‘कर्मकाण्डी’ छलफल फास्ट ट्र्याकमा सकेर बुधवार राती लुम्बिनीको बजेट बहुमतले पारित – Nepal Press

‘कर्मकाण्डी’ छलफल फास्ट ट्र्याकमा सकेर बुधवार राती लुम्बिनीको बजेट बहुमतले पारित

रुपन्देही । लुम्बिनी प्रदेश सभामा बजेटको कर्मकाण्डी छलफल फास्ट ट्र्याकमा सकेर बुधवार राती बहुमतले पारित भएको छ ।

बुधवार तीन चरणको बैठक बसालेर बजेटका विषयमा सामान्य छलफल तथा अन्य आवश्यक विधेयक पास गरिएको थियो । बुधवारको पहिलो बैठकमा विशेष समयमा विपक्षी दलका १५ जना सांसदलाई मात्र बोल्न दिइएको थियो ।

प्रदेशसभाको दोस्रो अधिवेशनको १८ औँ बैठकले असार १ गते प्रस्तुत गरिएको बजेट बहुमतले पारित गरेको हो ।

प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गरेको सभामुख तुलाराम घर्तीले घोषणा गरे ।

आर्थिक वर्ष २०८०/०८१ का लागि ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार रुपैयाँ बराबरको बजेट ल्याएका हुन् । सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गर्दै आएको थियो । जसका कारण चार पटकसम्म सदन अवरुद्ध हुन पुगेको थियो ।

मङ्गलवार राती मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भएको वार्तापछि संसद् बैठक सुचारु भएको थियो । आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेको थिए । उक्त प्रस्ताव ध्वनि मतको आधारमा बहुमतले पारित भएको घोषणा सभामुख घर्तीले गरे ।

सरकारले असार १ मा ल्याएको बजेट चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार थियो । त्यस्तै, वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख छ । जुन चालुतर्फ ३३.६८ प्रतिशत, पूँजिगततर्फ ५७.४५ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ८.८७ प्रतिशत रहेको छ ।

आगामी वर्ष आन्तरिक राजश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख, संघबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, संघबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजश्व २ अर्ब ५० करोड ३० लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।

त्यस्तै, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानबाट ८४ करोड, विशेष अनुदानबाट ५६ करोड, चालु आर्थिक वर्षको नगद मौज्दातबाट ३ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब २५ करोड परिचालन हुने अनुमान रहेको छ । चालु वर्ष २०७९/८० मा ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट आएको थियो । तर, यो पटक २ अर्ब १५ करोड कम बजेट आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर