साफ च्याम्पियनसिपमा लेबनान र कुवेतको सहभागिता, नेपाललाई फाइदा कि घाटा ? – Nepal Press

साफ च्याम्पियनसिपमा लेबनान र कुवेतको सहभागिता, नेपाललाई फाइदा कि घाटा ?

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपमा भारत फेरि एकपटक विजेता बन्यो । अघिल्ला १३ संस्करणमध्ये १२ वटामा फाइनलमा पुगेको र ८ पटक विजेता बनेकाले भारत फेरि साफ च्याम्पियन बन्नु नौलो होइन ।

तर, यसपटक घरेलु मैदानमा आयोजित साफ च्याम्पियनसिपको उपाधि जित्नु भारतका लागि विशेष बन्यो, विभिन्न कारणले । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले इतिहासमा पहिलोपटक गैरसदस्यलाई प्रतियोगितामा सहभागी गराउने निर्णय गरेको थियो । बलिया टोलीहरु कुवेत र लेबनानलाई खेल्न निमन्त्रणा गरिएको थियो ।

‘साफ च्याम्पियनसिपको स्तर र बजार बढाउन विभिन्न देशलाई निमन्त्रणा गरिएको थियो । ठूला प्रायोजक पनि प्राप्त हुने, प्रतियोगिताको स्तर र दर्शक पनि बढ्ने साफको अपेक्षा हुनसक्छ’, फुटबलका जानकार विक्रम थापा भन्छन् ।

साफको आग्रह स्वीकार गर्दै दुवै टोली ७ देशले मात्र प्रतिस्पर्धा गर्दै आएको यो प्रतियोगिता खेल्न भारत ओर्लिएका थिए । कुवेतसँग एक पटक विश्वकप र १० पटक एसिया कप खेलेको अनुभव छ । उसले सन् १९८० को एसिया कप नै जितेको थियो ।

यता लेबनानले पनि दुईपटक एसिया कप खेलेको छ । लगातार दोस्रोपटक छनोट हुँदै कुवेत यसै वर्ष कतारमा उत्रँदैछ ।

नियमितजसो एसिया कप खेलिरहेको कुवेत आगामी संस्करणमा भने छनोट हुन सकेको छैन । यता साफ सदस्यतर्फ हेर्ने हो भने एसिया कपमा भारतले सन् २०११ यताका एउटा संस्करणमात्र खेलेको छैन ।

सन् १९६४ मा आयोजित संस्करणमा फाइनलसम्म पुगेको थियो । बंगलादेश एकपटक एसिया कप खेले पनि ४३ वर्षयता छनोट हुन सकेको छैन । माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भुटान र नेपालले हालसम्म एसिया कप खेल्न सकेका छैनन् ।

यीमध्ये पाकिस्तान, भुटान र नेपालले साफ च्याम्पियनसिप पनि जित्न सकेका छैनन् । नतिजाका हिसाबले एसियाली फुटबल महासंघअन्तर्गत विभिन्न क्षेत्रीय प्रतियोगितामध्ये साफ च्याम्पियनसिप कमजोर मानिन्छ ।

फिफा वरियतामा हाल भारत १००, लेबनान १०२, कुवेत १४१, मालदिभ्स १५४, नेपाल १७५, भुटान १८४, बंगलादेश १९२, पाकिस्तान २०१ र श्रीलंका २०७ औं स्थानमा रहेका छन् ।

‘वरियतामा भारतभन्दा पछाडि रहे पनि कुवेत र लेबनान एसियाका बलिया टोली हुन् । उनीहरुको प्रदर्शन र नतिजाले त्यही देखाउँछ’, एक दशकभन्दा बढी समयदेखि फुटबल केन्द्रित अनलाइन गोल नेपाल डटकम चलाइरहेका थापा भन्छन् ।

भारतका लागि यसपटक उपाधि जित्न यी नै दुई टोलीलाई पाखा लगाउनुपर्ने चुनौती थियो । हुन पनि सेमिफाइनलमा लेबनान र फाइनलमा कुवेतसँग भारतको भिडन्त पर्‍यो । गैरसाफ सदस्यले यो प्रतियोगिता जित्न सक्ने स्वाभाविक अनुमानलाई भारतले गलत सावित ग¥यो ।

फुटबल खेलाडी संघका अध्यक्ष तथा थ्रीस्टारका पूर्वकप्तान विक्रम लामा भारतले लेबनान र कुवेतलाई हटाएर दक्षिण एसियाली फुटबल साफभन्दा बाहिर जान खोजेको बताउँछन् ।

‘भारतले गैरसाफ सदस्यलाई हराउँदै उपाधि जितेर साफमा मात्र सीमित नभएको संकेत गरेको छ’, लामा भन्छन् ।

सेमिफाइनल र फाइनल दुवैलाई टाइब्रेकरसम्म पुर्‍याएर भारतले नतिजा आफ्नो पक्षमा पार्‍यो र एसियाका बलिया टोलीहरुसँग जीत हात पार्न सक्ने मनोबल प्रस्तुत गर्‍यो । ‘भारतले विनिङ मेन्टालिटी देखाइरहेको छ । यो हिजोको आज बन्ने होइन’, थापा भन्छन् ।

साफ च्याम्पियनसिप नेपालले अफिसियल अन्तर्राष्ट्रिय फुटबलमा उपाधि अपेक्षा गर्न सक्ने प्रतियोगिता मानिन्छ । तर, दुर्भाग्य सन् १९९३ देखि भएको यो प्रतियोगितामा नेपाल हरेक पटक सहभागी भइरहे पनि उपाधि जित्न असफल छ ।

इतिहासमा पहिलो पटक २ वर्षअघि नेपाल फाइनलसम्म पुगेको थियो । तर, भारतले ३-० गोलले खेल जितेर निराश बनायो । यस पटक नेपालले सेमिफाइनलमा पनि स्थान बनाउन सकेन । पहिलो चरणमै नेपालको प्रतिस्पर्धा कुवेत, भारत र पाकिस्तानसँग थियो ।
तर, कुवेत र भारतसँग पराजित भएर नेपाल अगाडि बढ्न सकेन ।

प्रतियोगितामा नेपाल सन् २०१५ पछि पहिलोपटक सेमिफाइनल पुग्न असफल भएको हो । आमन्त्रित टोलीको सहभागिताले नेपालको सेमिफाइनल यात्रा पनि कठिन बन्यो ।

‘७-८ वर्ष अघिसम्म नेपाल र भारतबीच प्रतिस्पर्धात्मक भिडन्त हुने गर्थ्यो । तर, अहिले उनीहरुको स्तर निकै अगाडि पुगिसकेको छ । नतिजाहरु पर्याप्त छन्’, थापा भन्छन् ।

त्यसो त हरेक खेलमा भारत र नेपालबीच सुरुको केही समय निकै प्रतिस्पर्धात्मक भिडन्त जस्तो देखिन्छ । तर, एउटा विन्दुबाट भारतले दबाब बढाउन सुरु गर्छ । नेपालले सन् २०१३ यता भारतलाई हराउन सकेको छैन । नेपालमा आयोजना भएको साफ च्याम्पियनसिपको समूहगत चरणमा नेपालले भारतलाई पराजित गरेको थियो । त्यसयता यी दुई टोलीबीच ११ पटक प्रतिस्पर्धा भएकामा ८ पटक भारत विजयी भएको छ भने ३ खेल बराबरी भएका छन् ।

कसरी उक्सियो भारतको फुटबल ?

थापाको विचारमा भारतीय फुटबल व्यवसायिक रुपमा निकै माथि पुगेको छ ।

‘पहिलो कुरा, त्यहाँ ठूलो कर्पोरेट हाउस रिलायन्स ग्रुप फुटबलमा भित्रिएको छ । लगानी बढेको छ । इन्डियन सुपर लिग खेल्ने एउटा भारतीय खेलाडीले वर्षमा एक करोडदेखि ४ करोड रुपैयाँसम्म पारिश्रमिक पाउँछ । खेलाडीले खेलबाहेक अरु सोच्नुपर्दैन’, थापा भन्छन्, ‘क्लबमा लगानी बढेपछि त्यहाँ स्तरीय खेलाडी र प्रशिक्षक भित्रिएका छन् । खेलाडीको स्तर सुधार्न साइकोलोजिस्ट राख्नेदेखि डाटा साइन्स बेस ट्रेनिङमा ध्यान दिइएको छ । विपक्षीका कमजोरीहरु पहिल्याउन जनशक्ति राखिएको छ ।’

ठूला कर्पोरेट हाउसहरुकै लगानीका कारण भारतको व्यवसायिक फुटबल अन्तर्राष्ट्रियस्तरसम्म फैलिएको उनको बुझाइ छ । त्यसो त पछिल्लो समय साउदी अरबको लिगमा भित्रिरहेका विश्व चर्चित स्टार खेलाडीको सहभागिताले पनि यसलाई धेरै हदसम्म पुष्टि गर्छ । विस्तारै साउदी फुटबल लिगले विश्व फुटबलप्रेमीको ध्यान खिच्दै लगेको छ ।

थापा पैसाले एक्कासि नतिजा नआउने बताउँछन् ।

‘सफलता भन्ने चिज आज यति पैसा दिन्छु, जा जितेर आइज भन्ने होइन । यो त खेलाडीको मानसिकता कसरी विकास गरिन्छ भन्ने हो । क्लबदेखि नै खेलाडीहरु उपाधि जित्नुपर्छ भन्ने मानसिकतामा हुर्किए भने त्यसकै प्रभाव राष्ट्रिय टीम हुँदै अन्तर्राष्ट्रिय फुटबलमा पर्ने हो’, नेपाली फुटबलमा कमजोर व्यवयसायिकतालाई इंगित गर्दै थापा भन्छन्, ‘नेपालमा खेलाडीले ३-४ महिना लिग खेल्छ । क्लबमा राम्रोसँग ट्रेनिङ नगरी राष्ट्रिय टोलीमा पर्छ । अनि चौतर्फी समस्याले गाँजिएर फुटबलबाट अलग हुने परिस्थिति निर्माण हुन्छ ।’

थापाले भने जस्तै पछिल्ला वर्षहरुमा नेपाली फुटबलमा उम्दा खेलाडीहरु लाइन लागेर विदेश लागिरहेका छन् । राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने र नतिजा दिलाउन सक्ने अपेक्षा गरेका खेलाडीहरु विदेशिँदा नयाँ अनुहारहरुबाट अपेक्षा गर्नुपर्ने अवस्था बनेको छ । खेलाडी संघका अध्यक्ष लामा नयाँ खेलाडीहरुमा पनि क्षमता भएको तर आधुनिक प्रशिक्षणको उनीहरुलाई आवश्यक रहेको बताउँछन् ।

‘नयाँ खेलाडीहरुमा पनि स्किल छ । तर, शारीरिक र मानसिक रुपमा बलियो बनाउने आधुनिक शैलीको प्रशिक्षण छैन । उनीहरुलाई राम्रो वातावरणमा प्रशिक्षणको आवश्यकता भयो भने हामी पनि ठूलो अपेक्षा गर्न सक्छौं’, उनी भन्छन् ।

भारतको बढ्दोस्तरले नेपाललाई साफ च्याम्पियनको सपना पूरा गर्न आगामी दिनमा सजिलो देखिँदैन । ‘अब हामीले राष्ट्रिय टोलीलाई हेर्ने छुट्टै प्रोफेसनल बडी बनाउनुपर्छ, जसले आधुनिक फुटबलमा चाहिने सानाभन्दा साना कुरामा काम गरोस्’, थापाको सुझाव छ ।

लेबनान र कुवेतको सहभागिताले हाल नतिजा नआए पनि भविष्यमा प्रतियोगिताको स्तर बढाउने र सहभागी हुने टोलीको फुटबल स्तर पनि बढ्ने जानकारहरु बताउँछन् । ‘हामी अहिले समूहगत चरणबाटै बाहिरिए पनि यी दुई टोलीको सहभागिताले साफलाई निकै राम्रो भएको छ । हामीलाई साफभन्दा बाहिर सोच्न यसले निकै सहयोग गर्छ’, लामा भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर