कोशी प्रदेश : सभामुखलाई माओवादी गनेर गठबन्धनले साढे ४ बजे सरकार गठनको दाबी गर्ने – Nepal Press

कोशी प्रदेश : सभामुखलाई माओवादी गनेर गठबन्धनले साढे ४ बजे सरकार गठनको दाबी गर्ने

विराटनगर । नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन दाबीसहित कोशी प्रदेशका गठबन्धन दल साढे ४ बजे प्रदेश प्रमुखकोमा जाने तयारीमा लागेका छन् ।

राप्रपाले साथ नदिएपछि सभामुख बाबुराम गौतमलाई समेत माओवादीको सदस्य गनेर गठबन्धन दलले बहुमत जुटाएका हुन् । बहुमतको कसरतका लागि काठमाडौं पुगेका दलका नेताहरू आज विराटनगर आइपुगेका छन् ।

साढे ४ बजे सांसदहरूको हस्ताक्षर संकलनसहित प्रदेश प्रमुखकोमा जाने कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताए । मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख परशुराम खापुङ्गले गरेको सरकार गठनको आव्हान आज साँझ ५ बजेबाट सकिँदैछ ।

गठबन्धन नेतृत्वले यहाँ उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । आज मुख्यमन्त्री नियुक्तिपछि भोलि मन्त्रीमण्डल विस्तारको तयारी छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने र मन्त्रीहरू क-कसलाई पठाउने भन्ने विषयमा भोलिमात्रै छलफल हुने बताए ।

कोशी प्रदेशको गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखबाहेक १२, नेकपा एसका ४ र जसपाका १ गरी ४६ सीट छ । सभामुखलाई दलको सदस्य मानेर गठबन्धनले बहुमत पुर्‍याउन खोजेको हो । एमाले-राप्रपा गठबन्धनसँग पनि ४६ सांसद छन् ।

दलको सदस्यता त्यागिसकेका सभामुखलाई सरका गठनको प्रक्रियामा मुछ्‍न नहुने संविधानविद्हरूले बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर