जब मन्त्री नै आफ्नो योजना नपरेपछि चकित भए – Nepal Press

जब मन्त्री नै आफ्नो योजना नपरेपछि चकित भए

हेटौंडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले बजेट प्रस्तुत गरेपछि आफू चकित भएको बताए छन् ।

आफ्नै मन्त्रालयको बजेट काटिएको बजेट किताब हेरेपछि मात्रै थाहा पाएको भन्दै उनले आफ्नै गठबन्धनको सरकारको विरोध गरेका हुन् ।

आर्थिक वर्ष २०८०÷०८१ को बजेमाथिको छलफलको क्रममा आज दिउँसो बसेको प्रदेशसभाको बैठकमा मन्त्री श्रेष्ठले आफ्नै मन्त्रालयको बजेटको शीर्षक नै काटिएको बताएका हुन ।

प्रदेश संचित कोष बाट केही रकम खर्चगर्नेगरी व्यवस्था गर्न बनेको विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले आफूले पठाएको योजानको शीर्षक नै काटिएको विषय आफूले बजेटको किताब प्रकाशनपछि मात्र थाहा पाएको उल्लेख गरे ।

उनले भने, ‘विभिन्न जिल्लाहरुमा निर्माण गर्दै आएको शान्तिपार्कलाई निरन्तरता दिन मन्त्रालयको तर्फबाट बजेट प्रस्ताव गरि पठाइएकोमा बजेट पुस्तिका हेरेपछि मात्र थाहा भयो मन्त्रालयले प्रस्ताव गरी पठाएको योजनाको शीर्षक नै रहेनछ, मन्त्रालयले प्रस्ताव गरि पठाएका अरु पनि महत्वपूर्ण योजनाहरु बजेट पुस्तिकामा हटाइएको रहेछ, योजनाहरुको शीर्षक नै कसरी हट्यो, म आफैं आश्चर्यमा परेको छु ।’

मन्त्री श्रेष्ठले सीसीटिभिमा एकमुष्ट ५ करोड प्रस्ताव गरिएको आफूले थाहा पाएको भन्दै उनले महत्वपूर्ण योजनामा २ करोड घटाइ तीन करोड मात्रै विनियोजन कस्ले गरेको हो ? भन्दै प्रश्न समेत गरे । केहि मन्त्रीहरुले आफ्नो भोट बैँक सुरक्षित गर्ने सोचकासाथ योजना ल्याइएको भन्दै दुख समेत व्यक्त गरे ।

मन्त्री श्रेष्ठले राप्रपाका प्रदेशसभा सदस्यलाई लक्षित गर्दै उहाँहरुले उठान गरेको राजतन्त्रको माग आफूहरुलाई किमार्थ स्विकार नहुने बताए । जनताको बलादानीबाट आएको उपलब्धीलाई उल्टाउने काम अव संभव नहुने उनको भनाइ रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर