दुईदिन पनि टिकेन तमिम इकवालको सन्न्यास, प्रधानमन्त्री हसिनासँग भेटपछि मन बदले – Nepal Press

दुईदिन पनि टिकेन तमिम इकवालको सन्न्यास, प्रधानमन्त्री हसिनासँग भेटपछि मन बदले

काठमाडौं । बंगलादेशी क्रिकेटर तमिम इकवालले सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा फिर्ता लिएका छन् ।

बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँग शुक्रबार दिउँसो भेट गरेपछि उनी सन्न्यास फिर्ता लिन तयार भएका हुन् ।

बंगलादेशी क्रिकेट बोर्डका अध्यक्ष नाजमुल हसन पापोन तथा राष्ट्रिय टिमका पूर्वकप्तान मुस्राफे बिन मुर्तजासहित तमिमले प्रधानमन्त्रीलाई भेटेका थिए । प्रधानमन्त्रीको आग्रहमा सन्न्यास घोषणा फिर्ता गरेको उनले बताएका छन् ।

उनले भने, ‘मैले सबैलाई अस्वीकार गर्न सक्छु तर प्रधानमन्त्रीलाई सक्दिन ।’

मुस्राफेले आफूलाई प्रधानमन्त्रीसँग भेटाएको तमिमले बताए । यसअघि हिजो मात्रै चटोग्राममा पत्रकार सम्मेलन गर्दै तमिमले आफ्नो १६ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर समाप्त भएको घोषणा गरेका थिए । उनी पत्रकार सम्मेलनमै रोएका थिए ।

‘यो मेरो अन्त्य हो,’ उनले भनेका थिए, ‘मैले आफ्नो उत्कृष्ट दिएँ । मैले सक्दो प्रयास गरेँ । म यही क्षणबाट सबै अन्तर्राष्ट्रिय क्रिकेटबाट अवकाश लिन्छु । हिजो अफगानिस्तानविरुद्धको खेल नै मेरो अन्तिम थियो ।’

एकदिवसीय विश्वकप क्रिकेट आउनुभन्दा तीन महिना अगाडि कप्तान इकवालको सन्न्यासले बंगलादेशी क्रिकेटमा तनाव पैदा गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर