एमालेलाई माओवादीको जवाफ- मध्यरातमा ‘रअ’ प्रमुखसँग भेटदेखि संसद् विघटनको तथ्य जनताले बुझिसकेका छन् – Nepal Press

एमालेलाई माओवादीको जवाफ- मध्यरातमा ‘रअ’ प्रमुखसँग भेटदेखि संसद् विघटनको तथ्य जनताले बुझिसकेका छन्

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल एमालेबाट भ्रामक प्रचार गरेको भन्दै आपत्ति जनाएको छ ।

पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु एमालेको गलत चाहना पूरा गर्ने अभिष्टताबाहेक केही नभएको टिप्पणी गरेका छन्। लोकतन्त्रको अभ्यास गर्ने थलो संसद् समेत अवरोध गरिएकोप्रति आक्रोश पोखेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटकपटक संसद् विघटन गर्ने, जनताका मुद्दामा कानुन बनाउन खोज्दा संसद् अवरोध गर्ने, भ्रष्टाचारीको छानविन र फाइल खोल्दा गैरजिम्मेवार बन्ने जस्ता पात्र र प्रवृत्तिले गर्दा प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझिसकेका छन् ।’

‘पानी धमिल्याएर माछा मार्न खोज्ने’ प्रवृत्ति फेरि पनि ‘के निउ पाऊँ, कनिका बुकाऊँ’ भने जस्तै भ्रामक र दुराशययुक्त प्रचारबाजीमा उत्रिएर गरिएका हर्कतप्रति भत्र्सना गरेको उल्लेख छ ।

राष्ट्रियता, गणतन्त्र र जनजीविकाका पक्षमा दृढतापूर्वक उभिन पार्टीपङ्क्ति र जनसमुदायमा आह्वान समेत गरेका छन् ।
उनले सरदार प्रितम सिंह र प्रधानमन्त्री प्रचण्डका बीचमा औपचारिक मात्र नभएर भावनात्मकरुपमा समेत प्रगाढ सम्बन्ध रहेको प्रष्ट्याएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर