एमाले निकट खेलकुद महासंघको ब्याडमिन्टन टुर्नामेन्ट- सेमिफाइनलमा कमल थापा र राजेन्द्र राईको जोडी भिड्ने (भिडिओ) – Nepal Press

एमाले निकट खेलकुद महासंघको ब्याडमिन्टन टुर्नामेन्ट- सेमिफाइनलमा कमल थापा र राजेन्द्र राईको जोडी भिड्ने (भिडिओ)

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र एमाले नेता लीलबहादुर थापाको जोडीले मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको सेमिफाइनलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका नेता कमल थापा र गणेश थापाको जोडीसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाल खेलकुद महासंघको आयोजनामा मंगलवारदेखि ललितपुरमा सुरु भएको प्रतियोगितामा राई र थापाको जोडीले वागमती प्रदेशका सांसद राजकाजी महर्जन र प्रकाश रावलको जोडीलाई २१-४, १७-२१ र २१-११ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

थापा दाजुभाइको जोडीले भने पञ्चबहादुर गुरुङ र एमाले नेता ठाकुर गैरेको जोडीलाई २१-८ र २१-१४ ले सहजै हराउँदै सेमिफाइनलमा पुगेको हो ।

गणेश थापा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वसदस्य एवम् अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष हुन् ।

७२औं मदन भण्डारी जयन्तीको अवसरमा महासंघले संविधानसभा सदस्य, राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका वर्तमान तथा पूर्वसदस्यबीच प्रतियोगिता गराएको हो ।

उक्त प्रतियोगितामा कुल ६२ जना राजनीतिज्ञले सहभागिता जनाएको महासंघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धर्मकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा जारी प्रतियोगिताको अर्को सेमिफाइनलमा दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीले एमाले नेता नवराज सिलवाल र भानुभक्त ढकालको जोडीसँग प्रतिस्पर्धा गर्नेछ ।

पाख्रिन र सुनुवारको जोडीले एमालेकै नेता कर्ण थापा र एलपी लिम्बूको जोडीलाई २१-१९, १४-२१ र २१-१४ ले हराएको थियो । सिलवाल र ढकालको जोडीले भने जीत सेरचन र प्रदीप पौडेलको जोडीलाई २१-८ र २१-९ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

त्यसअघि दुई दिने प्रतियोगिताको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर