श्रीमतीको नाममा खोलिएको फेसबुक अकाउन्टमा ‘कोइ छ मसँग रात बिताउने’ लेखेपछि… – Nepal Press

श्रीमतीको नाममा खोलिएको फेसबुक अकाउन्टमा ‘कोइ छ मसँग रात बिताउने’ लेखेपछि…

काठमाडौं । श्रीमतीको नाममा नक्कली फेसबुक अकाउन्ट खोलेर अश्लील स्टाटसहरु लेखी चरित्र हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले गोरखाका ३७ वर्षीय वीरबहादुर भट्ट (नाम परिवर्तन)लाई पक्राउ गरेको हो ।

वीरबहादुरमाथि सम्बन्ध राम्रो नरहेकी श्रीमती कमला (नाम परिवर्तन)को नाममा फेसबुक अकाउन्ट खोलेर जथाभावी लेख्ने गरेको आरोप लागेको छ । वीरबबहादुरले कमलाको नाम र तस्वीर राखेर अकाउन्ट खोलेको र ‘को छ मसँग रात बिताउने ?’लगायत शब्दहरु लेखेका थिए । कमलाले उजुरी गरेपछि प्रहरीले वीरबहादुर संलग्न रहेको पत्ता लगाएको हो ।

कमला र वीरबहादुरले २०७४ फागुनमा विवाह गरेका थिए । तर, विवाह भएको एक वर्षपछि जथाभावी पिट्ने, गालीगलौज गर्ने र मानसिक यातना दिने कार्य गरेपछि आफू बेग्लै बस्न थालेको कमलाले आफ्नो जाहेरीमा उल्लेख गरेकी छन् । वीरबहादुरले भने सामाजिक परम्पराअनुसार विवाह गरेको एक वर्षसम्म राम्रै सम्बन्ध रहेको बयान दिएका छन् ।

उनका अनुसार कमला पछिल्लो २ वर्षदेखि आफूसँग बोल्न नचाहने, सम्पर्कमा आउन नचाहने, कोठाको सामानसमेत अन्तै सारेर सामाजिक सञ्जालमा ब्लक गरेर बसेकी थिइन् । त्यही कारण आवेगमा आएर आफूले नक्कली अकाउन्ट बनाइ चरित्र हत्या गर्न खोजेको वीरबहादुरले बताएका छन् ।

प्रहरीका अनुसार वीरबहादुरले श्रीमतीको नाममा टिकटक अकाउन्टसमेत बनाएर उनका भिडियोहरु अपलोड गरी त्यसमा आपत्तिजनक कमेन्टहरु गर्ने गरेका थिए । श्रीमतीले प्रयोग गर्ने गरेको सामाजिक सञ्जालहरुबाट फोटो भिडियो डाउनलोड गरेर नक्कली अकाउन्टमा अपलोड गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

वीरबहादुरविरुद्ध ५ वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय माग गरेर अदालतमा मुद्दा दायर भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *