१६ महिनापछि पाए गण्डकीका यू-१९ महिला क्रिकेट खेलाडीले पुरस्कार – Nepal Press

१६ महिनापछि पाए गण्डकीका यू-१९ महिला क्रिकेट खेलाडीले पुरस्कार

पोखरा । गत वर्ष भएको सूदुरपश्चिम प्रदेशको कैलालीमा सम्पन्न यु-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता गण्डकी प्रदेशको टोलीले १६ महिनापछि पूर्वघोषित रकम पाएका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार पोखरा रंगशालमा आयोजित एक कार्यक्रमका विच उनीहरुलाई रकम प्रदान गरिएको हो ।

प्रदेश सरकारले करिव १६ महिनाअघि घोषणा गरेको रकम खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी १७ जनाले जनही नगद ५० हजारका दरले प्राप्त गरेका हुन् । रकम खेलाडीहरुको व्यक्तिगत बैंक खातामार्फत पठाइएको मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले बताए ।

हामीले पहिले नै खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने भनेका थियौं । तर, सरकार परिवर्तन लगायतका कारण ढिलो हुन पुग्यो । हामी खेलाडीहरुको मनोबल उच्च होस भन्नका लागि कामना गर्दछौं । यो सम्मानले खेलाडीहरुलाई पक्कै हौसला प्राप्त हुनेमा विश्वस्त छु,’ उनले भने ।

गण्डकी प्रदेश सरकारका मन्त्री सुशिला सिंखडा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी,िि परषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा लगायतले उनीहरुलाई सम्मान गरेको हो ।

परिषदका सदस्य सचिव श्रीधर शर्माले प्रदेशको खेलकुद विकास संगै खेलाडीहरुको हितका लागि परिषद संधै साथ रहेको बताए । आगामी दिनमा परिषदले विभिन्न जिल्लाहरुमा प्रतियोगिताहरु सञ्चालन गर्न, खेलकुदका विभिन्न कार्यक्रमहरुलाई जोड्दै दशांै राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशलाई उत्कृष्ट बनाउने गरी योजना अघि सार्ने उनले सुनाए ।

नगद ५० हजार सहित सम्मानित हुने खेलाडीहरुमा अन्जली विश्वकर्मा, सिमाना केसी, ज्योत्स्नीका मरासिनी, सोनिया थापा, आकृति तिवारी, कुसुम गोदार, अरबिना अधिकारी, निरु जिटि, सेरिना थापा मगर, मनिषा उपाध्याय, सिर्जना पौडेल, जेनिशा खत्री, आङ पेमु ल्याम्बु शेर्पा र प्रीती पराजुली टोलीका प्रशिक्षक रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टिम व्यवस्थापक एलिशा लामिछाने छन् ।

मुख्यमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट संघको आयोजनाका कैलालीको धनगढीमा १७ महिना अघि सम्पन्न भएको थियो । सोही अवसरमा प्रदेशका तत्कालीन अर्थमन्त्री रामजीप्रसाद बरालले खेलाडीसहित प्रशिक्षक र व्यवस्थापकलाई ५० हजारका दरले पुरस्कार दिने घोषणा गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर