थामी जातिको कर्मकाण्ड ‘सिलोके पालाखे’ विमोचन – Nepal Press

थामी जातिको कर्मकाण्ड ‘सिलोके पालाखे’ विमोचन

सिंगटी । नेपालको अतिसिमान्तकृत थामी जातिले आफ्नो कर्मकाण्ड ‘सिलोके पालाखे’ तयार पारेका छन् । जिल्लाको विगु गाउँपालिकाको आर्थिक सहयोगमा थामी समुदायको साझा संस्था नेपाल थामी समाज जिल्ला कार्यसमिति दोलखाले कर्मकाण्ड ‘सिलोके पालाखे’ तयार पारेको हो ।

उक्त कर्मकाण्डको दोलखा जिल्लाका संघीय सांसद गंगा कार्की ‘विश्व’, वाग्मती प्रदेशसभा सांसदहरु कुन्दन काफ्ले, ठुला थामीले विगु गाउँपालिका–४, सिंगटीमा सोमवार आयोजित एक समारोहकाबीच संयुक्त विमोचन गरे ।

कार्यक्रममा बोल्दै सांसदहरुले थामी जातिको संस्कार संस्कृति संरक्षणका लागि कर्मकाण्डले सहयोग पुग्ने भन्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । झण्डै सात सय पेजको कर्मकाण्डमा थामी जातिको जन्मदेखि मृत्युसम्मको विषय संग्रहित छन् ।

थामी भाषमा लेखिएको कर्मकाण्डमा कुलपुजा, भुमेपुजा, जन्म, बिवाह, मृत्यु लगायतका अध्याय राखिएका छन् । हरेक काज्र्यहरुमा झाँक्रीहरुले मानवजाति र थामी समुदायको उद्भव, विकास र विस्तारका सन्दर्भमा फलाक्ने मन्त्र, मौखिक ईतिहाँसलाई पुस्तकमा लिपिबद्ध गरिएको छ ।

तीन दर्जन बढी झाँक्रीहरुसँगको व्यक्तिगत र सामुहिक छलफलका आधारमा कर्मकाण्ड तयार पारिएको र थामी जातिको संस्कृति संरक्षणका लागि यो पुस्तक कोसेढुंगा हुने कर्मकाण्डका संकलक/सम्पादक लक्ष्मण थामीले जानकारी दिए । थामी समुदायको बाहुल्य क्षेत्र विगु गाउँपालिका वडा नम्बर ६, ७ र ८, कालिञ्चोक गाउँपालिका वडा नम्बर १, २, ५, ६ र ९, भीमेश्वर नगरपालिका वडा नम्बर १, २ र ९, मेलुङ गाउँपालिका वडा नम्बर ७ का झाँक्रीहरुसँग बिभिन्न चरणमा छलफल/अन्तरक्रिया भएको थियो ।

थामी समाज दोलखाका अध्यक्ष होम थामीले समुदायको समग्र विषय समेटेर पहिलोपटक बिस्तृत कर्मकाण्ड प्रकाशनमा आएको र जिल्लामा मात्र नभएर देश÷बिदेशमा समेत यही कर्मकाण्ड प्रयोगमा ल्याईने बताए ।

विगु गाउँपालिका अध्यक्ष संजिव ओली र उपाध्यक्ष देविका थामीले थामी जातिको कर्मकाण्डसम्बन्धि मौखिक संस्कार हराउँदै गएकाले संरक्षणका लागि गाउँपालिकाको नीति, योजना, कार्यक्रम र बजेटमा सम्बोधन गरिएको बताए । कार्यक्रममा सिलोके पालाखे निर्माणमा योगदान पु¥याउने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *