राप्ती नगरपालिकाकाे बैठक लाइभ गर्ने विषयको विवादले मेयरले हटाए प्रवक्ता – Nepal Press

राप्ती नगरपालिकाकाे बैठक लाइभ गर्ने विषयको विवादले मेयरले हटाए प्रवक्ता

चितवन । दोस्रो पटकको स्थानीय तह निर्वाचनको परिणाम आएलगत्तैदेखि विवाद सुरु भएको राप्ती नगरपालिकामा निर्वाचित जनप्रतिनिधिबीचको विवाद बढ्दै गएर सार्वजनिक आरोप प्रत्यारोपको स्थितिसम्म पुगेको छ ।

विवादकै कारण आगामी आर्थिक वर्षको लागि १० गतेसम्म गरिसक्नुपर्ने नगरपरिषद् गर्न पालिकाले सकेन । नगरपालिकाले अहिलेसम्म वडामा बजेटको सिलिङ पनि पठाउन सकेको छैन भने लगातार चार पटकसम्म नगरकार्यपालिका बैठक स्थगित भइसकेको छ ।

आज सोही विषयलाई लिएर नगर कार्यपालिकाको बैठक बोलाइएको थियो । औपचारिक रुपमा बैठक सुरु हुनु अगावै कार्यपालिका सदस्यहरुबीच भनाभन सुरु भयो ।

बैठकको दृष्य यसअघि नगरपालिकाले लाइभ गर्ने गरेको थियो । पालिकाकै फेसबुक पेजबाट गरिएको लाइभमा यसअघि एमालेका वडा अध्यक्षहरुले राखेको विषय हटाइएको भन्दै उनीहरुले आपत्ति जनाएका थिए ।

सोही विषयमा विवाद बढ्दै गएपछि भनाभनको अवस्था आयो । ‘भनाभन बढ्दै गएपछि म निस्किएँ, प्रमुख लामाले भने ।

उनले बैठकको मर्यादा मिचेर अराजक गतिविधि देखाएको भन्दै नगरका प्रवक्ता समेत रहेका वडा नम्बर २ का अध्यक्ष श्यामसुन्दर उप्रेतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको भन्दै प्रेस विज्ञप्ति समेत निकालेका छन् ।

यता नेकपा एमालेका ८ जना वडा सदस्यसहित कार्यपालिका सदस्यहरुले भने आफूहरुले यसअघि झैँ आफूअनुकलको दृष्य मात्रै लाइभमा समेट्ने र एमालेका वडाध्यक्षहरुले बोलेका र विषयवस्तु उठाएका कुरा नराखेको विषयमा समीक्षा गर्दा मेयर उत्तेजित भएर बैठकबाट निस्किएको दाबी गरेका छन् ।

नगर कार्यपालिकाको १६ जना सदस्यले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा भनिएको छ, यसअघि प्रकाशित भएका भिडिओ क्लिपहरुको विषयमा जिज्ञासा राख्दा उत्तेजित भएर नगरप्रमुख र उपप्रमुखले गैरजिम्मेवार ढंगले प्रस्तुत भइ एमालेका जनप्रतिनिधिलाई हमला हुने व्यवहार गरेकोप्रति ध्यानाकर्षण भएको छ ।

विज्ञप्तिमा राप्ती नगरकार्यपालिकाको कार्यसम्पादन नियमावली २०७४ को नियम १७ बमोजिम नियुक्त गरिएको प्रवक्तालाई प्रमुखले पदमुक्त गर्न नसक्ने समेत उल्लेख गरिएको छ ।

प्रवक्ता एवं वडा नम्बर २ का वडाध्यक्ष श्यामसुन्दर उप्रेतीले नगरप्रमुखले अघिल्लो वर्षभन्दा कम बजेट ल्याएको र एमालेका जनप्रतिनिधि निर्वाचित भएका वडामा समेत कम बजेटको सिलिङ पठाउने तयारी गरेकोले विरोध गरेको पनि बताए ।

राप्तीको प्रमुखमा नेकपा एमाले छोडेर एकीकृत समाजवादीमा गएका शमशेर लामा निर्वाचित छन् । तर, उनी नै कार्यपालिकामा अल्पमतमा छन् । भने कांग्रेसबाट नगरउपप्रमुख निर्वाचत भएपनि ३ वटा वडामा मात्रै कांग्रेसको अध्यक्ष निर्वाचित छन् ।

प्रमुख र उपप्रमुख दुवै हारेको नेकपा एमालेको वडामा बहुमत छ । एमालेबाट निर्वाचित आठ जना वडाध्यक्ष निर्वाचित छन् । २३ सदस्यीय कार्यपालिकामा पनि नेकपा एमालेका तर्फबाट १६ जना, कांग्रेसका उपप्रमुखसहित ४ जना र एकीकृत समाजवादीका प्रमुखसहित ३ जना सदस्य छन् ।

१६ औँ बैठकदेखि लगातार १८ औँसम्म कार्यपालिका बैठक स्थागित भएपछि आज नगरकार्यपालिकाको १९ औँ बैठक बोलाइएको थियो । बैठकमा बजेट सिलिङ पठाउने, स्थगित नगरसभाको मिति तय गर्ने लगायतका ऐजेण्डा राखिएको थियो ।

तर, बैठकको दृष्य लाइभ गर्ने विषको विवादले बैठक नै बसेन । भने राप्तीको आगामी आर्थिक वर्षको लागि बजेट पारित गर्ने नगरसभा पनि अन्यौल नै बनेको छ ।

यसअघि राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामाले आफूखुशी गाडी भाडामा लिएको भनी नगरप्रमुखले नगद भुक्तानी रोकिदिँदा प्रमुख र उपप्रमुखबीचको विवाद समेत सार्वजनिक भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *