कक्षा ९ मा पढ्ने छात्रालाई शिक्षकको म्यासेज– पिल्स खायौ त ? – Nepal Press

कक्षा ९ मा पढ्ने छात्रालाई शिक्षकको म्यासेज– पिल्स खायौ त ?

शिक्षकले यौन दुर्व्यवहार गरेको आरोपपछि लिटल फ्लावर स्कुलमा पस्यो प्रहरी

काठमाडौं । ललितपुरको शंखमुलस्थित लिटल फ्लावर पब्लिक स्कुलका शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । कक्षा ९ मा पढ्ने १५ वर्षीया छात्रालाई शिक्षकले पठाएका शंकाष्पद म्यासेजहरु भेटिएपछि परिवारजनले प्रहरी गुहारेका छन् ।

छात्राकी दिदीका अनुसार आमाले शिक्षकसँग छोरीको आपत्तिजनक फोटो भेटेकी थिइन् । त्यसपछि आमाले शिक्षकलाई बोलाएर सम्झाएको उनले बताइन् । तर, शिक्षकले पठाएका विभिन्न म्यासेजहरु मोबाइलमा देखेपछि परिवारजन आत्तिएका थिए । केही म्यासेजमा शिक्षकले छात्रालाई ‘बुढी’ सम्बोधन गरेका छन् भने छात्राले शिक्षकलाई ‘बाबा’ भनेकी छन् ।

शिक्षकले ‘पिल्स खायौ ? पेट दुखेको छ कि छैन ? तातो पानी खाउ’ जस्ता म्यासेजहरु लेखेका छन् । शिक्षकले छात्रालाई चुम्बन गरेको, सँगै वियर पिएको, हुक्का तानेको टिकटक भिडियोहरु पनि भेटिएका छन् । म्यासेजहरु हेर्दा उनीहरुबीच शारीरिक सम्बन्ध भएको झल्किन्छ । त्यसैले परिवारले जबरजस्ति करणीमा जाहेरी दिने तयारी गरेका हुन् । कानूनतः १८ वर्ष मुनिको बालिकालाई सहमतिमा राखेको सम्बन्ध पनि बलात्कार मानिन्छ ।

परिवारले छोरीलाई यो विषयमा केही पनि नसोधिकन सिधै विद्यालयमा सप्रमाण खबर गरेका थिए । त्यसपछि प्रहरीले सम्वन्धित शिक्षकलाई विद्यालयबाट निश्कासन गरेको छ । तर, उनीमाथि कानूनी कारबाहीसमेत हुनुपर्ने परिवारको माग छ ।

आज १०० ग्रुपका केही अभियन्तालाई लिएर परिवारजन स्कुलमा आएका थिए । त्यस क्रममा प्रहरीलाई पनि बोलाइएको थियो । प्रहरीको प्रवेशले विद्यालयमा तनावपूर्ण माहोल बनेको थियो । परिवारजन, प्रहरी र अभियन्ताहरुबीच आजै जाहेरी दिने समझदारी भएको छ । आरोपी शिक्षक बागलुङका हुन् । उनी एक वर्षअघि मात्रै विद्यालयमा गणित शिक्षक नियुक्त भएका थिए ।

प्रिन्सिपल दीलिपकुमार श्रेष्ठले घटना सार्वजनिक भएपछि शिक्षकलाई निष्कासन गरिएको बताए । उनले शिक्षकलाई पछि आवश्यक परेको बेला आउने शर्तमा मोबाइल राखेर जागिरबाट बिदा गरिएको बताएका छन् ।


प्रतिक्रिया

One thought on “कक्षा ९ मा पढ्ने छात्रालाई शिक्षकको म्यासेज– पिल्स खायौ त ?

  1. परिवार ले आफ्नो छोरी र स्वयम आफ्नो आफ्ना आफन्त को इज्जत फाल्यो राजी खुसिले दुनिया गरिसके पछि एकोहोरो दोषी देख्नु गलत हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *