बाबुरामको आरोप- कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्न ‘समाजवादी मोर्चा’ – Nepal Press

बाबुरामको आरोप- कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्न ‘समाजवादी मोर्चा’

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले समाजवादी मोर्चामा नरहनुको कारणबारे प्रष्टीकरण दिएका छन् । माधवकुमार नेपाल नेतृत्वमा समाजवादी मोर्चाको काम कारबाही अघि बढे लगतै भट्टराईले सो स्पष्टीकरण दिएका हुन ।

‘पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक—राजनीतिक विषयप्रतिको अरुचि र अनिच्छा र खालि तत्कालीन संसदीय अंक गणितप्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसँग कुनै परामर्श र छलफल विनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुन पुग्यो,’ उनले भनेका छन्, ‘नयाँ युगको नयाँ ढंगको समाजवादबारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन, किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठुलो घात हो।’

उनले ट्विटरमा लेखेका छन्, 

धेरै शुभेच्छुकहरू विशेषतः माओवादी आन्दोलनमा लागेका साथीहरूले हामीलाई आफैँले अघि सारेको समाजवादी केन्द्र वा समाजवादी मोर्चाबाट किन अलग भएको भनेर र अन्य कतिपयले तपाईँ पुराना शक्तितिर कि नयाँ शक्तितिर भनेर निरन्तर प्रश्न गरिरहनु भएकाले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नु आवश्यक भएको छ।

१. नेपालमा संविधानसभाबाट समाजवाद(उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि ती उपलब्धिहरूको रक्षा गर्दै सुशासन र समृद्धिको जगमा समुन्नत समाजवाद निर्माण गर्न नयाँ ढंगको समाजवादी केन्द्र वा समाजवादी मोर्चा आवश्यक छ भन्ने प्रस्तावना हामीले अघि सारेकै हो। सकेसम्म पुराना शक्तिहरूको रूपान्तरणबाटै त्यस्तो शक्ति बन्न सके सहज हुन्छ भन्ने इमानदार प्रयत्न हामीले गरेकै हो। त्यस निम्ति गम्भीर प्रकृतिको वैचारिक(राजनीतिक छलफलको आग्रह पनि गरेकै हो। परन्तु पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक(राजनीतिक विषयप्रतिको अरूचि/अनिच्छा र खालि तत्कालीन संसदीय अंकगणितप्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसँग कुनै परामर्श र छलफल विनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुन पुग्यो। नयाँ युगको नयाँ ढंगको समाजवादबारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन, किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठुलो घात हो।

२. जहाँसम्म हामी नयाँ शक्तितिर कि पुरानो शक्तितिर भन्ने प्रश्न छ हामी नै वास्तवमा वैचारिक रूपले गत एक दशकदेखि देशमा नयाँ वैकल्पिक राजनीति/शक्तिका प्रमुख प्रवर्तक भएकाले हामी नयाँ वैकल्पिक शक्ति निर्माणकै पक्षमा रहेको र रहने कुरा स्वतः स्पष्ट छ। बीचमा केही क्षेत्रीयतावादी शक्तिहरूसँग सहकार्य गर्दा हाम्रो छवि जनसमक्ष धमिलिन पुगेको कुरालाई स्वीकार्दै हामीले आत्मालोचना सहित त्यसलाई सच्याउने कार्य गरिसकेका छौँ १ अतः नयाँ युगको र देशको आवश्यकता अनुरूप हामी देशमा उदाउँदै गरेका सबै अग्रगामी नयाँ शक्तिहरूसँग सहकार्य गर्दै वृहत नयाँ वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहेको र रहने कुरा द्विविधारहित ढंगले स्पष्ट पार्न चाहन्छौँ।


प्रतिक्रिया

One thought on “बाबुरामको आरोप- कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्न ‘समाजवादी मोर्चा’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर