गण्डकीका सांसदको छातीमा नयाँ लोगो : हटाइयाे यी पाँच चिन्हहरु – Nepal Press

गण्डकीका सांसदको छातीमा नयाँ लोगो : हटाइयाे यी पाँच चिन्हहरु

पोखरा । गण्डकी प्रदेश सभाको लोगो परिवर्तन हुने भएको छ । नियमावली मस्यौदा समितिले प्रदेश सभाको लोगो परिवर्तन गर्ने गरी प्रदेश सभा नियमावली २०८० को मस्यौदा प्रदेश सभामा पेस गरेको छ । उक्त मस्यौदामा प्रदेश सभाको लोगोमा व्यापक परिवर्तन गरिएको छ ।

हाल सांसदले लगाइरहेको लोगोमा हरियो रंगको प्रयोग धेरै गरिएको छ । नयाँ लोगोमा पहेँलो रंग प्रयोग भएको छ । गैँडा, मृग देखाएर हालको लोगोमा नवलपुरसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्ज देखाउन खोजिएको छ ।

नयाँ लोगोमा यसअघि भएका जनवार र चरा हटाइएको छ । लोगोको रंग परिवर्तन गरिएको छ भने डाँफे, गैँडा, मृग, लालीगुराँस, नदी हटाएर लोगो बनाइएको छ ।

नयाँ लोगो प्रस्तावका लागि नियमावली मस्यौदा समिति सदस्य सुधीरकुमार पौडेलको संयोजकत्वमा उपसमिति बनाइएको थियो ।

पहिला बनाएको लोगोमा धेरै विषयवस्तु समेटिएकाले सांसदको हो कि सामाजिक संस्थाको भन्ने छुट्याउन समेत गाह्रो भएकाले नयाँ प्रस्ताव गरिएको उपसमितिका संयोजक पौडेलले जानकारी दिए ।

उक्त नियमावलीको मस्यौदालाई असार २२ गते प्रदेश सभामा प्रस्तुत गरिनेछ । उक्त नियमावली पारित भएपछि नया लोगो बनाउने प्रक्रिया सुुरु हुनेछ । अहिलेको लोगो चीनमा बनाएर ल्याइएको थियो ।

प्रदेश सभा नियमावली २०७४ लाई नयाँ र समसामयिक विषयवस्तु समेटी नयाँ नियमावलीको प्रस्ताव तयार गर्न गत फागुन १० गण्डकी प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरिएको थियो ।

उक्त मस्यौदा असार १८ गते सदनमा प्रस्तुत भएर असार १९ सामान्य छलफल भएको छ । सामान्य छलफलपछि संशोधनको सूचनाका लागि ७२ घन्टे समय तोकिएको छ । समितिको सभापति बिन्दुकुमार थापा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर