कर्मचारीको ‘खाजा समय’ मा कार्यालयको मनमौजी, कसले बुझ्ने सेवाग्राहीको सास्ती ? – Nepal Press

कर्मचारीको ‘खाजा समय’ मा कार्यालयको मनमौजी, कसले बुझ्ने सेवाग्राहीको सास्ती ?

काठमाडौं । जुनसुकै मन्त्री र प्रधानमन्त्री सुशासन र पारदर्शीताका भाषण गरेर थाक्दैनन् । सरकारी कार्यालय, कामकारबाहीको अनुगमनका लागि जहाज र हेलिकप्टर चढेरै जान्छन् चुस्त-दुरूस्त सेवाको निर्देशन दिन्छन् । तर, सेवाग्राहीले साँच्चै विनाझन्झट् छिटोछरितो सेवा पाइरहेका छन् त ? यसमा कसैको ध्यान देखिन्न । आज यहाँ कर्मचारीलाई छुट्याइएको खाजा खाने समयले सेवाग्राहीले पाएको हैरानीबारे चर्चा गरेका छौं ।

यातायात व्यवस्था कार्यालय ललितपुरमा लाइसेन्ससम्बन्धी केही काम छ भने बिहानै ८ बजेदेखि लाइनमा लाग्नुपर्छ । १० बजेपछि कार्यालय पुगियो भने ३ बजेअघि पालो आउन मुस्किल पर्छ । १० बजेदेखि सरकारी कार्यालय खुल्छ तर, कर्मचारी आइपुग्दा साढे १० जस्तो नै बज्छ । १० बज्नुअघि नै अफिसको ढोकामा लाम लागेका सेवाग्राहीको पालो १२ बजेसम्म आए त ठीकै हो । तर, १२ बजेपछि काम बन्न ३ बज्छ ।
सबै कर्मचारी कार्यालय नै रित्तो बनाएर खाजा खान जाँदा सेवाग्राही दिनभर माया मारेर कर्मचारी कुर्नुपर्ने बाध्यता छ ।

सधैँ खचाखच हुने राहदानी विभागमा २ बजेदेखि आधा घण्टा कर्मचारीको खाजा खाने समयमा पनि सेवाग्राहीको काम नै ठप्प हुन्छ । मालपोत, नापी, जिल्ला प्रशासनलगायतका काम लिएर आउनेले कार्यालयमा खाजा खाने समयले आफूहरूले दु:ख पाएको बताएका छन् । यी कार्यालयमा आलोपालो खाजा खाने चलन छैन, काम नै रोकेर सबैजना एकैपटक खाजा खान हिँड्छन् ।

जाजरकोटबाट बसाइसराइ लिई ललितपुर आएका एक सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकका लागि सम्पर्क ठाउँ नमिल्दा पाएको दु:ख हामीलाई पोखे ।

‘आफैँले विवरण भरेर हाम्रोतिरको नारायणहिटीमा हुँदोरहेछ त्यहाँ गए । त्यहाँबाट फर्काएर ललितपुर पठायो यहाँ कुरेको आधा घण्टा भयो । सरहरू खाजा खान निस्कनुभएको रे अझै आधा घण्टा कुर्नुछ । यहाँ भेरिफाइ गरेर कतिखेर फेरि नारायणहिटी भ्याउनु ?’

मन्त्रिपरिषद्को गत फागुन १५ को बैठकले ‘सार्वजनिक बिदा र बिदाका दिन कार्यालय खोल्ने’ प्रस्तावमा कर्मचारीको खाजा खाने समय साढे १ देखि २ बजेसम्म आधा घण्टा निर्धारण गरेको छ । जुन प्रावधान चैत २ को राजपत्रमा प्रकाशित गरिएको छ ।

तर, सरकारी कार्यालयले आफूखुशी खाजा खाने समय तोकेका छन् । कहीँ १२ बजेदेखि नै खाजा खाने समय छुट्याएको छ भने कोही कार्यालयले १ बजेदेखि त कोहीले २ बजेदेखि । उदाहरणका लागि राहदानी विभागमा २ देखि साढे २ सम्म छ । ललितपुर प्रशासनमा २ बजेदेखि पूरै एक घण्टा छ ।

सामान्य कामको लागि दिनै माया मार्नुपर्ने छिटोछरितो ढंगले पनि काम नहुने भन्दै प्राय: जुनसुकै कार्यालयमा सेवाग्राही आक्रोशित बनिरहेका हुन्छन् । सानोतिनो काममा पनि भनसुन गराउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ ।

‘सेवा लिन जाँदा कतै खाजा खाने टाइममा पो पर्ने हो कि भन्ने डर छ । आलोपालो गरी सेवा दिन सके कार्यालयमा भीड पनि बढ्ने थिएन र काम पनि हुँदै गर्थ्यो’, यातायात व्यवस्था कार्यालय भक्तपुरमा विलबुक रिन्यू गर्न पुगेका प्रवीन सापकोटा भन्छन् ।

अस्पतालमा पनि उस्तै ताल

वीर अस्पतालको बहिरंग विभाग (ओपीडी) मा आएका बिरामी त झन् १२ बजेतिर आए भने २ बजेपछि मात्र पालो आउँछ । देशकै केन्द्रीय अस्पताल वीरमा १२ देखि १ बजेसम्म काउन्टरका कर्मचारीको खाजा खाने समय छ । त्यसपछि १ देखि २ डाक्टरहरूको खाजा खाने समय छुट्याइएको छ । १२ देखि एक घण्टा टिकट बन्द हुन्छ त्यसपछि काउन्टरका कर्मचारी आएपनि टिकट लिएर डाक्टरलाई देखाउन जाँदा डाक्टर खाजा खान गएका हुन्छन् । यहाँ पनि आलोपालो खाजा खाने थिति बसाल्न सकेको छैन ।

वीरमा उपचारका लागि १२ बजेसम्म टिकट काट्न भ्याइएला भन्दै हस्याङफस्याङ गर्दै आइपुगेकी जोरपाटीकी भावना क्षेत्री १२ बजेसम्म टिकट काट्न भ्याइन्छ भन्दै हस्याङफस्याङ गर्दै पौने १२ तिर आइपुगिन् । तर, उनलाई कर्मचारीले एक घण्टा कुर्न भने ।

‘टिकट काट्न १ बजेसम्म कुर्नुप‍र्‍यो काटिसकेपछि डाक्टर भेट्न अर्को एक घण्टा । बिरामीलाई पीडामाथि पीडा’, उनले गुनासो गरिन् ।

टोकन प्रणाली चुस्त नहुँदा, सिस्टमले काम नगर्दा अधिकांश बिरामी छट्पटाएरै पालो कुर्न बाध्य हुन्छन् ।

भक्तपुर सल्लाघारीमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा त झन् कर्मचारीको सिफ्ट फेरिने बेला ‘ह्याण्डओभर टाइम’ भन्दै काम नै रोकिन्छ । रगत, दिसा-पिसावजस्ता ल्याव जाँच, भिडिओ एक्सरे, मुटुको परीक्षण, डायलासिस, ट्रान्सप्लान्टका लागि पैसा तिर्नेहरूको लामो लाम छ । तर, काउन्टरको प्वाल ‘ह्यान्डओभर टाइम’ लेखिएको सूचनाले टालिएको हुन्छ । यो समयमा जति लामो लाम भए पनि परवाह नगरी आधा घण्टाभन्दा बढी ‘होल्ड’ गर्ने यहाँको नियम रहेछ ।

एउटा कर्मचारीले अर्को कर्मचारीलाई ड्युटी हस्तान्तरण गर्न लाग्ने यत्रो समयमा कर्मचारीले तपाईंको काम गरिदिने त के कुरा पनि सुन्दैनन् । कर्मचारी छन्, तर बोल्दैनन् । लाइन बसेकाहरूतिर सकभर हेर्दा पनि हेर्दैनन् । खनखन पैसा गनेर पछिल्लो ड्युटीका स्टाफलाई बुझाएपछि मात्रै उनीहरूको बोली फुक्छ ।

यहाँ, सीभिल अस्पतालमा बिहान बिहान ३/४ बजेदेखि लाइन बस्दा पनि टोकन नपाएको, टाढा-टाढाबाट आएका बिरामीले कोटा प्रणालीका कारण त्यत्तिकै फर्कनुपरेको गुनासो त्यत्तिकै सुनिन्छ ।

घण्टौंदेखि लाइन लागेर टिकट काटेकाहरू फेरि तौल र प्रेसर जाँचका पालो कुर्न अर्को सास्ती भोग्नुपर्छ ।

पूर्वमुख्यसचिव कर्मचारीलाई खाजा खान समय चाहिने तर सेवाग्राहीको काम नै भने रोक्न नमिल्ने बताउँछन् । आलोपालो गर्नुपर्ने उनको भनाइ छ ।

‘खाजा खान सबैतिर आधा घण्टा दिने नै गरेको छ । त्यो समयमा आलोपालो गर्दा पनि हुन्छ । अब एकैचोटि जाँदा त अप्ठयारो पर्छ । सरकारले नीति बनाइसकेपछि लागू गर्नुपर्‍यो । लागू गर्ने काम त सामान्य मन्त्रालयको सचिवको हो । लागू हुनुपर्छ । अनि मात्र सुशासन कायम हुन्छ’, उनले भने ।

कोइरालाले आफ्नो पालामा खाजामा आलोपालोको चलन रहेको सुनाए । पछि कर्मचारीहरूले अटेर गरेर आलोपालो प्रणाली हटेको उनले बताए ।

‘हाम्रो पालामा अवधि तोकिएको थिएन । खाजा खान आधा घण्टा छुट्याइएको थियो । हामी त आलोपालो गर्थ्यौं सबै एकैचोटि नजाउँ आलोपालो जाउँ भन्थ्यौं । पछि त्यो नियम नै तोडेपछि त मनलाग्दी भइहाल्यो । अहिलेसम्म त्यही थिति बसेको छ ।’

यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहप्रवक्ता सन्तोषप्रसाद दाहाललाई सोध्दा उनी यसको व्यवस्थापन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने भएकाले उतै सोध्न भनेर पन्छिए ।

क्याबिनेटले निर्णय गरेको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जिम्मेवार हुँदैन र ? भन्ने जिज्ञासामा उनले भने, ‘कर्मचारीको खटनपटनको फायल हामीले उठाउने हैन । सामान्यमा बुझ्नुस् न है ।’

सामान्यका सहप्रवक्ता एवं सूचना अधिकारी अश्विनकुमार पोखरेलले आफ्नो मन्त्रालय मातहतका कर्मचारी भने खाजाको समयमा आलोपालो नै गर्ने दाबी गरे ।

उनले नेपाल प्रेससँग भने, ‘हाम्रो सेवाग्राहीको भीडभाड भइरहने कार्यालय पनि छैनन् । काम नै रोकेर खाजा खाने चलन पनि छैन । अरु कार्यालयमा कस्तो व्यवस्था मिलाइएको छ सम्बन्धित हाकिम र मन्त्रालयले नै जान्ने कुरा हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर