लाल किल्लामा हुर्किएका उद्धव- कोशीमा बने कांग्रेसको पहिलो मुख्यमन्त्री – Nepal Press

लाल किल्लामा हुर्किएका उद्धव- कोशीमा बने कांग्रेसको पहिलो मुख्यमन्त्री

विराटनगर । प्रजातन्त्र स्थापना हुनुभन्दा अगाडिसम्म झापाको शनिश्चरे बजार आर्थिक र राजनीतिक केन्द्र थियो । इलाम, पाँचथर, ताप्लेजुङलगायतका पहाडी जिल्लामा शनिश्चरेबाटै व्यापार हुने गर्थ्यो । अहिलेको चल्तीको बजार बिर्तामोड बनिसकेको थिएन । दक्षिणी क्षेत्रमा झापाको सदरमुकाम चन्द्रगढी थियो । यो पनि आर्थिक र राजनीतिक केन्द्र थियो ।

आर्थिक केन्द्र शनिश्चरे बजारमा घर थियो फत्तेबहादुर बुढाथोकीको । उनी १५ सालमा सांसद बनेका थिए । झापा विद्रोहको केन्द्र शनिश्चरे, बुधबारे बजार थियो । २०२९ पुस १० गते राष्ट्रिय पञ्चायतका पूर्वसांसद धर्मप्रसाद ढकालको शनिश्चरे गाउँमा हत्या भएको थियो ।

२०२९ वैशाख २६ गते बुटन चौधरीको साल बारी क्षेत्रमा हत्या भएको थियो, जुन शनिश्चरे नजिकै हो । किसान विद्रोहको बेला धर्म भकारीमा राखिएको अन्न हिनामिना गरेको भन्दै बुटनको हत्या भएपछि झापा विद्रोहमा खास दमन सुरु भएको थियो । झापा विद्रोहमा संलग्नहरूलाई सेल्टर दिने र सहयोग गर्ने गर्थे शनिश्चरेका शिवप्रसाद सिवाकोटी, मानकुमार तामाङ, मनकुमार गौतम, खडानन्द वाग्ले, नारद वाग्लेलगायत । बुधबारे शनिश्चरे क्षेत्र त्यो बेला वामपन्थीहरूको किल्ला जस्तै थियो । कम्युनिष्टको किल्ला शनिश्चरे, त्यसमाथि पञ्चायतको दमन ।

फत्तेबहादुरको संगतका कारण यस्तो बेलामा शनिश्चरेमा डा. शङ्कर उप्रेती, पूर्ववन राज्यमन्त्री वीरमणि ढकाल, कुमार बुढाथोकी भने कांग्रेससँग नजिक भएर भूमिगत रूपमा काम गर्थे । उनीहरूकै सम्पर्कमा आए उद्धव थापा । विद्यार्थी कालमै २०३४ देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थापा २०३६ सालको जनमत सङ्ग्रहका बेला बीपी कोइरालाको सुरक्षा दस्तामा सामेल भए ।

प्रदेश प्रमुख परशुराम खापुङ्गबाट मुख्यमन्त्रीको नियुक्ति पत्र लिँदै थापा ।

बीपी कोइरालाको सुरक्षा दस्ताबाटै उनी पञ्चायतको विरोध गर्दै बहुदलको प्रचारमा सामेल भए । थापा फक्तेबहादुरमार्फत बीपी कोइरालाको सामिप्यमा पुगेका थिए । २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि बीपीले हरेक शनिबार काठमाडौंमा तरुण, युवा, विद्यार्थीहरुलाई दिने राजनैतिक प्रशिक्षणमा नियमित सहभागी भएका थापाले अनेक कष्ट, दुःख र यातना भोगेका छन् ।

२०३६ सालको जनमत संग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन, २०६२/६३ को लोकतान्त्रिक जनआन्दोलनमा सक्रियतापूर्वक आन्दोलनको अग्र मोर्चामा रहेर निरंकुशताका विरुद्ध थापा चार दशक झापामा उभिएका छन् । २०३६ सालको जनमत संग्रहताका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति बीपी कोइरालाको सुरक्षा दस्तामा तरुण, विद्यार्थीको रुपमा क्रियाशील थिए ।

२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको हत्या गरेर सम्पूर्ण शक्ति आफ्नो हातमा लिएपछि थापाले झापाको चारआलीस्थित तत्कालीन शाही नेपाली सेनाको कठोर सैन्य हिरासत (बंकर)मा कठोर यातना र बर्बर शाही दमनको सामना गर्नुपर्‍यो ।

उनले नेपाली कांग्रेस अर्जुनधारा गाउँ समितिको सचिव भएर काम गरे । त्यसपछि उनी सोही गाविसको सभापति र झापा क्षेत्र नं २ को सभापति बने । क्षेत्रीय सभापति बनेपछि थापा झापा कांग्रेसको जिल्ला सचिव भए । झापा काँग्रेसको जिल्ला उपसभापति समेत भएर काम गरेका उनी पहिलो पटक विश्वप्रकाश शर्मालाई हराएर झापा कांग्रेस जिल्ला सभापति निर्वाचित भएपछि एकाएक चर्चामा आए । अर्को कार्यकालका लागि भने उनी सर्वसम्मत जिल्ला सभापतिमा चुनिए ।

थापाको राजनीतिमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला सधैं दाहिना भए । झापा सभापतिमा विश्वप्रकाशलाई हराउन होस् या प्रदेश सभापति गुरुराज घिमिरेलाई हराउन होस्, सिटौलाको साथ र सहयोग थापालाई निरन्तर रह्यो । उनले कांग्रेसको १४औं महाधिवेशनमा २ मतान्तरले गुरुराज घिमिरेलाई हराएका थिए ।

१४औं महाधिवेशनमा सिटौला पार्टी सभापति शेरबहादुर देउवा क्याम्पमा पुगेसँगै थापा कोशी प्रदेशको राजनीतिमा शक्तिमा आएका हुन् । जसअनुसार १४औं महाधिवेशनमा देउवा लाइनबाट उनी सभापति उमेदवार बनेका थिए । थापा दुई पटक प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । उनी २०७० र २०७४ को निर्वाचनमा झापा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका थिए । दुवै पटक पराजित उनी यसपटक समानुपातिकतर्फबाट कोशी प्रदेशसभामा निर्वाचित भए । थापाले दलको नेता पनि उसैगरी जितेका छन् ।

प्रदेशसभामा २९ सीट रहेको कांग्रेस संसदीय दलको चुनावमा उनले १८ मत पाए । उनका निकटतम प्रतिस्पर्धी केदार कार्कीले ९ मत पाउँदा देउवा लाइनका अमृत अर्यालले २ मतमात्रै पाए ।

बीपी कोइरालाको सुरक्षा दस्ताबाट कांग्रेस राजनीतिमा थापाले उतारचढावपूर्ण यात्रा तय गरेका छन् । सिटौला खेमाबाट प्रदेशको राजनीतिमा आएका उनी थापा कांग्रेसको प्रदेश सभापति हुँदै कोशी प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका छन् ।

थापाले वाणिज्यशास्त्रमा स्नातक गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर