विप्लव निकट अनेरास्ववियु अध्यक्षले सार्वजनिक गरे एसपी, सिडिओ, जनप्रतिनिधि र पत्रकारलाई घुस बाँडेको विवरण ! – Nepal Press

विप्लव निकट अनेरास्ववियु अध्यक्षले सार्वजनिक गरे एसपी, सिडिओ, जनप्रतिनिधि र पत्रकारलाई घुस बाँडेको विवरण !

ठेकेदार समेत रहेका अध्यक्ष शाहीको आरोपबारे छानबिन गर्न समिति गठन

रुपन्देही । ठेकेदारसमेत रहेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले दाङको राप्ती नदीमा रहेको कुलो खन्ने ठेक्कामा ‘सेटिङ मिलाउन’ एसपी, सिडिओ, जनप्रतिनिधि,पत्रकार लगायतका व्यक्तिलाई रकम बाँडेको विषय सार्वजनिक गरेका छन् ।

ठेकेदारले ढुंगाजन्य वस्तु उत्खनन गर्दा जिल्लाका प्रशासन तथा सुरक्षा प्रमुखसहित जनप्रतिनिधि र पत्रकारसम्मका व्यक्तिलाई लाखौँ रकम घुस दिएको लेजर नै सार्वजनिक गरेपछि यो विषयले बढी चर्चा पाएको हो । उनले यो विवरण सार्वजनिक गरेपछि प्रहरी, पत्रकार महासंघ, ठेकेदारहरूको कम्पनी सबैले छानबिन समिति गठन गरेका छन् ।

जेठ महिनाको अन्तिमतिर राप्ती गाउँपालिकाले कुलो खन्ने नाममा राप्ती नदी उत्खनन गर्न अनुमति दिएको थियो । सोही अनुमति अनुसार ढुंगाजन्य वस्तु उत्खननको लागि सेटिङ मिलाउन लाखौँ रकमको लेनदेन भएको गम्भीर आरोप लागेको हो । उत्खननकै ठेक्कामा संलग्न व्यक्ति प्रकाश शाहीले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरीका एसपी, लमहीका इन्स्पेक्टर र भालुबाङ प्रहरी, गढवाका घुमुवा, जिल्लास्थित राष्ट्रिय अनुसन्धान, गढवा गाउँपालिका–१, राप्ती गाउँपालिका र त्यहाँ कार्यरत कर्मचारी र भालुबाङस्थित तीनजना पत्रकारलाई रकम बुझाएको गम्भीर आरोप सार्वजनिक भएको छ ।

गत जेठ महिनामा कुलो सरसफाइको नाममा उत्खनन हुँदा समुदायस्तरबाट विरोध भएपनि किसानको समस्या देखाएर उत्खनन गर्न राप्ती गाउँपालिकाले अनन्त कन्स्ट्रक्सन राप्ती–७ (ज्ञानु केसी, पवनकुमार जिसी, वसन्त कुँवर र प्रकाश शाही) लाई उत्खनन सहमति दिएको थियो ।

ठेकेदार चार जनामध्येकै एक नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाही हुन् । उनै शाहीले बिहीबार राति आफ्नो फेसबुकमा स्टाटस लेख्दै जिल्लाका उच्च निकायका अधिकारीसहितलाई सेटिङका लागि रकम दिएको भन्दै पोष्ट गरेपछि यसले चर्चा पाएको हो ।

फेसबुक पोष्टमा राखिएको सामग्रीमा उनले जिल्लाका प्रहरी प्रमुखलाई तीन लाख, प्रमुख जिल्ला अधिकारीलाई एक लाख, भालुबाङ प्रहरीलाई एक लाख २५ हजार, राप्ती गाउँपालिका कार्यालयलाई पाँच लाख ४५ हजार, सशस्त्रको एसपीलाई एक लाख, लमहीका इन्स्पेक्टरलाई ४० हजार, जिल्लाको अनुसन्धान विभागलाई ३५ हजार, बाबुराम गढवा वडाध्यक्षलाई ५९ हजार सात सय, सन्तोषकुमार गुप्तालाई २५ हजार, विदुर एमसीलाई १० हजार, पत्रकार घनश्यामलाई १० हजार रकम बुझाएको आरोप छ ।

आरोपसहित सार्वजनिक गरिएको विवरणमा गाउँपालिकालाई राजश्व रकम २२ लाख दाखिला गरेको उल्लेख छ । सोही अनुरूप नै गाउँपालिकाले पनि नगद नौ लाख र बाँकी १३ लाख गरी २२ लाख राजश्व बुझेको पुष्टि गरेको छ । गाउँपालिकाले अनन्त कन्स्ट्रक्सन प्रालि राप्ती गाउँपालिका–७ लाई बढाबढ सूचनाको आधारमा उत्खनन गर्न दिएको थियो । सात दिनको बढाबढको सूचना निकालेर ठेक्का लगाइएको थियो । २२ लाखको राजश्व तिरेर काम गर्न त्यति नै रकम सेटिङ मिलाउन खर्च भएको देखाइएको छ ।

‘दाङका सिडिओ, एसपी, राजनीतिक दलका नेता, वडाध्यक्ष, पत्रकार, पालिका कर्मचारी सबका सब यति भोको छन् । म बबुरो भ्रष्टाचारविरुद्धको अभियानमा छु । राप्ती गाउँपालिकाको क्षेत्रमा पर्ने प्रगन्ना कुलो सरसफाइको राजश्व तिरेर गरेको काममा व्यवसायीहरूले कहाँ–कहाँ कति बुझाए, निकायहरुले जनतालाई जवाफ दिनुपर्छ ।’ शाहीले फेसबुकमा भनेका छन् ।

विवरणमा रकम दिइएका व्यक्तिको नाम र रकम राखिएपनि कसरी बुझे, के आधारमा बुझाइयो भन्ने केही खुलाइएको छैन । उत्खनन गर्दा घाटा लागेको भन्दै काममा संलग्न स्क्याभेटर, डोजर, टिप्परको भुक्तानीमा ढिलाइ भएको र सो विषयमा बुझ्दा धेरै रकम सेटिङ मिलाउन खर्च गरिएको देखिएको शाहीले पत्रकारलाई बताएका छन् ।

‘व्यवसाय गर्न नेपालको कानूनले रोकेको छैन । साथीभाइको आग्रहमा चिनेका साथीको मेसिन झारिएको थियो । काम गरेको भुक्तानीमा ढिलाइ हुँदा रकमभरी सेटिङ मिलाउन बाहिर गएको देखियो’, उनले भने ‘यो घटनाको सत्य तथ्य छानबिन हुनुपर्छ भन्ने पक्षमा म पनि छु ।’

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नदीजन्य वस्तु उत्खनन कार्यमा राजश्वबाहेकको लेनदेन भएको देखिएको बारेमा अनुसन्धान गरिने बताएका छन् । यसैगरी रकम लिएको आरोप लागेका पत्रकार सन्तोषकुमार गुप्ताले प्रमाणित गर्न चुनौती फेसबुकमै दिएका छन् ।

‘बदनाम गराउन यस्तो खेल रचिएको हो, कसैले भनेर हुँदैन, हिजो लेख्नेले आज किन पोष्ट डिलिट गर्‍यो ? रजिस्टरमा खेस्रा लेखेर रकम बुझेको प्रमाणित कसरी हुन्छ । आरोप पुष्टि भयो भने जस्तोसुकै सजाय भोग्न तयार छु’ उनले भनेका छन् ।

भर्पाई नभएको र कुनै आधार प्रमाण नभएको भन्दै आरोपितहरूले प्रमाणित गर्न चुनौती दिएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले घटनाको सत्य तथ्य जाँच गर्न प्रहरीलाई निर्देशन दिइसकेको र छिटै यथार्थ सार्वजनिक हुने बताएका छन् ।

‘हाम्रा नाम बेचेर कसैले पैसा उठायो कि, त्यत्तिकै लेखियो कि यस बारेमा बुझ्न भनेको छु,कसलाई रकम बुझाएको हो प्रमाणित गर्नुपर्‍यो, अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छु । फेसबुकमा कसले, के आधारमा लेख्यो । त्यसबारेमा बुझ्न प्रहरीलाई भनेको छु’ उनले भने ।

दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले घटनाको विषयमा गम्भीर अनुसन्धान हुने जानकारी दिए ।

‘कसरी यो विषय बाहिर आयो, म लगायत धेरैको नाम जोडिएको छ, मैले त आरोप लगाउने मान्छेलाई चिनेको पनि छैन’ उनले नेपाल प्रेससँग भने, ‘फेसबुकमा आएको विषय सत्य तथ्य के हो बुझ्छौं, हाम्रा नाममा कसले कहाँ पैसा बुझ्यो, बुझ्ने को थियो प्रमाणित होस्, होइन भने लेख्ने व्यक्तिलाई कानुन अनुसार कारबाही हुन्छ । प्रमुख जिल्ला अधिकारीज्यूसँग यस बारेमा छलफल भएको छ ।’

यता नदीजन्य वस्तु उत्खनन कार्यमा संलग्न तीनजना निर्माण व्यवसायीले संयुक्त विज्ञप्ति जारी गर्दै सार्वजनिक गर्ने प्रकाश शाहीलाई दोषी देखाएका छन् । विज्ञप्तिमा प्रगन्ना कुलो सरसफाइ गर्न पालिकाले खोलेको ठेक्कामा ज्ञानु केसी, पवनकुमार जिसी, वसन्त कुँवर र प्रकाश शाहीले ठेक्का लिएको उल्लेख छ ।

‘हामीहरुलाई थाहा नदिई प्रकाश शाहीले आफ्नो फेसबुकमा हाम्रो लेखापाल किरण अधिकारीलाई धाकधम्की दिएर विभिन्न व्यक्तिको नाममा खेस्रा तयार गर्न लगाई चरित्र हत्या गर्ने मनसायले सामाजिक सञ्जालमा हालेको स्टाटस गलत भएको भनी हामी तीनजना ठेकेदार पुष्टि गर्दछौं’ भनिएको छ ।

यसैबीच पत्रकार महासंघ दाङले पत्रकारहरूमाथि घुस रकम लिएको गम्भीर आरोप सार्वजनिक भएपछि छानबिन समिति बनाएको छ ।

शनिबार बसेको पदाधिकारी, सल्लाहकार तथा सञ्चार संगठनका अध्यक्षहरूको आकस्मिक बैठकले अध्यक्ष दुर्गालाल केसी, सन्तोष सुवेदी र उदय बिसी सदस्य रहेको छानबिन समिति गठन गरेको हो । समितिलाई असार ३१ गतेसम्म यथार्थ विवरण सार्वजनिक गर्न जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया

One thought on “विप्लव निकट अनेरास्ववियु अध्यक्षले सार्वजनिक गरे एसपी, सिडिओ, जनप्रतिनिधि र पत्रकारलाई घुस बाँडेको विवरण !

Leave a Reply

Your email address will not be published. Required fields are marked *