परीक्षा बोर्डको नजरमा यी फ्याक्टर : जसले गर्‍यो एसईई रिजल्ट सुधार – Nepal Press

परीक्षा बोर्डको नजरमा यी फ्याक्टर : जसले गर्‍यो एसईई रिजल्ट सुधार

काठमाडौं । यस वर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) काे नतिजामा सुधार भएकाे छ । आज राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेकाे  एसईईकाे नतिजा गत वर्षको भन्दा सुधार भएकाे हाे ।

प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो । अघिल्ला वर्षमा कोभिड– १९ का कारण भौतिक माध्यमबाट पढाइ नभएको र विद्यार्थीले पर्याप्त तयारी गर्न नपाएकाले नतिजा कमजोर रहेकामा हाल नियमित पठनपाठनले त्यसमा सुधार आएको विश्लेषण गरिएको छ ।

भर्खरै सार्वजनिक गरेको नतिजाअनुसार ३.६० देखि ४ ग्रेड ल्याउनेको संख्या २२४७५ जना छन् । यो प्रतिशतमा ४ दशमलब ६३ हुन आउँछ । गत साल ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए । नन ग्रेड ल्याउनेको संख्या २.८९ प्रतिशत अर्थात १३ हजार ९९२ रहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्षको एसईईको नतिजामा सुधार भएको बताए । एसईईको नतिजा सार्वजनिकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शर्माले यही कारणले यस वर्षको नतिजामा सुधार भएको भन्न नसकिने बताए । विद्यालयहरुमा पठनपाठन, विद्यार्थीकाे अध्यनन र प्रश्नपत्रका कारण पनि नतिजामा सुधार भएकाे हुन सक्ने बाेर्डका पदाधिकारीहरुकाे भनाइ छ ।

बाेर्डका अध्यक्ष शर्मा भने,‘ यसमा एउटा गत वर्षको अवस्था हेर्दा महामारी लगतै थियौं र त्यो महामारीको कारण परीक्षार्थीहरुले तयारी गर्न नसकेको अवस्था थियो । तर अनलाइनको माध्यमबाट पठनपाठन गर्नुपरेको अवस्था थियो भने अहिले सबै विद्यालयले भौतिक उपस्थितिमै विद्यार्थीहरुलाई पठनपाठन गराउने र अब यसरी नतिजा सार्वजनिक हुन्छ भन्ने हिसाबले र विद्यार्थीले पनि गत वर्ष भन्दा यस वर्ष राम्रो तयारी गरेकाे र  बोर्डले सञ्चालन गर्ने परीक्षाका टुलहरु प्रश्नपत्रहरु त्यसमा गरिएको सुधारहरुबाट पनि यसमा सुधार भएको हुनसक्छ भन्ने हामीलाई लागेको छ ।यो मात्रै हो भनेर हामीले अध्ययन नगरी भन्न सक्दैनाै‌ं ।’

विगत भन्दा यो वर्ष राम्रो नतिजा हुनुमा विद्यार्थीहरुको नियमित पठनपाठन भएको उनी बताउँछन् । परीक्षा प्रणालीको सुधार र कक्षाकोठाको वातावरणमा सुधार आएमा नतिजामा सुधार आउने भन्दै समग्र नतिजाको मूल्याकङ्कनबारे विस्तृत अध्ययनपछि के आधारमा सुधार आयो भन्न सकिने बताए ।

यो वर्ष विद्यार्थीहरुले पढ्न समय पाएकाले नतिजा राम्रो हुनुको एउटा पक्ष हो । अर्को पक्ष परीक्षा प्रणालीको सन्दर्भमा केही परिवर्तन (स्तरीकृत) प्रश्नपत्र गरेका छौं यसले पनि केही विद्यार्थीहरुको क्षमताको कुराहरु केही फरक परेको हुन सक्छ भन्ने हाम्रो अनुमान छ ।’ उनले भने

कसैको कमजोर नतिजा आएको खण्डमा मौका परीक्षा हुने र पुरक परीक्षा साउनको अन्तिम सातामा गर्ने गरी तयारी गरेको बोर्डले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर