‘गुराँस’को वर्ल्ड प्रिमियरका लागि चेक रिपब्लिक उडिन् अभिनेत्री मेनुका प्रधान – Nepal Press

‘गुराँस’को वर्ल्ड प्रिमियरका लागि चेक रिपब्लिक उडिन् अभिनेत्री मेनुका प्रधान

काठमाडौं। अभिनेत्री मेनुका प्रधान ‘दि कार्लोभी भारी इन्टरनेशनल फिल्म फेस्टिभल’मा सहभागी हुन मङ्गलवार चेक रिपब्लिक प्रस्थान गरेकी छिन् ।

उनी अभिनीत ‘गुराँस’ जुलाई ५ अर्थात् यही बुधवार ‘दि कार्लोभी भारी फिल्म फेस्टिभल’मा वर्ल्ड प्रिमियर हुँदै छ।

‘दि कार्लोभी भारी इन्टरनेशनल फिल्म फेस्टिभल’ युरोपको प्रतिष्ठित फेस्टिभल मानिन्छ। अन्तर्राष्ट्रिय फेस्टिभलमा मेनुकाको यो पहिलो अनुभव हो।

‘मेरो इन्टरनेशनल फेस्टिभलमा यो पहिलो अनुभव हो। त्यसैले स्वभाविक रूपमा खुसी लाग्ने नै भयो। अर्को कुरा चाहिँ म उत्सुक छु किनकि पढेको, सुनेको कुरा प्रत्यक्ष रूपमा अनुभव गर्दैछु,’ उनले भनिन्, ‘तर मलाई त्यहाँ गएर अरूभन्दा धेरै फिल्म हेर्न मन छ। गुराँस पनि हेरेकी छैन, त्यो पनि हेर्न मन छ ।’

चलचित्रमा मेनुकाले गुराँसको आमाको भूमिका निर्वाह गरेकी छिन् । आमाको भूमिका भए पनि कथा रोचक भएकाले गर्न राजी भएको उनले बताइन्।

‘म कहिले पनि फिल्म गर्दा आमा हो कि छोरी हो भनेर हेर्दिन। आफ्नो भूमिका हेर्छु। यसमा पनि मेरो भूमिका रोचक छ’ उनले सुनाइन् ।

मेनुका जुलाई १५ मा नेपाल फर्किनेछिन्। नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रलाई सौरभ राईले निर्देशन गरेका हुन्। फेस्टिभलमा निर्देशक राई पनि सहभागी हुनेछन्।

कलकत्ताको ‘सत्य जित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट’बाट डिप्लोमा गरेका निर्देशक राईले यसअघि चलचित्र ‘निम्तो’को निर्देशन गरेका थिए।

नेदरल्यान्डको रोट्रेड्याम इन्टरनेसनल फिल्म फेस्टिभलमा छनौट हुन सफल फिल्मले मुम्बई फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्न सफल भएको थियो ।

‘गुराँस’ले पनि निर्माण अगावै नेदरल्यान्डको ‘हुबेर्ट बल्स फन्ड’ जितेको थियो भने यो चलचित्र हङकङ फिल्म मार्टको ‘वर्क इन प्रोग्रेस ल्याब’मा पनि छनौट हुन सफल भएको थियो ।

हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट वाचन गरिएको चलचित्रले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ।

‘गुराँस’लाई लोआइक्यू प्रोडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले मिलेर निर्माण गरेका हुन् ।

चलचित्रमा तुलसी खवासले ‘गुराँस’को शीर्ष भूमिका निर्वाह गरेकी छन्। चलचित्रमा खगेन्द्र लामिछानेको पनि अभिनय रहेको छ।

चलचित्रको प्राविधिक काम मुम्बईमा भइरहेको छ । ‘गुराँस’को छायांकन सुबल केआरले गरेका हुन् भने सम्पादन सौरभ राई र अंकिता पुरकायस्थले गरेका हुन् ।

अंकिता फिल्मको साउन्ड डिजाइनर पनि हुन् । उनले यसअघि नेटफ्लिक्स सिरिज ‘बेताल’, ‘टाइपराइटर’, ‘कोटा फ्याक्ट्री’ र अमेजन प्राइमबाट प्रसारण भएको ‘पञ्चायत’ मा पनि काम गरेकी छिन् ।

चलचित्रलाई निर्माता रामकृष्ण पोखरेलले निर्माण गरेका हुन। उनी नेपालबाट अस्करका लागि गत वर्ष सिफारिस चलचित्र ‘ऐना झ्यालको पुतली’ तथा भर्खरै प्रदर्शन भएको ‘हल्कारा’का पनि निर्माता हुन् ।

उनको निर्माण रहेको लघु चलचित्र ‘साइलेन्ट इको’ ‘लघु चलचित्र’ विधामा अस्करमा सिफारिसमा परेको थियो भने यो चलचित्रले भारतमा ‘क्रिटिक्स च्वाइस अवार्ड’ समेत जित्न सफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर