रोनाल्डोभन्दा जेठा भारतका ‘गोलमेसिन’ : कुवेतविरुद्ध निर्णायक हुन सक्छन् सुनील क्षेत्री – Nepal Press
साफ च्याम्पियनसीप फाइनल

रोनाल्डोभन्दा जेठा भारतका ‘गोलमेसिन’ : कुवेतविरुद्ध निर्णायक हुन सक्छन् सुनील क्षेत्री

काठमाडौं । झन्डै २ वर्षअघि आयोजित साफ च्याम्पियनसिपको समूहगत चरणअन्तर्गत अन्तिम खेलमा भारतले माल्दिभ्सलाई ३-१ गोलले हराएपछि कप्तान सुनील क्षेत्रीलाई सोधिएको थियो, सन्‍न्‍यास कहिले लिनुहुन्छ ? भर्खरैमात्र ३७ वर्ष टेकेका सुनीलले त्यस खेलमा २ गोल गरी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने सूचीमा ब्राजिलका महान् खेलाडी पेलेलाई पछाडि पारेका थिए ।

‘अब चाँडै टुंगिने छ’, सुनीलको जवाफ थियो, ‘तर अबका केही वर्ष कतै जान्न (भारत बाहिर खेल्न) ।’

सुनीलले भनेका थिए, उनी करिअरको अन्तिम समयतिर आइरहेका बेला हरेक सेकेन्डको मज्जा लिइरहेका छन् ।’ अहिले मेरो सामान्य मन्त्र छ (अंग्रेजीमा बोलिरहेका उनी त्यसपछि हिन्दीमा बोल्छन्) । दोस्त खडे हो जाओ, बहुत कम टाइम बचा हे । बहुत कम गेम बचे हुवा हे । चुपचाप जा अर अप्ने बेस्ट दे । थोडा टाइम पे खत्तम होने वाला हे । रुन बन्द गर्नुस्, बढी सेलिब्रेट नगर्नुस्, आफूलाई कमजोर नबनाउनुस् किनभने यी सबै चाँडै अन्त्य हुनेछन् । म अहिले हरेक पटक आफ्नो बेस्ट दिन प्रयास गरिरहेको छु किनभने मलाई थाहा छ यो चाँडै अन्त्य हुने छ ।’

त्यतिबेला भारतले पहिलोपटक फाइनल पुगेको नेपाललाई ३-० गोलले हराएर ८औँ पटक साफ च्याम्पियन बनेको थियो । सुनीलले पनि एक गोल गरेका थिए । उनले प्रतियोगिताको त्यस संस्करणमा सर्वाधिक ५ गोल गरेका थिए । घरेलु मैदानमा जारी साफ च्याम्पियनसिपमा भारत फेरि अर्कोपटक फाइनल पुगेको छ । मंगलबार साँझ हुने फाइनलमा कुवेतलाई हराउन सके भारत नवौँपटक साफ च्याम्पियन बन्नेछ ।

साफ च्याम्पियनसिप १४ संस्करणसम्म आइपुग्दा भारत अहिलेसम्म एकपटक मात्र फाइनल पुग्न सकेको छैन । यसपटक भारतका लागि यो प्रतियोगिता विशेष छ। गैर साफ सदस्यहरू पहिलोपटक यो प्रतियोगिता खेलिरहेका छन् । बलिया दुई टोली लेबनान र कुवेतलाई यसपटक साफ च्याम्पियनसिप खेल्न निमन्त्रणा गरिएको थियो ।

फिफा वरीयतामा आफूभन्दा २ स्थानमाथि रहेको लेबनानलाई सेमिफाइनलमा भारतले टाइब्रेकरमा पाखा लगाएको थियो । विश्व वरीयतामा हाल भारत एक सय १ र कुवेत १ सय ४३औँ स्थानमा रहेका छन् । आगामी महिना ३९ वर्ष पूरा हुने सुनीलको प्रदर्शन अझै बेजोड छ । उनले जारी साफ च्याम्पियनसिपमा सर्वाधिक ५ गोल गरेका छन् । समूहगत चरणमा उनले पाकिस्तानविरुद्ध ह्याट्रिक गरेका थिए भने नेपाल र कुवेतविरुद्ध १/१ गोल गरेका थिए । सुनीलको जोश युवा खेलाडीको भन्दा कम छैन, नतिजामा समेत त्यो देखिइरहेको छ । झन्डै दुई साताअघि भएको हिरो कन्टिनेन्टल कपको फाइनलमा लेबनानलाई २-० गोलले हराएर भारत विजेता बनेको थियो । त्यस खेलमा सुनीलले पनि गोल गरेका थिए ।

सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा सुनील चौथो स्थानमा छन् । उनले एक सय ४१ खेलमा ९२ गोल गरेका छन्। पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले २ सय खेलमा एक सय २३, इरानका अलि दाइले एक सय ४८ खेलमा एक सय ९ र अर्जेन्टिनाका लियोनल मेस्सीले एक सय ७५ खेलमा एक सय ३ गोल गरेका छन् । रोनाल्डो र मेस्सी अझै खेल्दैछन् । तर, उनीहरू दुवैभन्दा सुनील जेठा हुन् । रोनाल्डोभन्दा ७ महिना पहिला जन्मिएका सुनीलको खेल हेर्दा यस्तो लाग्छ, उनी पनि मेस्सी, रोनाल्डो र दाइ झैँ एक सय अन्तर्राष्ट्रिय गोल पुरा गर्न आँतुर छन् ।

सुनील १८ वर्षदेखि सिनियर अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका छन् । भारतका लागि प्रतिनिधित्व गर्न थालेको १९ वर्ष भइसकेको छ । यो समय खण्डले उनलाई विश्व फुटबलका महान् खेलाडीहरु रोनाल्डो, मेस्सीको लाइनमा पुर्‍याएको छ । भलै, सुनीलले उनीहरूका जस्ता व्यक्तिगत र टीम सफलताहरू प्राप्त गर्न सकेका छैनन् । सुनीलले सन् २००५ मा पाकिस्तानविरुद्ध खेल्दै सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए । चीरप्रतिद्वन्द्वीविरुद्ध गोल पनि गरेर उनको करियरले सुखद् सुरुवात पाएको थियो ।

सन् २००७ मा आयोजित नेहरु कप, सुनीलले खेलेको पहिलो सिनियर अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । त्यतिबेला सुनीलको उत्कृष्ट प्रदर्शनमा भारत सन् १९९७ पछि पहिलोपटक आयोजित प्रतिपयोगिता जित्न सफल भएको थियो। एक वर्षपछि सुनीलले पहिलोपटक साफ च्याम्पियनसिप खेलेका थिए ।

भारत फाइनलसम्म पुगेपनि उपाधि भिडन्तमा मालदिभ्ससँग पराजित भएको थियो। त्यसै वर्ष आयोजना भएको एएफसी च्यालेन्जकपमा सुनीलले बेजोड प्रदर्शन गरेका थिए । फाइनलमा उनले ताजिकिस्तानविरुद्ध ह्याट्रिक गरेका थिए भने उपाधि जित्दै भारत २४ वर्षपछि एसिया कपमा छनोट भएको थियो। भारतीय फुटबलमा भाइचिङ भुटियाको दबदबा रहेको समयमा सुनील नयाँ ‘पोस्टर ब्वाई’ बन्दै थिए ।

‘उनी उल्लेखनीय, साहसिक र इमानदार छन् । उनी कहिल्यै हार खाँदैनन्’, सुनीलबारे तत्कालीन भारतीय प्रशिक्षक बब हटनको प्रतिक्रिया थियो। सन् २०११ मा उनलाई भारतीय टोलीको कप्तान नियुक्त गरिएको थियो । त्यसै वर्ष भारतले अफगानिस्तानलाई फाइनलमा हराएर साफ च्याम्पियनसिप जितेको थियो। ४-० गोलले विजयी हुँदा एक गोल गरेका सुनील साफ च्याम्पियनसिपको एकै संस्करणमा सर्वाधिक गोल (७ गोल) गर्ने खेलाडी बनेका थिए ।

सुनील यो प्रतियोगितामा तीनपटक सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । सन् २०११, २०१५ र २०२१ को संस्करणमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका सुनील २०११ र २०२१ संस्करणमा सर्वाधिक गोलकर्ता पनि बनेका थिए। गत वर्ष फिफाले ‘क्याप्टेन फेन्टास्टिक’ शीर्षकमा सुनीलबारे तीन एपिसोडको डकुमेन्ट्री बनाएको थियो ।

अर्जुना अवार्ड, पद्मश्री, खेल रत्न अवार्डजस्ता भारत सरकारले प्रदान गर्ने उच्च सम्मान पाइसकेका सुनीलले अन्तर्राष्ट्रिय फुटबलमा विभिन्न ४८ देशविरुद्ध खेलेपनि हालसम्म तीमध्ये ३३ टोलीविरुद्ध गोल गरेका छन् । उनले नेपालविरुद्ध सर्वाधिक ९ गोल गरेका छन् । मालदिभ्सविरुद्ध ८ तथा बंगलादेशविरुद्ध र चाइनिज ताइपेईविरुद्ध समान ६ गोल गरेका छन् । इरान, चीन, अस्ट्रलिया, जोर्डन, यूएई, यमनजस्ता टोलीहरूसँग भने गोल गर्न सकेका थिएनन् ।

फेरि एकपटक भारतीय फुटबलको नजर यतिबेला सुनीलमाथि रहेको छ । अघिल्ला प्रतियोगिताहरुमा झैँ, के सुनिल फेरि निर्णायक बन्न सक्छन् ? त्यो त एक ठाउँमा छ । त्योभन्दा बढी सन्याशबारे उनले बोल्ने र गर्ने निर्णयबारे आम चासो बढ्दो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर