जनमतलाई भित्र्याउन प्रचण्डले कसलाई बोलाउलान् फिर्ता ? रोजेकै मन्त्रालय पाए सीके राउत आफैं तयार – Nepal Press

जनमतलाई भित्र्याउन प्रचण्डले कसलाई बोलाउलान् फिर्ता ? रोजेकै मन्त्रालय पाए सीके राउत आफैं तयार

काठमाडौं । सत्ता गठबन्धनमा जनमत पार्टीलाई सरकारमा ल्याउने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहकार्य थालेको छ । पहिले मन्त्रालयको भागबन्डामा चित्त नबुझाएको जनमत सरकारले ल्याएको बजेटकै कारण थप चिढिएको छ ।

तर, प्रधानमन्त्री प्रचण्डले आइतबार अध्यक्ष डा. सीके राउतसँग भेटवार्ता गरेपछि जनमत पनि सरकारमा आउन तयार देखिएको छ । त्यहीअनुसार गठबन्धनको बैठकले निर्णय पनि गरिसकेको छ ।

प्रधानमन्त्रीले गठबन्धनको निर्णयअनुसार जनमतलाई सरकारमा ल्याउन परामर्श गरिरहेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताए ।

उनले भने, ‘उहाँले गठबन्धन दलका शीर्ष नेताहरुसँग छलफल गरिराख्नुभएको छ । मन्त्रालय कसरी मिलाउने भन्ने विषयमा छलफल हुँदैछ । केही दिनमा टुंगिन्छ ।’

आफूहरु सरकारमा जान तयार भए पनि प्रधानमन्त्रीबाट कुन मन्त्रालय दिने भन्ने जवाफ नआइसकेको जनमतका उपाध्यक्ष अब्दुल खानले बताए ।

उनले भने, ‘हामीलाई सरकारमा ल्याउने भन्ने कुरा उहाँहरुले निर्णय गर्नुभएको छ । कुन मन्त्रालय भन्ने कुरा अहिले टुंगिएको छैन । उहाँहरुले कुन मन्त्रालय खाली गर्नुहुन्छ, त्यहीअनुसार हाम्रो पार्टीले निर्णय गर्छ ।’

उपप्रधानसहित तपाईंहरुले रोजेको मन्त्रालय पाए सरकारमा जान पार्टी अध्यक्ष पनि इन्छुक हो अहिले भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘हुनसक्छ त्यो पनि । अहिले धेरै दलहरु सरकारमा भएकाले कुन मन्त्रालय प्रधानमन्त्रीले मिलाउनुहुन्छ, त्यहीअनुसार हाम्रो निर्णय हुन्छ ।’

जनमतले सुरुदेखि नै कृषि र उद्योग मन्त्रालयको अडान राखिरहेको छ । तर, त्यो अहिले कांग्रेस र नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । त्यसैले त्यही मन्त्रालय पाउने सम्भावना छैन । तर, नेता खान आफूहरुले अहिले कृषि र उद्योग मन्त्रालयकै अडान नराखेको दाबी गर्छन् ।

प्रधानमन्त्री प्रचण्डले जनमतलाई सरकारमा ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला र खानेपानी मन्त्रालयको प्रस्ताव गरेको बताइन्छ । तर, यी मन्त्रालयमा जनमत राजी छैन ।

त्यसो त सरकारमा जान अहिले जनमत पार्टीले दुई मन्त्रालय मागिरहेको नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल बताउँछन् ।

उनले भने, ‘उहाँहरुलाई सरकारमा ल्याउने तयारी त भइरहेको छ । उहाँहरुले दुईवटा मागिराख्नुभएको छ । त्यही भएर कुरा मिलिसकेको छैन ।’

उनले मन्त्रालय खाली नभएकाले जनमतलाई सरकारमा ल्याउन मन्त्री फिर्ता बोलाउने तयारी भइरहेको पनि बताए ।

पौडेलले भने, ‘कुन पार्टीबाट मन्त्री फिर्ता लिने भन्ने टुंगिएको छैन । मन्त्रालय खाली नभएकाले कोही न कोही फिर्ता लिनुपर्नेछ । त्यो कांग्रेसबाट पनि हुनसक्ने सम्भावना छ ।’

प्रधानमन्त्रीले ९ मन्त्रालय भएको कांग्रेसबाट फिर्ता बोलाउने प्रयास गरिरहेका छन् । तर, कांग्रेसमा सभापति देउवाले डा. शेखर कोइराला र गगन थापा समूहलाई पनि मनाउनुपर्ने भएकाले त्यो सम्भावना कम छ ।

प्रधानमन्त्रीले पर्यटन, संघीय मामिला र खानेपानी मन्त्रालयमध्ये एउटा दिएर जनमतलाई मनाउने प्रयास गरिरहेका छन् । यसअघि नै जनमतले खानेपानी मन्त्रालयमा चित्त नबुझाएर राजीनामा बुझाएको थियो ।

पर्यटनमन्त्री सुदन किराँती, खानेपानीमा नेपाल समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष महिन्द्रराय यादव र संघीय मामिलामा अमनलाल मोदी छन् । तर, पछिल्लो समय प्रधानमन्त्री पर्यटनमन्त्री किराँतीप्रति सकारात्मक छैनन् । केही समयदेखि उनैलाई फिर्ता बोलाउने चर्चा पनि चलेको थियो ।

अहिले प्रचण्डले जनमतलाई एउटामात्रै मन्त्रालयमा मनाउन कांग्रेसले नमाने पार्टीबाटै मन्त्री फिर्ता बोलाएर मन्त्रालय हेरफेरको विकल्पबारे पनि छलफल गरेको बताइन्छ । एक मन्त्रालयमा राजी नभए राज्यमन्त्री दिएर भए पनि जनमतलाई सरकारमा ल्याउनुपर्ने कतिपयको भनाइ छ । पछिल्लो समय समर्थन घट्दै गएपछि जनमतलाई सरकारमा रोक्नैपर्ने प्रधानमन्त्रीलाई दबाब पनि छ ।

त्यसो त जनमतलाई सरकारमा ल्याउने विषयमा शीर्ष नेताहरुबीच छलफल भइरहेको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

उनले भने, ‘शीर्ष तहमा छलफल भइरहेको छ । गठबन्धन दलमा सहमतिअनुसार चाँडै सरकारमा ल्याउने प्रयास भइरहेको छ ।’

कुन मन्त्रालय दिने भन्ने कुरा शीर्ष तहमा सहमति हुने उनको भनाइ छ । उनले कांग्रेसबाट मन्त्री फिर्ता हुने सम्भावना कम भएको जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर