प्रोत्साहन रकमले स्वयंसेविकामा ल्याएको खुसी ! – Nepal Press

प्रोत्साहन रकमले स्वयंसेविकामा ल्याएको खुसी !

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका–२ ठोकर्पाकी शिवकुमारी मल्ल उमेरले वृद्धा भइसकेकी छन् । उमेरले वृद्धा भएपनि गाउँमा स्वास्थ्य सम्बन्धी केही समस्या हुन साथ रात,बिहान नभनी त्यहाँ पुग्ने गर्छिन् ।स्वास्थ्य मन्त्रालयले गाउँ गाउँमा महिला स्वास्थ्यस्वयंसेविका राखेर स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने उदेश्यले गाउँमा स्वयंसेविका राख्न सुरु गरेको थियो ।

महिला स्वास्थ्य स्वमंसेविकाहरुको गाउँघर तथा दुर्गम ठाउँमा उल्लेखनीय भुमिका रहेको छ, जहाँका मानिस डाक्टरको पहुँचमा हुँदैनन् त्यस्ता ठाउँमा त मल्ल जस्ता सयौ स्वमंसेविकाहरु डाक्टरकै भुमिकामा हुने गर्दछन् । सामान्यभन्दा सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविका भएर काम गरेको मल्लले ३५ वर्ष भइसकेको छ ।

२०४५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविका भएर ठोकर्पाका दुर्गम बस्तीहरु मल्लले चाहारेकी छन् । नामै स्वयंसेविका भएपछि राज्यले दिने खासै त्यस्तो ठुलो सुविधा केही पनि छैन तर पनि उनी जतिबेला पनि महिला र बालबालिकाहरुको स्वास्थ्यप्रति चनाखो हुन्छिन् ।

मल्ल मात्रै होइन सुनकोशी–१ ठोकर्पाकी अर्की स्वयंसेविका सुन्तली अधिकारी पनि ४५ सालदेखि नै स्वयंसेविका भएर काम गरिरहेकी छन् । झरी,वर्षा केही नभनी उनी प्रत्येक महिलाहरुको घर–घरमा पुगेर स्वास्थ्य सम्बन्धी सचेतना मात्रै होइन कोही गर्भवती भए भन नियमित रुपमा स्वास्थ्य परिक्षण गर्न स्वास्थ्य संस्थामा जानु पर्छ भनेर महिलाहरुलाई सल्लाह दिने गरेकी छन् भने कोही गर्भवतीले घरमै असुरक्षित रुपमा सुत्केरी गराउन खोजे भने स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउनु पर्छ भन्दै घर–घरमा जाने गरेकी छन् ।

मल्ल र अधिकारी जस्तै सुनकोशी गाउँपालिकाभर ५४ जना महिला स्वास्थ्य स्वमंसेविकहरु लामो समयदेखि कार्यरत छन् । स्वास्थ्य स्वमंसेवीकाहरुको काम धेरै भएपनि उनीहरुले पाउने सम्मान र सुविधा भने केही पनि छैन । राज्यले बार्षिक रुपमा १० हजार पोशाक भत्ता र यातयात खर्च बापत जम्मा १२ हजार स्वमंसेवीकाहरुलाई उपलब्ध गराउने छ ।

समाजमा महिला स्वास्थ्य स्वमंसेविकाहरुको भुमिका उल्लेख भएपनि सेवा र सम्मानमा भने केही नभएपछि सुनकोशी गाउँपालिकाले भने मासिक रुपमा स्वमंसेविकाहरुलाई १५ सय उपलब्ध गराउन सुरु गरेको छ । स्थानीय सरकारले थोरै भएपनि सहयोग गरेपछि स्वास्थ्य स्वमंसेविकाहरुको मुहारमा खुसी देखिएको छ ।

गाउँपालिकाले मासिक रुपमा उपलब्ध गराउने १५ सय, यातयात खर्च ४ सयसहित संघीय सरकारले उपलब्ध गराउने पोशाक भत्ता र यातायात खर्च सबै गरी एकमुष्ट ३९ हजार ३ सय नगदै उपलब्ध गराएपछि स्वमंसेविकाहरु खुसी भएका छन् । सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना र उपाध्यक्ष कान्छि लामाले स्वमंसेविकाहरुलाई एकमुष्ट रकम र स्वास्थ्य सम्बन्धी सामग्री हस्तान्तरण गरेका थिए ।

‘पालिकाले थोरै भएपनि सहयोग गरेकोमा खुसी छौ तर प्रदेश सरकारले दिने २ हजार काटेछ् त्यसमा दुःख लागेको छ’ महिला स्वास्थ्य स्वयंसेविका मैना पराजुलीले भनिन् । ‘गाउँपालिकाको डालो सानो छ,हामीले सकेको सहयोग गरेका छौं’ सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले भने,‘आगामी आर्थिक वर्षदेखि मासिक रुपमा २ हजार उपलब्ध गराउने छाैं‌।’

प्रदेश सरकारले मासिक रुपमा पाउदै आएको सुविधा कटौती गरेपनि गाउँपालिकाले थप रकम दिने भनेपछि महिला स्वास्थ्य स्वमसेविकाहरु खुसी भएका थिए । सुनकोशी गाउँपालिकाको सातै वडामा ५४ जना महिला स्वास्थ्य स्वमंसेविकाहरु लामो समयदेखि महिला र बालबालिकाहरुको स्वास्थ्यका लागि निरन्तर खटिरहेको सुनकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द हायुले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर