सन्दीपको ब्याटिङ फर्म- तल्लो क्रममा महत्वपूर्ण साझेदारी गर्दै – Nepal Press

सन्दीपको ब्याटिङ फर्म- तल्लो क्रममा महत्वपूर्ण साझेदारी गर्दै

काठमाडौं । नेपालका चर्चित स्पीनर सन्दीप लामिछानेले आफूलाई अलराउन्डरका रुपमा निखार्दै लगेका छन् । पछिल्ला खेलहरुमा उनको बलमात्र नभएर ब्याट पनि मज्जाले चलिरहेको छ ।

विश्वकप छनोटको सातौं स्थानका लागि भइरहेको खेलमा टेस्ट मान्यता प्राप्त आयरल्यान्डविरुद्ध नेपालको ब्याटिङ धर्मराइरहेको थियो । तर, तल्लो क्रमका गुल्शन झाले सन्दीपसँग मिलेर नेपाललाई उकास्दै २६८ रनको बलियो स्कोरमा पुर्‍याए । अघिल्लो म्याचमा यूएईविरुद्ध दीपेन्द्रसिंह ऐरीसँग ‘म्याच विनिङ पार्टनरसीप’ गरेका सन्दीपले आज पनि नेपालको ब्याटिङमा महत्वपूर्ण योगदान दिएका छन् ।

आठौं विकेटका लागि गुल्सन र सन्दीपबीच आक्रामक गतिमा ८० रनको साझेदारी भएको थियो । उक्त साझेदारीअघि नेपाल १६९-७ को कमजोर स्थितिमा थियो ।

सन्दीपले गुल्सनलाई राम्रो साथमात्र दिएनन्, आफैंले पनि सटहरु खेले । उनले खेलमा ३० बलको सामना गर्दै ३२ रन बनाउँदा एक छक्का र ३ चौका हिर्काएका थिए । सन्दीप आउट हुँदासम्म नेपालले ४८.३ ओभरमा २४९ रन जोडिसकेको थियो ।

यसअघि सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा पनि सन्दीपले आठौं विकेटका लागि दीपेन्द्रसिंह ऐरीलाई गतिलो साथ दिएका थिए । यूएईविरुद्धको खेलमा १८२ रनको लक्ष्य पछ्याउने क्रममा संकटमा परेको नेपालका लागि सन्दीप र दीपेन्द्रले आठौं विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए । त्यस खेलमा सन्दीपले ३७ बलमा अविजित २३ रन बनाएका थिए ।

सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ खेल खेल्दै ३६७ रन जोडेका छन् । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीप र गुल्सनले गरेको आठौं विकेटको साझेदारी नयाँ राष्ट्रिय कीर्तिमान हो । यसअघि दीपेन्द्र र सन्दीपले गरेको साझेदारी आठौं विकेटको सर्वाधिक थियो । सन्दीप र आसिफ शेखबीच पनि आठौं विकेटका लागि ७७ रनको साझेदारी भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर