पोखरा र त्यसपछि काठमाडौं जाने योजना बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर