प्रधानमन्त्री सचिवालयको जिकिर- राजीनामा माग्नु भ्रष्टाचारविरोधी अभियान रोक्ने मनसाय – Nepal Press

प्रधानमन्त्री सचिवालयको जिकिर- राजीनामा माग्नु भ्रष्टाचारविरोधी अभियान रोक्ने मनसाय

प्रितम सिंहसँग पारिवारिक सम्बन्ध भएको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले असार १५ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेकोप्रति आपत्ति जनाएको छ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले एक विज्ञप्ति जारी गर्दै जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेश लगत्तै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट संक्रमित भएपछि ०६७÷०६५ सालमा सिंहको दिल्लीस्थित घरमा बसेर नै उहाँको उपचार प्रक्रिया अगाडि बढेको र छोरीको उपचारका क्रममा उहाँको भारतमा आउजाउ हुने गरेको थियो । सोही क्रममा सिंहका नातिसँग प्रधानमन्त्री प्रचण्डका सुपुत्र प्रकाश दाहालको सम्बन्ध घनिष्ठ बनेको र उहाँहरूको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिकसमेत हुँदै गएको थियो ।’

संसदबाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसदप्रति जबाफदेही रहेको उल्लेख गरेको छ।

‘संसदमा प्रष्टीकरणको मौकासमेत नदिई उहाँको भनाइको आशय विपरीत एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण छ । दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ’, विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर