माधव नेपाल भेट्न पुगेका सुदूरपश्चिमका सांसदले भने- बजेट पारित गर्न नभन्नुहोला फोन अफ हुन्छ – Nepal Press

माधव नेपाल भेट्न पुगेका सुदूरपश्चिमका सांसदले भने- बजेट पारित गर्न नभन्नुहोला फोन अफ हुन्छ

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेटका बिषयमा प्रदेश सभा सदस्यहरू नै रुष्ट छन् ।

बजेटको गुनासो गर्न अन्तर प्रदेश भ्रमणबाटै काठमाडौँ पुगेका अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले आज नेकपा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई भेटेर बजेट असन्तुलित रहेको गुनासो गरेका छन् ।

नेपाल भेट्न सभामुख भीम भण्डारी, माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट र सांसद शिव ओली, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी र सांसद प्रकाश रावल पुगेका थिए ।

कांग्रेसका सांसद मानबहादुर रावल, मेघराज खड्का र बहादुर सिंह थापा पनि उपस्थित थिए । उनीहरुले सामूहिक रुपमा यथास्थितिमा बजेट पारित गर्न नसकिने बताएका थिए ।

उपस्थित सांसदहरूले माधव कुमार नेपाललाई बजेट पारित गर्न दबाब नदिन आग्रह गरेका थिए ।

‘यस्तो बजेट पारित गर्ने कुरा हुँदैन दबाब दिनुभयो भने फोन स्विच अफ हुन सक्छ’ उपस्थित एक सांसदले नेपाललाई सुनाए ।

सभामुख भीम भण्डारीले पनि यस्तो बजेट पारित गर्न नसकिने बताएका थिए ।

‘हामी पनि जनप्रतिनिधि हौँ हामीले पनि बिभिन्न आश्वासन दिएका छौँ हाम्रो बजेट पनि वडाध्यक्षलाई हाल्दिन भन्नु पर्ने स्थिति आयो’ सभामुख भण्डारीले नेपाललाई भने ।

यस्तो अवस्थामा बजेट पारित गर्न संसदीय दलले निर्णय गर्न सक्ने बताएका थिए ।

माधव कुमार नेपाललाई विमानस्थलमा स्वागत गर्न पुगेका यहाँका सांसदहरूलाई नेपालले ३ बजे आफ्नो निवासमा आउन भनेका थिए । नेपालको निवास कोटेश्वरमा पुगेका सांसदहरूको गुनासो सम्बोधन गर्ने नेपालले आश्वास दिए ।

यस अघि सांसदहरू प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र झलनाथ खनाललाई पनि बजेट यथास्थितिमा पारित गर्न नसकिने बताइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर