गठबन्धनका दलले बजेट पारित गर्न नसक्ने भनेपछि देउवाको निर्देशन – पूरक बजेटको तयारी गर्नू – Nepal Press

गठबन्धनका दलले बजेट पारित गर्न नसक्ने भनेपछि देउवाको निर्देशन – पूरक बजेटको तयारी गर्नू

कैलाली । असार १ गते सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट प्रति सत्ता गठबन्धनकै सांसदहरूले तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

सत्ता गठबन्धनका सांसदहरू केहि दिनदेखि काठमाडौंमा शीर्ष नेताहरूलाई भेटेर बजेट संशोधन नभए पारित गर्न नसकिने अडान राखिरहेका छन् । यस क्रममा आज कांग्रेस सभापति शेरबहादुर देउवालाई माओवादी, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीका सांसदहरूले बजेट माथिको गुनासो राख्दै यथास्थितिमा बजेट पारित गर्न नसक्ने अवस्था रहेको बताएका हुन् ।

देउवा निवासमा करिब ३० मिनेट सम्म भएको छलफलमा माओवादी संसदीय दलका नेता खगराज भट्ट र सांसद शिवसिंह ओली, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी र प्रमुख सचेतक प्रकाश रावल र नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण चौधरी थिए ।

उपस्थित सबैले देउवालाई एकै स्वरमा सुदूरपश्चिम प्रदेशको बजेट संशोधन गर्नुपर्ने बताएका थिए । देउवालाई भेट्न पुगेका पाँचै जनाले बजेट माथिको गुनासो पोखेका थिए ।

देउवा सँगको भेटमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला पनि थिए । उनले पनि यहाँका सांसदहरूको सबै गुनासो सुने । सबै सांसदहरूको गुनासो सुनेपछि देउवाले सुदूरपश्चिम प्रदेशको बजेट संशोधन गर्न लगाउने बताएका थिए । बजेट प्रति धेरै गुनासो आइरहेको छ कांग्रेसकै सांसदहरू पनि सन्तुष्ट छैनन् देउवाले भनेका थिए, पूरक बजेट ल्याउन लगाएर भएपनि तपाइहरूको माग सम्बोधन गर्न भन्छु ।

सुदूरपश्चिम प्रदेशका काङ्ग्रेसकै कमल शाह मुख्यमन्त्री छन् । शेरबहादुर देउवाले सांसदहरूको गुनासो सुनेपछि मुख्यमन्त्री शाहलाई फोन गरेका थिए । उनले मुख्यमन्त्रीलाई फोनमा बजेट प्रति तीव्र गुनासो आएको हुँदा पूरक बजेटको तयारी गर्न निर्देशन दिएका थिए ।

यहाँ कांग्रेस सांसदहरू पनि बजेट प्रति सन्तुष्ट छैनन् । १२ असारमा कांग्रेसकै ६ जना सांसदहरूले पनि भेटेर देउवालाई बजेट प्रति गुनासो पोखेका थिए। कांग्रेसका सांसदहरूले यस अघि नै बजेट प्रति गुनासो राखेको हुँदा आजको भेटमा कांग्रेसका सांसद गएका थिएनन् । यस अघि बजेटको गुनासो गर्न प्रधानमन्त्रीदेखि माधव कुमार नेपालसम्म पुगेका सभामुख भीम भण्डारी कैलाली फर्किएको हुँदा उनी पनि उपस्थित भएनन् ।

अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको भ्रमणमा १३ गते कैलालीबाट निस्किएको टोलीले २० गते भ्रमण सकेर बजेट माथिको गुनासो पोख्न शीर्ष नेताहरूलाई काठमाडौँमा भेटघाट गरिरहेको छ ।

यस अघि प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृह मन्त्री नारायकाजि श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाललाई पनि यस टोलीले भेटघाट गरिसकेको छ ।

सभामुख घिमिरेबाहेक सबैसँग सांसदहरूले सुदूरपश्चिम प्रदेशको बजेट यथास्थितिमा पारित गर्न नसकिने गुनासो गरिरहेका छन् ।देउवालाई भेटेपछि अब उनीहरु शीर्ष नेताको सन्देश बोकेर कैलाली फर्किने तयारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर