सत्तामा टिक्न प्रचण्डको जोडघटाउ: समाजवादी मोर्चापछि नेकपाको अस्त्र – Nepal Press

सत्तामा टिक्न प्रचण्डको जोडघटाउ: समाजवादी मोर्चापछि नेकपाको अस्त्र

काठमाडौं । संसदमा ३२ सीट भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झण्डै तेब्बर सिट भएको कांग्रेसको समर्थनमा प्रधानमन्त्री छन् । चुनावमा पार्टीले निराशाजनक परिणाम ल्याए पनि उनले आफ्नो राजनीतिक चतुर्‍याइँ र दाउपेचका बलमा सत्ताको नेतृत्व हत्याउन सफल भए, पालैपालो एमाले र कांग्रेसलाई प्रयोग गरेर ।

आफ्नो राजनीतिक जोडघटाउ मिलाउन जतिबेला जता पनि फर्किन सक्ने र जुनसुकै कदम चाल्नसक्ने खुबी भएका नेता हुन् प्रचण्ड । आफू प्रधानमन्त्री नबने देश दुर्घटनामा जाने सम्भावना देखेर कहिले एमालेसँग र कहिले कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेको जिकिर गर्छन् उनी । पहिला एमाले नेतृत्वको सातदलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्ड दुई महिनामै कांग्रेस नेतृत्वको चुनावअघिकै गठबन्धनमा फर्किएका थिए ।

यद्यपि, पहिलोपटक प्रतिनिधि सभामा विश्वासको मत लिँदा ९९ प्रतिशत मत पाएका प्रचण्ड सामान्य बहुमतमा झरेका छन् । गठवन्धनका दलहरुको बन्धन खुकुलो हुँदै गएको उनी स्वयम्लाई महसुस भएको छ । आफ्नो सत्ताको आयू लम्ब्याउनका लागि हरेक उपायको खोजी गरिरहेका छन् । उनले पछिल्लोपटक निकालेको अस्त्र हो– तत्कालीन नेकपा ब्युँताउने उनको भनाइ छ ।

‘माधवजी र मैले के भनेका छौं भने फेरि नेकपातिर फर्किनुपर्छ, फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्ने कुरापनि हामीले भनेका छौं’ प्रचण्डले भनेका छन् ।

पार्टीको अस्तित्व नै संकटमा पर्दै जान थालेपछि नेपालले एमाले अध्यक्ष केपी ओली तयार भए नेकपा ब्युँताउनुपर्ने निष्कर्षमा पुगिसकेको बताइन्छ । अब समाजवादी मोर्चा हुँदै विस्तारै नेकपातिरै फर्किनुपर्नेमा दुई नेताको समान धारणा देखिन्छ ।

प्रचण्ड र माधवले मात्रै नभएर एमाले अध्यक्ष ओलीले पनि पछिल्लो समय नेकपा विभाजनप्रति समिक्षा गर्नुपर्ने राय राख्न थालेका छन् । नेकपा विभाजनको यथार्थ विश्लेषण हुनपर्ने उनको भनाइ छ ।

‘अढाई वर्षअघि पार्टी विभाजन भयो, त्यो विभाजन हुँदा यसले यसो भन्यो, यसो गर्‍यो भनेर मात्रै हुँदैन । त्यसका पछाडिका कारणहरू के थिए ? उद्देश्यहरू के थिए ? किन विभाजन भयो ? किन गरियो ? कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो ? ती कुराहरू आउनुपर्छ,’ ओलीले गतसाता भनेका थिए ।

त्यसो त सत्ता टिकाउन र कांग्रेस-एमालेसँग बार्गेनिङ बढाउनकै लागि प्रचण्डले समाजवादी मोर्चा खडा गरेका छन् । नेकपा एकीकृत समाजवादी, जसपा र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच घोषित मोर्चाबन्दी भइसकेको छ । यो मोर्चा बनेपछि २२ सिट भएका प्रचण्डले अहिले परोक्षरुपमा प्रतिनिधिसभामा ५४ सीटको नेतृत्व गरिरहेका छन् ।

तर, यो मोर्चाले कांग्रेस-एमालेको सम्भावित गठजोड भने रोक्न सक्दैन । अहिले एमालेका दोस्रो तहका नेताहरु कांग्रेस नेताहरुसँग निरन्तर संवादमा छन् । यद्यपि, यो संवादले ठोस आकार लिइसकेको छैन ।

एमाले अध्यक्ष ओली भने आफ्नो पार्टीसँग छलफल गर्नसमेत कांग्रेसका नेताहरु डराइरहेको बताउँछन् ।

‘कांग्रेससँग कुनै हिमचिम छैन। फोनमा पनि कुरा भएको छैन । भेट्दा हाइहेलो मात्रै भइरहेको हो । उहाँहरू खासमा कुरा गर्न पनि डराइरहनुभएको छ,’ ओलीले आइतबार भनेका थिए ।

पछिल्लो समयका अभिव्यक्तिहरु सुन्दा शीर्ष नेताहरु नेकपा विभाजनप्रति आत्मलोचना गर्न तयार भएजस्तो देखिएको राजनीतिक विश्लेषक हरि रोक्का बताउँछन्।

उनी भन्छन्, ‘स्वार्थका लागि मिल्ने हुन् । तर, ओली र प्रचण्डसहित शीर्ष नेताहरुको अभिव्यक्ति सुन्दा आत्मलोचना गर्न तयार भएजस्तो देखिन्छ । यद्यपि, तत्काल नेकपा नै ब्यूँतिहाल्ने परिस्थिती बन्छ जस्तो देखिएको छैन ।’

विप्लवलाई भित्र्याउने प्रयास

प्रचण्ड अहिले समाजवादी मोर्चा हुँदै विप्लवको सेफ ल्याण्डिङको प्रयासमा छन् । संसदीय राजनीतिलाई बहिष्कार गर्दै आएका विप्लवलाई पछिल्लो पार्टीमा फर्काउने प्रयास उनले थालेका हुन् । यसका लागि माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले पहल गरिरहेका छन् ।

उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनको टकरावलाई रोक्नको लागि प्रचण्डले विप्लवलाई महासचिव बनाएर भित्र्याउने प्रयास गरेको चर्चा पनि छ । यसअघि पनि शर्मा र पुनबीच महासचिवमा रस्साकस्सी चलेपछि प्रचण्डले देव गुरुङलाई ल्याएका थिए ।

विप्लवलाई पार्टीमा भित्र्याउन आफूहरु तयार रहेको सचिव दिनानाथ शर्माले बताए ।

उनले भने, ‘हामी सबै वामपन्थी शक्तिलाई एकताबद्ध गर्नुपर्छ भन्ने पक्षमा छौं । उहाँ त सँगै जनयुद्ध लडेर आएको मान्छे हो । उहाँ आउन तयार भएर उचित जिम्मेवारी दिन हामी तयार छौं ।’

विप्लव पनि माओवादीमा प्रवेश गर्न सकारात्मक बन्दै गइरहेकोे बताइन्छ । प्रचण्डले अहिले विप्लवलाई मात्रै नभएर पूर्वमाओवादी धारलाई पनि एकजुट बनाउने प्रयास गरिरहेका छन् ।

२०६४ को निर्वाचनबाट संसदीय राजनीतिमा उदाएका प्रचण्डको अहिले निरन्तर जनमत साँधुरिँदै छ । पार्टी ओरालो यात्रामा लागेपछि उनले अहिले पूर्वमाओवादी एकतादेखि नेकपा ब्यूँताउँनेसम्मको प्रसंगलाई अघि सार्दै आइरहेका छन् । उनले जनयुद्धका सहयात्री डा. बाबुराम भट्टराई नेतृत्वको नेसपासँग पनि पार्टी एकताको लागि कार्यदल नै बनाएका थिए । तर, अहिले समाजवादी मोर्चामा बाबुराम नअटाएपछि तत्कालको लागि पार्टी एकताको सम्भावना टरेको बताइन्छ ।

समाजवादी मोर्चाको अभिष्ट

कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेका प्रचण्डले अहिले कम्युनिष्ट एकताको मन्त्र जप्न छाडेका छैनन् । उनले गठबन्धनभित्रै कांग्रेसलाई दबाबमा राख्न समाजजादी मोर्चा (उपगठबन्धन) बनाएका छन् । तर, आफूहरुले कम्युनिष्टहरुको एकताको कुराबाट कांग्रेस तरंगित हुननपर्ने प्रचण्डको भनाइ छ ।

आफूहरुले समाजवादी मोर्चा बाहिर चर्चामा आएजस्तो कांग्रेसलाई दबाबमा राख्न नबनाएको माओवादीका सचिव शर्मा बताउँछन्।
उनी भन्छन्, ‘यो मोर्चाको निश्चित लक्ष्य र उद्देश्य छ । बाहिर चर्चा जस्तो पनि हुन्छ । हामी कांग्रेससँग सहकार्यमा भए पनि कम्युनिष्ट एकताको पक्षमा छौं ।’

उनले नेकपाको विषयमा शीर्ष नेताहरुबाट आत्मालोचनासहितको अभिव्यक्ति आउनुलाई सकारात्मक रुपले नै हेर्नुपर्ने बताए ।
उनको भनाइमा कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा पनि सहमत छन्।

उनी भन्छन्, ‘उहाँ एउटै पार्टीमा रहेका काम गरिसकेका व्यक्तिहरु हुनुहुन्छ, त्यसैलै मोर्चा बनाएर अघि बढ्न खोज्नुभएको हो । त्यसलाई कांग्रेसले अन्यथा लिएको छैन । कांग्रेसलाई दबाबमा राख्न उहाँहरुले मोर्चा बनाउनुभएको होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर