दुई मन्त्री, दुई सभापति र उपसभामुख दिएर नागरिक उन्मुक्तिलाई सुदूरपश्चिम सरकारमा ल्याउने तयारी – Nepal Press

दुई मन्त्री, दुई सभापति र उपसभामुख दिएर नागरिक उन्मुक्तिलाई सुदूरपश्चिम सरकारमा ल्याउने तयारी

कैलाली । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सरकारका आउने करिब टुङ्गो लागेको छ । आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह र नागरिक उन्मुक्ति पाटीका संरक्षक रेशम चौधरीबीच भएको छलफलबाट करिब नागरिक उन्मुक्ति पार्टी सरकारमा आउने टुङ्गो लागेको हो ।

मुख्यमन्त्री शाह र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा नागरिक उन्मुक्तिका संरक्षक चौधरीसँग वार्ता गर्न कैलालीबाट बर्दिया पुगेका थिए । उनीहरुबीच ठाकुरद्वारामा संवाद भएको हो ।

उक्त वार्तामा नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डित र प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का सांसद गङ्गा चौधरी पनि थिए । मुख्यमन्त्री शाह नागरिक उन्मुक्तिलाई २ मन्त्री, २ समितिको सभापति र १ उपसभामुख दिन तयार भएको प्रवक्ता पण्डितले जानकारी दिए ।

अहिले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्रीविहीन छन् । नागरिक उन्मुक्तिलाई २ मन्त्रालय दिन मुख्यमन्त्री तयार रहेपनि मन्त्रालयको भने टुङ्गो लागिसकेको छैन ।

यस अघि नागरिक उन्मुक्तिले सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा दाबी गरेको थियो । सुदूर पश्चिममा अहिले चार वटा विषयगत समिति छन् । कुनै पनि समितिमा सभापति चयन भएको छैन ।

तीमध्ये २ नागरिक उन्मुक्तिलाई दिने र उपसभामुख पनि दिने विषयमा करिब सहमति भएको प्रवक्ता पण्डितले जानकारी दिए । अहिले सुदूरपश्चिम प्रदेशमा उपसभामुख एमालेकी कोइली देवी चौधरी छन् ।

यता मुख्यमन्त्री शाहले पहिलो चरणमा छलफल टुङ्गिएको र यस बिषयमा शीर्ष नेताहरूबाटै टुङ्गो लगाउने बताए । ‘हामीबीचको छलफल सहमतिमा छ अब केन्द्रीय नेताहरूले यसको टुङ्गो लागाउनु हुन्छ’ उनले नेपाल प्रेसलाई भने ।

कांग्रेसले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेशमा अहिले कांग्रेस सहित माओवादी र नेकपा एकीकृत समाजवादी सरकारमा छन् । मुख्यमन्त्री शाहलाई विश्वासको मत दिए पनि मन्त्रालय भागवण्डामा कुरा नमिलेपछि नागरिक उन्मुक्ति पार्टी अहिले सम्म सरकारमा सहभागी भएको थिएन । केही दिन भित्रै पार्टी सरकारमा सहभागी हुने प्रवक्ता पण्डितको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर