कोशीमा यसकारण रोकियो जीवन आचार्यको शपथ – Nepal Press

कोशीमा यसकारण रोकियो जीवन आचार्यको शपथ

शपथग्रहण समारोह माओवादी र एमालेद्वारा बहिष्कार

विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्रीले शपथ लिएकै दिन मन्त्रिपरिषद् विस्तारमा चरम विवाद देखिएको छ । यही विवादका कारण शपथग्रहण समारोहमा गठबन्धनको एक घटक माओवादीका कोही प्रतिनिधि उपस्थित भएनन् । मुख्यमन्त्री उद्धव थापाले पहिलो चरणमा गठबन्धन दलबाट एक-एक जना मन्त्री नियुक्तिको तयारी गरेका थिए ।

माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलो चरणमा मुख्यमन्त्री थापालाई जीवन आचार्य नियुक्ति गर्न भनेअनुसार थापाले आचार्यलाई शपथ गराउन लागेका थिए । आचार्य प्रचण्डका ज्वाइँसमेत हुन् । तर, माओवादी कोशी प्रदेश कमिटीले आचार्यभन्दा सिनियर भन्दै दुर्गाप्रसाद चापागाईँलाई मन्त्री बनाउने भनेपछि जीवनको शपथ रोकिएको स्रोतले बतायो ।

माओवादीले पहिलो चरणमै पार्टीबाट २ जना मन्त्री बनाउनुपर्ने अडान राखेको थियो । तर, गठबन्धनमा छलफल नभएको भन्दै मुख्यमन्त्री थापाले मानेनन् । त्यसकारण माओवादीले मन्त्रीको नाम पठाएन ।

यसअघि हिक्मत कार्की नेतृत्वको सरकारमा चापागाईँ र आचार्य दुवै मन्त्री भएका थिए । उनीहरू मध्येबाटै मन्त्री बनाउने पार्टीभित्र सहमति भए पनि पहिला आचार्यलाई मन्त्री बनाउन खोजिएपछि आन्तरिक विवाद बढेको बताइएको छ ।

मुख्यमन्त्री थापाले कांग्रेसका प्रदीप सुनुवार र नेकपा एसका कमल प्रसाद जबेगुलाई मन्त्रीमा नियुक्त गरेका छन् ।

यसैगरी नेकपा एमालेले पनि शपथग्रहरण समारोह बहिष्कार गरेको छ । असंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेको भन्दै एमालेले शपथ ग्रहण कार्यक्रम बहिस्कार गरेको जनाएको छ ।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेबतीरमण भण्डारीले भने, ‘सभामुखको हस्ताक्षरसहित बनेको सरकार पूर्णतया असंवैधानिक हो असंवैधानिक सरकारको कार्यक्रममा एमाले जाँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर