प्रधानमन्त्री प्रचण्डको आरोप- मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न एमालेले संसद अवरुद्ध गर्दैछ (भिडिओ) – Nepal Press

प्रधानमन्त्री प्रचण्डको आरोप- मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न एमालेले संसद अवरुद्ध गर्दैछ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीहरूलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद अवरोध गर्न खोजेको आरोप लगाएका छन् । माओवादी केन्द्रसम्वद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए ।

उनले भने, ‘मैले एउटा पुस्तक बिमोचनमा सन्दर्भवश भनेको कुरालाई बंगाएर संसद अवरुद्ध गर्ने कोसिस हुँदैछ । खासमा यसको अर्थ अर्कै छ । मिटरब्याजीहरूलाई कारबाही गर्ने ऐन आज संसदबाट पास हुने कार्यसूचि थियोे। कतिपय दललाई मिटरब्याजीलाई कारबाही गर्न खोजेको कुरा मन परेको छ । भ्रष्टाचारीलाई कार्वाही गर्ने कुरा मन परेको छैन । यसलाई रोक्न संसद अवरुद्ध गरिँदैछ ।’

तर, प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा माग्दै आज सदन अबरोध गर्ने निर्णय गरेको छ ।

उनले आफूहरुले अहिले लडाइँमा रहेको बताए ।

उनले थपे, ‘सुशासनको लडाइँ, भ्रष्टाचारविरूद्धको लडाइँ, यो लडाइँमा हामी जित्छौँ। विगतमा हामी विभाजित भयौं, त्यसले कमजोर पनि भयौँ। तर अहिले परिस्थिति फेरिएको छ । माओवादी धाराका सबै शक्तिहरू एकतावद्ध हुँदैछौँ । २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौँ ।’

प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण अत्यन्तै उपलब्धिमूलक भएको बताए ।

‘विद्युत व्यापार सम्झौता सामान्य कुरा होइन। १० वर्षमा १० हजार मेगावाट विद्युत बेच्दा देशको समृद्धि नयाँ ठाउँमा पुग्छ । सीमा समस्या दीर्घकालीन रूपमा समझदारी गर्ने कुरा गरिएको छ। यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो’ उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर