गण्डकीमा अब सवारी चालक अनुमति पत्रको भुक्तानी अनलाइनबाटै – Nepal Press

गण्डकीमा अब सवारी चालक अनुमति पत्रको भुक्तानी अनलाइनबाटै

पोखरा । सवारी चालक अनुमति पत्रको भुक्तानी अनलाइनबाटै हुने भएको छ । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र गण्डकी प्रदेशका यातायात व्यवस्था तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बुधबार भर्चुवल विधिबाट संयुक्त रुपमा अनलाइन भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन् ।

पहिलो चरणमा गण्डकी प्रदेशबाट उक्त प्रणाली सुरु भएको छ । सवारी चालक अनुमति पत्रको भुक्तानी अनलाइनबाट गर्ने प्रणालीको सुरुआत गरिएको छ ।

आगामी दिनमा यातायात व्यवस्था कार्यालयबाट हुने सम्पूर्ण भुक्तानी प्रक्रियालाई अनलाइन प्रणालीबाट हुने व्यवस्था गर्ने मन्त्रालयको योजना छ । एक महिनाभित्र सबै प्रदेशमा उक्त सेवा विस्तार गरिने मन्त्रालयले जनाएको छ ।

बिचौलियाको अन्त्य गर्न र लाइन बस्ने प्रणालीको अन्त्य गर्न अनलाइन प्रणाली सुरु गरिएको गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताए ।

‘बिचौलियाको अन्त्य गर्ने, यातायात कार्यालयमा लाग्ने लाइनलाई हटाउनका लागि गण्डकी प्रदेशको कास्की कार्यालयमा धेरै अघिबाट सुरुआत गरिसकेका छौं । त्यसमा हामी भिडभाड कम गर्न र लाइन कम गर्न सेवा प्रवाह ८ बजेदेखिनै सुरु गरेका छौं । सवारीको ट्रायल दिने काम, नविकरण गर्ने काम बिहानै देखि सुरुआत गरेका छौं’, उनले भने, ‘अहिले भिडभाड हटेको छ ।’

मन्त्री जुग्जालीले राइट शेयरिङ विषयमा समस्या हल गर्न संघ मन्त्रीसँग माग गरे ।

‘अब अनलाइनबाट भुक्तानी गर्न मिल्ने भएपछि झनै सहज हुनेछ । केही कानुनी जटिलता र ऐनको समस्याहरु पनि थियो मन्त्री ज्युले राखिसक्नुभएको छ । यसलाई छिट्टै नै हल गर्दिएपछि हामीलाई सहज हुन्थ्यो की भन्ने लागेको छ’, उनले भने, ‘विशेष गरेर गण्डकी प्रदेश र पोखरामा राइट शेयरिङ विषयमा समस्या भएको छ । यसलाई छिट्टै नियमावली बनाएर पठाइदिएपछि प्रभावकारी ढंगबाट लागु गर्न सजिलो हुन्थ्यो जस्तो लाग्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *