रुसी राजधानी मस्कोमा युक्रेनी ड्रोन हमला, सबै ड्रोन झारेको रुसको दाबी – Nepal Press

रुसी राजधानी मस्कोमा युक्रेनी ड्रोन हमला, सबै ड्रोन झारेको रुसको दाबी

काठमाडौं । मंगलवार रुसी राजधानी मस्कोमा ड्रोन हमला भएको छ ।

रुसी सरकारी विश्व च्यानल आरटीले मस्कोका मेयर सेर्गी सोव्यानीनलाई उद्धृत गर्दै उल्लेख गरे अनुसार मंगलवार बिहानै हमला गरिएका सबै ड्रोनलाई रुसी हवाई दस्ताले झारेको थियो ।

मेयरले ड्रोनबाट कुनै मानवीय क्षति नभएको बताएका छन् । ड्रोन हमलासँगै भएको अस्थायी हवाई उडान प्रतिबन्ध पनि खोलिएको आरटीले उल्लेख गरेको छ ।

ड्रोन हमलासँगै भिनुकोभो विमानस्थलमा बिहानको लागी अवतरण गर्न आएका दश उडान राजधानी मस्कोका अरू दुई विमानस्थलमा पठाइएको आरटीले उल्लेख गरेको छ । मस्कोमा झारिएका सबै ड्रोनहरू युक्रेनको भएको रुसको दाबी छ ।

गत महिना पनि युक्रेनले हमला गरेका आठ ड्रोनहरू रुसले झारेको आरटीले उल्लेख गरेको छ । मस्कोमै ड्रोन हमला गरेपनि युक्रेनले सार्वजनिक रूपमा भने हमलाको जिम्मेवारी लिएको छैन ।

युक्रेनलाई हतियार सहयोग गर्ने पश्चिमा देशहरूले त्यी हतियार युक्रेनी भूमिमा भएको रुसी हमलामा मात्रै प्रयोग गर्न दिएको भन्ने गरेकोले युक्रेनले मस्को हमलाको बारेमा स्वीकार गर्ने गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर