इमर्जिङ एशिया कप : अरु देशको ‘ए’ टीमसँग भिड्न नेपालले पठाउँदैछ राष्ट्रिय टीम ! – Nepal Press

इमर्जिङ एशिया कप : अरु देशको ‘ए’ टीमसँग भिड्न नेपालले पठाउँदैछ राष्ट्रिय टीम !

विनोद दास भन्छन्- यूएई र ओमानले राष्ट्रिय खेलाडीहरु उपलब्ध नभएर ए टीम पठाएका हुन्

काठमाडौं । नेपाली क्रिकेट टीम अहिले व्यस्त सेड्यूलमा छ । भर्खरै जिम्बाबेमा विश्वकप क्वालिफायर खेलेर आएका खेलाडीहरु अब छिट्टै इमर्जिङ एसिया कप खेल्न श्रीलंका जाँदैछन् ।

एशिया कपको पूर्वसन्ध्यामा इमर्जिङ टीम्स एशिया कप आउँदो १३ देखि २३ जुलाइसम्म हुन लागेको हो । एशियाका पाँच टेस्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपका शीर्ष तीन टोली यो प्रतिस्पर्धामा भिड्नेछन् । नेपालमै भएको एसीसी प्रिमियर कपको उपाधि नेपालले जितेको थियो भने यूएई दोस्रो र ओमान तेस्रो भएका थिए ।

प्रतियोगितामा टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले पनि भाग लिँदैछन् । तर, यी देशहरुका राष्ट्रिय टीमले प्रतियोगिता खेल्न लागेका होइनन् । यी पाँचसहित ओमान र यूएइ ले पनि आफ्नो ए टीम (दोस्रो दर्जाको टीम) इमर्जिङ कपमा खेलाउँदैछन् । तर, नेपालले भने राष्ट्रिय टिमलाई नै पठाउने भएको छ ।

टेस्ट राष्ट्रहरुका ‘ए’ टिमसँग पनि नेपाली राष्ट्रिय टीमले प्रतिस्पर्धा गर्नु सम्मानजनक नै हो । तर, यूएई र ओमान पछिल्लो समय नेपालभन्दा कमजोर टीम हुन् । ती राष्ट्रले समेत ‘ए’ टीम खेलाएको प्रतियोगितामा नेपालले चाहीँ किन राष्ट्रिय टीम नै पठाउँदैछ भन्ने प्रश्न उब्जिएको छ ।

नेपाल क्रिकेट संघ क्यानका म्यानेजर अरु राष्ट्रका ए टीमसँग नेपालको राष्ट्रिय टीमले प्रतिस्पर्धा गर्नुलाई अस्वभाविक मान्न नहुने बताए ।

ओमान र यूएईका राष्ट्रिय टीमका खेलाडीहरु उपलब्ध नभएकाले ए टीम पठाउन लागेको उनको दाबी छ । ‘उनीहरुको नेसनल टीमका खेलाडी कोही अन्तै बिजी छन्, कोही घाइते छन् । त्यसैले राष्ट्रिय टीम पठाउन नसकेका हुन्’, दासले तर्क गरे, ‘हामीलाई त्यस्तो कुनै समस्या नभएकाले नेसनल टीम नै पठाउने हो ।’

इमर्जिङ एशिया कप खेल्दा राष्ट्रिय खेलाडीहरुले थप एक्स्पोजर पाउने र एशिया कपका लागि तयारी हुने उनको तर्क छ ।
तर, क्रिकेट समर्थकहरु भने आफूभन्दा कमजोर देशका पनि दोस्रो दर्जाका टीमहरुसँग राष्ट्रिय टीमका खेलाडीहरुलाई भिडाउँदा उनीहरुको मनोबल घट्छ कि बढ्छ भन्ने प्रश्न उठाइरहेका छन् । यो प्रतियोगिताका खेलहरुलाई ओडीआई मान्यता समेत छैन ।

इमर्जिङ कपका लागि अफगानिस्तान, बंगलादेश, भारत र पाकिस्तानले आफ्नो ए टीमको घोषणा गरिसकेका छन् । नेपालसहित श्रीलंका, ओमान र यूएइले भने टीम घोषणा गर्न बाँकी छ । दासका अनुसार नेपाली टीमको घोषणा आजै हुन सक्छ ।

नेपालको टीममा स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दिपेन्द्र सिंह ऐरी भने समावेश हुने छैनन् । उनीहरु ग्लोबल टि २० क्यानाडा लिग खेल्न जाने भएकाले इमर्जिङ एसिया कप खेल्ने टीममा उनीहरु दुवैलाई राखिएको छैन ।

इमर्जिङ कपका लागि पाकिस्तानले घोषणा गरेको टीम तुलनात्मकरुपमा बलियो छ । पाकिस्तानी ए टीमको कप्तानी मोहम्मद ह्यारिसले गर्ने छन् जो राष्ट्रिय टीमबाट समेत खेलिरहेका विकेटकिपर ब्याट्सम्यान हुन् ।

२२ वर्षिय ह्यारिसले पाकिस्तानबाटट पाँच एक दिवसीय र ९ टि-२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । फास्ट बलर सहनबाज दहानीले २ ओडीआइ र ११ टि-२० अन्तर्राष्ट्रिय खेलेका छन् । साइब अयूवसँग ८ टि-२० अन्तर्राष्ट्रियको अनुभव छ । टीमका अन्य खेलाडीहरु पनि पाकिस्तानका लिगमा उच्च प्रदर्शन गर्दै आएकाहरु छन् ।

भारतीय ए टीमको कप्तानी भने यस धुलले गर्दैछन् । टीममा आइपीएलको अनुभव भएका र अन्डर १९ राष्ट्रिय टीमबाट खेलेका खेलाडीहरुलाई समावेश गरिएको छ । यस्तै, बंगलादेशी टिमको कप्तानी सैफ हसन र अफगानिस्तानको कप्तानी साहिदुल्लाह कमलले गर्नेछन् । बंगलादेशी टीममा सौम्य सरकार अन्तर्राष्ट्रिय अनुभव प्राप्त ब्याट्सम्यान हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर