गाउँपालिकाहरुले अनावश्यक बाटो खन्दा बाढी पहिरो बढ्यो, डोजर आंतक बन्द गर्नुपर्छः अर्थमन्त्री महत – Nepal Press

गाउँपालिकाहरुले अनावश्यक बाटो खन्दा बाढी पहिरो बढ्यो, डोजर आंतक बन्द गर्नुपर्छः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले गाउँपालिका पालिकाहरुमा हुने डोजर आंतक बन्द गर्नुपर्ने बताएका छन् । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय गाउँपालिकाहरुमा नै डोजर राखेर अनावश्यक सडक बनाउने काम भएकाले बाढी पहिरो बढेको बताए । उनले पालिकाहरुमा डोजर राखेर काम दिने नाममा जथाभावी बाटो बनाउँदा अहिले समस्या देखिएको बताए ।

‘पछिल्लो समय प्रत्येक स्थानीय तहमा डोजर आतंक छ । हरेक पालिका पालिकामा जोडर राखेर नचाहने ठाउँमा पनि बाटो खनि रहेका छौं । डोजरलाई काम दिनु पर्‍यो भन्ने हिसाबले नचाहिने  ठाउँमा पनि पहाडमा बाटो बनायौं । कति जनसंख्या भएको ठाउँमा १२ महिना चल्ने बाटो बनाउने हिसाबले अब हामीले अहिले देखि सर्वेक्षण गरेर जनप्रतिनिधिहरु इन्जिजिनियर कर्मचारीहरु भएर कुनलाई प्राथमिकता दिने निर्कोल गर्नुपर्ने भएको छ । अहिले ठूलो ठूलो पहिरो गएको कारण पनि त्यही हो । सय मिटरको फरकमा बाटो छ । पानी पस्यो पहिरो गइहाल्छ । त्यसले बगाउँदै जाँदा त्यो पहिरोले हाईड्रो पावर पनि गएको छ । ठूलो धनजनको क्षती भएको छ । यी कुराहरुलाई हामीले पुनरविचार गर्न आवश्यकता छ । डोजरले जति गाउँगाउँमा पुर्‍याए जति जे हुनु भयो अब सडक सफा गर्न बाहेक डोजर प्रयोग गर्नु हुँदैन । त्यहाँ खन्न मेनपावरलाई लगाउनु राम्रो हुन्छ ।’ उनले भने ।

त्यस्तै अर्थमन्त्री महतले सरकारले वैदेशिक ऋण लिएर उत्पादनशिल क्षेत्रमा खर्च गर्न नसके मुलुक अफ्ठ्यारोमा पर्नसक्ने बताए । उनले विगतमा अन्तर्राष्ट्रिय दातृनिकायहरुबाट ऋण लिने तर उत्पादनशिल क्षेत्रमा खर्च गर्न नसक्दा ऋणको दायित्व बढ्दै गएको भन्दै सरकारले वैदेशिक ऋण उत्पादनशिल क्षेत्रमा खर्च गर्नु आवश्यक रहेको बताए ।

त्यसैगरी अर्थमन्त्री महतले महँगा गाडीहरु मुलुक भित्रका हुने खाने वर्गले चढ्ने भएकाले कर बढाएर सरकारले आय स्रोतको रुपमा लिएको जिकिर गरे । उनले सांसदहरुले बारम्बार सवारीसाधनहरुमा ३०० प्रतिशत कर लगाउन आवश्यक नभएको भनेको भन्दै सवारी साधनहरुमा कर घटायो भने राजश्व पनि घट्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर