मधेशमा अविरल वर्षा, किसानले बल्ल रोप्न थाले धान – Nepal Press

मधेशमा अविरल वर्षा, किसानले बल्ल रोप्न थाले धान

जनकपुरधाम । मधेशका जिल्लाहरूमा रातिदेखि भारी वर्षा भएपछि किसानहरू खुशी भएका छन् । रातिको वर्षाले बल्ल खेतमा धान रोप्न सकिने पानी लागेको किसानहरू बताउँछन् ।

राष्ट्रिय धान दिवस मनाइने असार १५ मा विगतका वर्षहरूमा ५० प्रतिशत रोपाई सकिसकेको हुन्थ्यो । तर यस वर्ष वर्षा समयमा नभएकाले असार १५ सम्म मधेशमा १५ प्रतिशत रोपाई मात्र भएको थियो ।

वैकल्पिक सिँचाइको अभावले यहाँका किसानहरू आकाशे पानीको भरमै खेती गर्न बाध्य छन् । तर समयमा वर्षा नहुँदा धानको बेर्ना सुक्न थालेको थियो । कतिपय किसान त अहिलेसम्म धानको बेर्ना समेत राख्न पाएकै छैनन् ।

वर्षा समयमा नभएपछि कतिपय किसान विद्युतीय मोटरले खेतमा सिँचाइ गरेर धान रोपेका छन् । रातिदेखि भएको वर्षाले विद्युतीय मोटरले खेतमा सिँचाइ गर्ने बाध्यता हटेको छ ।

बल्ल धान रोपाई हुने खालको वर्षा भएपछि किसानहरू खुशी देखिएका छन् । कमला नगरपालिका ४, धनुषाका किसान मोहित यादवले यो वर्षाले खडेरी पर्ने अवस्थाको अन्त्य गरेपछि खुशी लागेको बताए ।

उनले भने, खडेरी लाग्यो भनेर चिन्तित थियौँ । तर रातिदेखि आज मध्यान्हसम्म वर्षा भएपछि सबै खेतमा पानी लागेको छ ।’ भोलीदेखि रोपाई सुरु गरिने उनको भनाई छ ।

मधेशका किसान हरेक वर्ष मलखादको अभाव झेल्छन् । समयमा मलखाद नपाएपछि उत्पादन समेत घट्छ । यसकै चिन्ता अब किसानलाई सताएको छ ।

शहिदनगर नगरपालिका २ का किसान अमिरी साह भन्छन्, ‘अब जसोतसो धान त रोपिहाल्छौँ । तर मलखाद कहाँबाट ल्याउने ? सरकारले हामीलाई समयमा मलखाद दिनुपर्छ । यसको लागि आवाज उठाइदिनुस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *