सवा अर्बको पोखरा रंगशाला: छैनन् खेल गतिविधि, ठेकेदारले पाएनन् भुक्तानी – Nepal Press

सवा अर्बको पोखरा रंगशाला: छैनन् खेल गतिविधि, ठेकेदारले पाएनन् भुक्तानी

पोखरा । योग खेलकुदमात्रै होइन । असार ६ गते योग दिवस मनाउन भने चयन गरिएको स्थल थियो पोखरा रंगशाला । योग दिवसमा हजारौं पोखरेली रंगशाला पुगे । त्यसयता पोखरा रंगशाला बन्द छ । रंगशालामा कुनै पनि खेल गतिविधि भएको छैन ।

पछिल्लोपटक जेठ पहिलो साता पोखरा रंगशालामा फुटबल प्रतियोगिता भएको थियो । त्यसपछि कुनै प्रतियोगिता भएका छैनन् । १ अर्ब २८ करोडमा निर्माण भएको रंगशालामा एक वर्षमा ८ वटा प्रतियोगितामात्रै भएका छन् । प्रतियोगिताबाहेक अन्य समय रंगशालामा कुनै चहलपहल हुँदैन ।

ठेकेदार कम्पनीले गत असोजमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअघि रंशगाला राष्ट्रिय खेलकुद परिषद्लाई हस्तान्तरण गरेको थियो । तर, खासै खेलकुद गतिविधि नहुँदा अर्बौं लगानी रहेको रंगशालाको भौतिक संरचना उल्टै टुटफुट हुन थालेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष उज्ज्वल रञ्जित भने आफूहरुलाई रंगशालाको जिम्मेवारी नदिँदा व्यवस्थापनमा समस्या भएको बताउँछन् ।

‘राखेपलाई हस्तान्तरण गरेको भन्ने सुन्नमा आएको छ, हामीलाई हस्तान्तरण भएको छैन । हामीलाई रंगशालाको साँचो पनि दिइएको छैन’, उनले भने, ‘बाहिरका टुटेफुटेका हामीले मर्मत गर्छाैं, भित्रको त हामीलाई पनि थाहा हुँदैन, सबै राखेपले गरिरहेको छ ।’

तुलनात्मक रुपमा फुटबल एवं खेल गतिविधि हुन नसकेको एन्फा कास्कीका पूर्वअध्यक्ष खेम गुरुङ बताउँछन् । ‘ठूल्ठूला प्रतियोगिता आयोजना गर्न रंगशाला बनेको हो । तर, प्रतियोगिता साह्रै कम छ । कास्की एन्फा सुस्तायो’, उनी भन्छन् ।

स्थानीयसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पहल गर्नुपर्नेमा पूर्वअध्यक्ष गुरुङले जोड दिए । ‘खेल बनाउने माहोल बनाइदिए अरु क्लबहरु पनि कार्यक्रम गर्न अगाडि सर्छन् । अहिले जेनतेन सहारा क्लब पोखराको आयोजनामा आहा-रारा गोल्डकप हुन्छ । तर, एन्फाबाट कुनै कार्यक्रम नभएकाले र रंगशाला भए-नभएको कुनै फरक छैन’, उनले भने ।

गएको पुस १३ गते उक्त रंगशालामा स्पेनिस फुटबल क्लब काथेरेन्यो सिपी र गण्डकी प्रदेशको टीमबीचको खेल भएको थियो । उक्त क्लबमा विश्वकप खेलिसकेका तथा ला-लिगामा खेलिसकेका खेलाडीसमेत सहभागी थिए । चालू आवमा नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष फुटबल प्रतियोगितासँगै आहा-रारा पोखरा गोल्डकप प्रतियोगिता सञ्चालन भयो ।

चालू आवमा गण्डकी विश्वविद्यालयको आयोजनामा प्रदेशस्तरीय स्कुल प्रतियोगिता, संगम क्लबको आयोजनामा क्लबस्तरीय प्रतियोगिता, प्याब्सन र एन प्याब्सनको खेल र पोखरा महानगरको वडास्तरीय प्रतियोगिता सञ्चालन भए । त्यसबाहेक फाट्टफुट्ट केही खेल भए पनि रंगशाला वर्षभरि भरपुर व्यस्त भने हुन सकेको छैन ।

अघिल्लो वर्ष ए डिभिजन लिगका केही खेलहरु सोही रंगशालामा भएका थिए । तर, यस वर्ष ए डिभिजन लिगका खेलहरु खेलाउन यो रंगशाला ‘अक्षम’ बन्यो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति कार्यालय प्रमुख लक्ष्मण योगी रंगशालामा अपेक्षाकृत प्रतियोगिता नभएको स्वीकार्छन् ।

‘रंगशाला केन्द्रमा राखेपलाई हस्तान्तरण भइसकेको छ । केन्द्रमा भएपछि हामीलाई पनि भयो भनौं न । तत्कालका लागि सरसफाइ खर्च भनेर आयोजकसँग केही रकम लिने गरेका छौं’, उनले भने, ‘पर्याप्त रुपमा प्रतियोगिता हुन सकेको छैन । रंगशालाको जिम्मा एन्फा कास्कीलाई दिनेबारे अहिलेसम्म कुनै सल्लाह भएको छैन ।’

आगामी दिनमा पोखरा रंगशालामा फुटबल प्रतियोगिता सञ्चालन गर्न सहकार्य गरेर अगाडि बढ्ने गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले बताए । ‘फुटबलमा बजेट कम भयो भन्ने गुनासो रहे पनि आगामी दिनमा गण्डकी प्रदेश फुटबल संघसँग सहकार्य गर्दै अघि बढ्नेछौं’, उनले भने ।

रंगशालाको पूर्वी भागमा ५ हजार २६८, पश्चिममा ३ हजार ८१४, उत्तरमा ३ हजार ४४४ र दक्षिणमा ३ हजार ६९० सीट जडान गरिएको छ । अति विशिष्ट कक्षमा २८, विशिष्ट कक्षमा २२८ तथा अशक्तका लागि २८ सीटको व्यवस्था गरिएको छ ।

फुटबल मैदान, खेलाडी चेञ्जिङ रुम, एथ्लेटिक्स ट्रयाक, तथा मिडिया सेन्टर, हल, शौचालय, प्यारापिटको पश्चिमको विशिष्ट कक्षमा छानोलगायत पूर्वाधार निर्माण भएका छन् ।

हस्तान्तरणको ८ महिनामा पनि भएन बाँकी भुक्तानी

२०७५ पुस १३ गते निर्माण सम्झौता भएको उक्त रंगशालाको गत फागुन १६ गते शिलान्यास भएको थियो । भारतको ग्रेट स्पोटर्स इन्फ्रा (जीएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सनको ज्वाइन्ट भेन्चरसँग १ अर्ब २८ करोडमा निर्माण सम्झौता भएको थियो । निर्माण पूरा हुँदासम्म ६ पटकसम्म म्याद थप गरिएको थियो ।

बजेट नपाएको भन्दै केही समय हस्तान्तरण रोकेको निर्माण कम्पनीले हस्तान्तरण गरेको ८ महिनासम्म पनि रकम भुक्तानी नपाएको गुनासो गरेको छ । सम्झौताबमोजिम अझै साढे ४ करोड भुक्तानी हुन बाँकी रहेको निर्माण कम्पनीका प्रोजेक्ट इञ्जिनियर पुरुषोत्तम बरालले बताए ।

‘अहिले बजेट छैन । बजेट आएपछि भुक्तानी गर्छौं भनेर गत असोजमा हस्तान्तरण गरेका हौं’, इञ्जिनियर बरालले भने, ‘अहिलेसम्म साढे ४ करोड पाएका छैनौं, असारभित्र दिन्छौं भन्नुभएको छ । अब के हुन्छ हेरौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *