बागमतीमा अहिलेसम्म २१ प्रतिशतमात्रै रोपाइँ (जिल्लागत तथ्याङ्क) – Nepal Press

बागमतीमा अहिलेसम्म २१ प्रतिशतमात्रै रोपाइँ (जिल्लागत तथ्याङ्क)

हेटौंडा । बागमती प्रदेशमा यस वर्ष हालसम्म २१ प्रतिशतमात्रै धान रोपाइँ सकिएको छ ।

यस वर्ष मनसुन ढिला गरी सुरु भएको कारण असार अन्तिम हप्तासम्म रोपाइँ २१ प्रतिशतमात्र पुगेको कृषि विकास निर्देशनालय हेटौंडाले जनाएको हो ।

बागमतीका १३ जिल्लामा रोपाइँको अवस्थाबारे नेपालप्रेससँग कुरा गर्दै निर्देशनालयका कृषि अर्थविज्ञ रामहरि तिमल्सिनाले बागमतीमा रहेको ३ लाख २८ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये १ लाख २३ हजार ३६३ हेक्टरमा धानखेती हुने बताए ।

तिमल्सिनाका अनुसार धान खेती हुने १ लाख २३ हजार ३६३ हेक्टर जमिनमध्ये हालसम्म ३२ हजार ५१९ हेक्टरमा धान रोपाइँ भएको छ ।

बागमतीमा सबैभन्दा धेरै हाइब्रिड धान खेती हुने गरेको तिमल्सिनाले बताए । बागमतीमा १२४ प्रजातिको हाइब्रिड धानखेती हुने गरेकोमा सबैभन्दा धेरै ‘यूएस ३०५ र ३१२’ रहेको उनले जानकारी दिए । त्यसबाहेक बागमतीमा डीवाई, स्वर्ण सव वान, राधा ओआर धान हुने र उच्च पहाडी भेगमा सुख्खा धान तथा टाइचिन धान खेती हुने गरेको छ ।

आधुनिक कृषि सामग्रीको प्रयोग

यस पटक बागमती प्रदेशको अधिकांश जमिनमा आधुनिक कृषि सामग्रीको प्रयोग गरी धान रोपाइँ भएको तिमल्सिनाको भनाइ छ । ‘आजकल परम्परागत कृषि प्रणालीलाई छोडेर किसानहरुले धान रोप्न मेसिन र खेती हिलो बनाउन ट्याक्टर प्रयोग गरेका छन्’, उनले भने, ‘सरकारले सानो पाटा खेतको लागि हाते ट्याक्टर अनुदानका कार्यक्रमहरु गर्ने गरेको कारण पनि आजकल पहाडी क्षेत्रहरुमा गोरुको प्रयोग कम हुँदै गएको छ ।’

मल र सिंचाइको समस्या छ : किसानहरु

असार महिना सकिन लाग्दा पनि किसानहरु मल नपाउँँदा समस्यामा छन् । मलको अभावले धान कम उत्पादन हुने किसानहरु बताउँछन् ।

मकवानपुरगढी- ५ का किसान रामशरण धितालले यस पटक पनि पहिले जस्तै मलको अभावको कारण खेती लगाउन समस्या भएको बताए ।

सरकारले किसानहरुलाई समयमा मल र सिंचाइको व्यवस्था गरे आफूहरु आत्मनिर्भर हुनसक्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर