घोराही सिमेन्टको आईपीओ भरेकाहरुले यसरी गर्न सक्छन् आवेदन रद्द – Nepal Press

घोराही सिमेन्टको आईपीओ भरेकाहरुले यसरी गर्न सक्छन् आवेदन रद्द

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपीओ शुक्रबार पुनः खुला हुने भएको छ । बिक्री प्रवन्धक हिमालयन क्यापिटलले शुक्रबार बिक्री खुलाउने तयारी भएको जनाएको छ ।

क्यापिटलका चिफ अपरेटिङ अफिसर रामप्रसाद भट्टराईले सम्भवतः भोलि यसबारे सूचना प्रकाशित हुने बताए । त्यही सूचनाको आधारमा आवेदन दिएकाहरुले पनि रद्द गर्न पाउनेछन् । आवेदन रद्द गर्न सिआस्वा बैंक (जसले जुन बैंकबाट आवेदन दिएको छ सोही बैंक) मा व्यक्ति उपस्थित भएर निवेदन दिनुपर्नेछ । सोही निवेदनको आधारमा बैंकले आवेदन रद्द गर्न सक्नेछ ।

यदि कसैले आवेदन दिएकोभन्दा बढी कित्ताका लागि आवेदन दिन चाहे पनि सोही प्रक्रिया अपनाउनुपर्ने क्यापिटलले जनाएको छ ।

कम्पनीले जेठ ३२ गते सर्वसाधारणका लागि कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ निष्कासन गरेको थियो । यसले १०० अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले आईपीओ खुला गरेको थियो ।

असार ४ गते निष्कासन गरेकोभन्दा बढी आवेदन परिसक्दा पनि कम्पनीले फेरि असार १४ गतेसम्म समय थप गरेको थियो । १ करोडभन्दा बढीको फर्जी आवेदन परेको खुलासा भएपछि कम्पनीको नियतमै शंका उब्जिएको भन्दै नेपाल धितोपत्र बोर्डले असार ४ गते नै आईपीओ निष्कासनको सबै प्रक्रिया स्थगित गरेको थियो ।

सोको प्रारम्भिक अनुसन्धान सार्वजनिक गर्दै बोर्डले बुधबारमात्रै आईपीओ पुनः खुला गर्न सक्ने र आवेदन दिएकाहरुले रद्द गर्न सक्ने व्यवस्था गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर