रोनाल्डोले खोलेको ढोकाबाट को-को भित्रिए साउदी प्रो लिगमा ? – Nepal Press

रोनाल्डोले खोलेको ढोकाबाट को-को भित्रिए साउदी प्रो लिगमा ?

काठमाडौं । पाँच पटकका फिफा वर्ष खेलाडी क्रिस्टियानो रोनाल्डो साउदी अरबको साउदी प्रो लिगमा आबद्ध भएयता अन्य विश्व चर्चित फुटबलरहरुको त्यहाँ लर्को लागेको छ ।

अल नासरले गत वर्ष रोनाल्डोलाई भित्र्याएको थियो । उनले पहिलो सिजन अल नासरबाट खेलिसकेका छन् । साउदी प्रो लिगको नयाँ सिजन सुरु हुनुअघि त्यहाँ नाम चलेका केही खेलाडीहरु पुगेका छन् ।

लिग च्याम्पियन अल इत्तिहादले फ्रान्सका करिम बेन्जेमालाई भित्र्याएको छ। बेन्जेमा यसअघि रियल म्याड्रिडमा लामो समय रहेका थिए । उनी फ्रि एजेन्टमार्फत एक सय मिलियन युरोभन्दा बढी रकममा आबद्ध भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले उल्लेख गरेका छन् ।

अल एलीले लिभरपुलसँग सम्झौता सकेर बसिरहेका ब्राजिलियन फिरमिनोलाई भित्र्याएको छ। फिर्मिनोले ८ वर्ष लिभरपुलका लागि खेलेका थिए । अल इत्तिहादले फ्रान्सका मिडफिल्डर एंगोलो कान्टेलाई पनि तीन वर्षका लागि आबद्ध गरेको छ ।

उनले यसअघि सात वर्ष चेल्सीका लागि खेलेका थिए । कान्टे पनि सम्झौता सकेर बसिरहेका थिए । अल हिलालले पोर्चुगलका रुबेन नेभेस र सेनेगलका डिफेन्डर कालिदाउ कौलीबालीलाई पनि भित्र्याइसकेको छ ।

कौलीबाली यसअघि चेल्सीमा थिए । चेल्सीका गोलकिपर एडुवार्डो मेन्डी अल एलीमा आबद्ध हुने तय भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन् । पीएसजीका सर्जियो रामोस र म्यानचेस्टर सिटीका बर्नाडो सिल्भा पनि साउदी प्रो लिगमा भित्रन सक्ने चर्चा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर