प्रधानमन्त्री प्रचण्डलाई सुदूरपश्चिमका सभामुखसहित १० जना सांसदले भने- यथास्थितिमा बजेट पारित हुँदैन – Nepal Press

प्रधानमन्त्री प्रचण्डलाई सुदूरपश्चिमका सभामुखसहित १० जना सांसदले भने- यथास्थितिमा बजेट पारित हुँदैन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेट संशोधन गर्न दबाब दिन आज सभामुखसहित तीन दलको संसदीय दलका नेता र सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

सभामुख भीम भण्डारी, माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर बजेट यथास्थितिमा पारित गर्न नसकिने बताएका हुन् ।

त्यस क्रममा कांग्रेसका मेघराज खड्का, शिवराज भट्ट, ललिता सुनार, माओवादी केन्द्रका शिव ओली र एमालेका चक्र मल्ल पनि उपस्थित थिए । अर्थ विकास तथा प्राकृतिक समितिको भ्रमणका क्रममा काठमाडौं पुगेको उक्त टोलीले प्रधानमन्त्रीलाई सुदूरपश्चिमको बजेटप्रति गुनासो सुनाएको थियो ।

नागरिक उन्मुक्तिको संसदीय दलका नेता चौधरीले यथास्थितिमा बजेट पारित गर्ने प्रयास भए सरकार ढल्नेसम्मको चेतावनी दिएका थिए । कांग्रेस नेतृत्वको सरकारले बजेट ल्याए पनि अहिले कांग्रेसकै सांसदहरू बजेटप्रति सन्तुष्ट छैनन् ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई बजेट संशोधन गर्न दबाब दिन पुगेकामध्ये २ जनाले आज प्रधानमन्त्रीसमक्ष पनि बजेट संशोधन गर्नुपर्ने बताएका थिए । सांसदहरूले मन्त्रीको क्षेत्रमा मात्रै बजेट हालेको, प्रदेशसभा सदस्यहरुलाई अवमूल्यन गरेको, आफ्ना गुनासोहरू सम्बोधन नगरेको पीडा पोखेका थिए ।

प्रधानमन्त्री प्रचण्डले सबैको गुनासो सुनेपछि आफ्नो धारणा राखेका थिए । उनले बजेट संशोधन गर्ने व्यवस्था नरहे पनि केही हेरफेर गर्न लगाउने आश्वासन दिएका थिए

अर्थ विकास तथा प्राकृतिक समितिको टोलीले माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेताहरूलाई पनि भेटेको थियो । त्यस क्रममा पनि उनीहरुले बजेट उपयुक्त नरहेको हुँदा संशोधन गर्नुपर्ने बताएका थिए ।

सत्ता पक्षकै सांसदहरूको चरम विरोधका कारण असार १ गते अर्थमन्त्री नरेश शाहीले प्रस्तुत गरेको बजेटमाथि अहिलेसम्म पनि छलफल हुन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर